काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

२६ पुष २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न ठाउँमा तीनवटा शव फेला परेका छन्। शुक्लागण्डकी ५‚ कसेरीघाटमा निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्रनजिक आज (शनिबार) बिहान दुई पुरुष र एक महिलाको शव फेला परेको हो।

मृतकमध्ये एक जनाको पहिचान खुलेको छ। बाँकी दुईको अझै परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। पहिचान खुल्नेमा शुक्लागण्डकी ११‚ पाल्पालीछापका ४० वर्षीय नारायण विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। उनका अनुसार विक सोही प्रशोधन केन्द्र सञ्चालनको जिम्मा पाएको ग्रिन रोड प्रालिका कर्मचारी हुन्।

शनिबार बिहान प्रशोधन केन्द्रका एक कर्मचारीले कम्पाउन्डबाहिर दुई पुरुषको शव देखेपछि इलाका प्रहरी कार्यालय बेलचौतारालाई खबर गरेका थिए। प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्दा प्रशोधन केन्द्रबाहिरै टहरा बनाएर बस्नेमध्ये एकजना पुरुषको शव फेला परेको थियो।

“सोही टहरामा पुरुषसँगै बस्दै आएकी एक महिला हराइरहेकी थिइन्। खोजी गर्ने क्रममा मध्याह्न १२ बजेतिर दुई पुरुषको शव भेटिएको स्थानभन्दा करिब ७०० मिटर टाढा जनकल्याण माविको पछाडि कसेरीघाटको जङ्गलमा महिलाको पनि शव फेला परेको हो‚” प्रहरी नायब उपरीक्षक विकले भने।

शुक्लागण्डकी ५ का वडाध्यक्ष दीर्घबहादुर थापाका अनुसार शवको प्रकृति अत्यन्तै बीभत्स भएको बताए। उनका अनुसार मृतक नारायण विक र अर्का एक पुरुषको पेटमा धारिलो हतियार प्रहार गरिएको छ भने महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ।

घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा एक टोली र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको प्राविधिक टोली घटनास्थलमा खटिएको छ। शवपरीक्षणका लागि दमौलीस्थित प्रादेशिक अस्पताल पठाइएको छ। घटनाले स्थानीय त्रसित बनेका छन् भने प्रहरीले अपराधी उम्कन नपाउने गरी नाकाहरूमा निगरानी बढाएको छ।

प्रारम्भिक अनुसन्धानबाट यो नियोजित हत्या भएको हुनसक्ने प्रहरीको भनाइ छ। “घटनास्थलमा तालिम प्राप्त कुकुर र फरेन्सिक टोली परिचालन गरेर सूक्ष्म अनुसन्धान गरिरहेका छौँ। मृतक दुईजनाको पहिचान खुल्न बाँकी छ‚ उनीहरू कबाडी सङ्कलनको काम गर्ने बुझिएको छ। हामीले शङ्कास्पद व्यक्तिको खोजी र प्राविधिक विश्लेषणलाई तीव्रता दिएका छौँ। छिटै सत्यतथ्य बाहिर ल्याउनेछौँ‚” प्रहरी नायब उपरीक्षक विकले भने।