सात सवाल

२६ पुष २०८२
निर्देशक प्रदीप भट्टराई
अ+
अ-

निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका शत्रु गते, जात्रा, जात्रैजात्रा, महापुरुषमहाजात्रा सबै फिल्म व्यावसायिक रूपमा सफल छन्। हिट निर्देशकको परिचय बनाएका भट्टराईले फिल्म निर्देशनअघि लामो समय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग काम गरेका थिए। कमेडी च्याम्पियनमा निर्णायकको भूमिकासमेत निर्वाह गरेका भट्टराई अहिले जात्रा शृंखलाको अर्को भागको तयारीमा छन्। निर्देशक भट्टराईसँग गरिएको पैसा संवाद :

तपाईंले कमाएको पहिलो पारिश्रमिक कति थियो? कसरी खर्च गर्नुभयो?

म कक्षा ७ मा पढ्दा कक्षा ६ सम्मका बच्चाहरू पढाउँथेँ। त्यही कामबाट पहिलोपटक १८० रुपैयाँ कमाएँ। त्यो पैसाले पुपा भन्ने चप्पल किनेको थिएँ।

जीवनमा पैसा नभएर भोगेको सबैभन्दा दु:खद क्षण?

एउटा साथी र म कोकाकोला खान पसल गयौँ। मसँग पैसा थिएन। अप्ठ्यारो लागेर ‘तँ खा, म खान्नँ’ भनेँ। पछि, साथीले किनेकै कोकाकोला आधा आधा बाँडेर खायौँ।

आफ्ना लागि सबैभन्दा धेरै पैसा केमा खर्च गर्नुहुन्छ?

कपडा सामान्य नै लगाउँछु। एकपटक विदेशी जुत्ता उपहार पाएपछि राम्रो जुत्ताले खुट्टाको थकान कम भएको महसुस गरेँ। त्यसपछि राम्रै ब्रान्डको जुत्ता किनेर लगाउन थालेँ।

पैसा कमाउन गाह्रो कि बचत गर्न?
सबैभन्दा पहिला त कमाउनै गाह्रो। कमाएको पैसा बचाउन झनै गाह्रो।

पैसाले सम्बन्ध बनाउँछ कि बिगार्छ?

पैसा लेनदेन गर्ने मान्छे राम्रो पर्‍यो भने त सम्बन्ध बलियो बनाउँछ। पैसा लिने मान्छेले फिर्ता दिएन भने सम्बन्ध बिग्रिन्छ।

पैसाले किन्न नसकिने कुरा हो?

पैसाले किन्न सकिने भौतिक चिज मात्रै हुन्। समय, प्रज्ञा, आयु, आत्मिक खुसी, आमाबुबाजस्तै धेरै कुरा पैसाले किन्न सकिँदैन।

तपाईंको फिल्म जात्राका मुख्य पात्रहरूजस्तै एकैपटक ठूलो रकम पाउनुभयो भने के गर्नुहुन्छ?

त्यसको कथा नै मैले लेखेकाले एकैपटक ठूलो रकम पचाउने आइडिया मसँग कति छन् कति हाहा…। तर, गैरकानुनी पैसा पद र पहुँचमा भएकाले मात्रै पचाउन सक्छन्। आम मान्छेलाई पचाउन गाह्रो हुन्छ।