काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ को आज एक विशेष समारोहका बीच भव्य शुभारम्भ गरिएको छ।
सडक दुर्घटना कम गर्ने र आम नागरिकमा ट्राफिक सचेतना फैलाउने उद्देश्यले यो अभियान सुरु गरिएको हो।
शनिबार बिहान काठमाडौँको ऐतिहासिक क्षेत्र वसन्तपुर कुमारीघर वसन्तपुरबाट सुरु भएको सचेतनामूलक र्याली नगरका विभिन्न भाग परिक्रमा गर्दै रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर समापन भएको थियो।
जनचेतनामूलक नारा र प्लेकार्ड कार्यक्रममा प्रहरी अधिकारीहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू र सरोकारवाला निकायहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले हात-हातमा ट्राफिक सचेतनासम्बन्धी प्लेकार्ड र ब्यानरहरू बोकेका थिए।
र्यालीमा “ट्राफिक नियम मिचेकोमा गर्व होइन, लाज मान्ने गरौँ”, “मपसे गरी सवारी साधन नचलाऔँ”, “लेनको पालना गरौँ” जस्ता सन्देशमूलक नाराहरू प्रस्तुत गरिएका थिए।
सडक सुरक्षा साझा दायित्व समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सडक सुरक्षा केवल प्रहरीको मात्र जिम्मेवारी नभई हरेक नागरिकको नागरिक दायित्व भएको बताए। उनले सवारी नियमको पूर्ण पालनाले मात्रै सडकमा हुने मानवीय र भौतिक क्षति कम गर्न सकिनेमा जोड दिए।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले सप्ताहभर उपत्यकाका विभिन्न चोक र सार्वजनिक स्थलहरूमा सचेतनामूलक कार्यक्रमहरू, चालक-सहचालक लक्षित प्रशिक्षण र अन्तर्क्रिया सञ्चालन गरिने जानकारी दिए। यो विशेष अभियानले उपत्यकाको यातायात व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ।