व्यक्तिवृत्त
८१ वर्षको उमेरमा उनले न सुगर, न प्रेसर; कुनै रोगको औषधि खानुपरेको छैन, उनको स्वस्थ जीवनको रहस्य नियमित एक घण्टा व्यायाम
२०४१ सालमा काठमाडौँमा सम्पन्न पहिलो दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेपछि म्याराथन धावक वैकुण्ठ मानन्धर यति चर्चित भए कि नेपालमा उनलाई नचिन्ने सायदै कोही थिए। उनको व्यक्तित्वबाट सबै लोभिन्थे। तर, उनी लोभिएका थिए, तत्कालीन अर्थमन्त्री प्रकाशचन्द्र लोहनीबाट।
लोहनी अर्थमन्त्री भएकै कारण वैकुण्ठ लोभिएका होइनन्। उनी लोभिएको कारण थियो, लोहनीको खेलप्रतिको समर्पण देखेर।
रमाइलो कुरा– कराते सिक्न उनी ट्र्याक-सुट लगाएर बिहान ५ बजे नै रंगशालातर्फ हानिन्थे। ८ बजेसम्म पसिना चुहाएपछि रंगशालाबाट सोझै सिंहदरबारस्थित आफ्नो मन्त्रालय पुग्थे। उनको गाडीमै राष्ट्रिय पोसाक दौरा-सुरुवाललगायत कोट पनि झुन्डिएको हुन्थ्यो।
वैकुण्ठ खेलाडी थिए। त्यसैले उनी तालिमका लागि नियमित दशरथ रंगशाला जानु अनौठो कुरा भएन। लोहनी भने न कहलिएका खेलाडी थिए, न खेलप्रति उनको कुनै साइनो थियो। तर पनि, नियमित रंगशाला धाउँथे।
२०३६ सालको जनमतसंग्रहपछि राजा वीरेन्द्र बन्द समाजबाट विकास सम्भव छैन भन्ने निष्कर्षमा पुगे। त्यसैले उनले आर्थिक उदारीकरणको नीति लागु गरे। आफ्नो नीतिलाई प्रभावकारी ढंगले लागु गर्ने सवालमा राजा वीरेन्द्रलाई क्षमतावान् युवा नेतृत्वको खाँचो पर्यो। उनले अमेरिकामा अर्थशास्त्रको अध्ययन गरेका तिनै लोहनीलाई अर्थ मन्त्रालयको कार्यभार सुम्पिए।
लोहनी अर्थमन्त्री नियुक्त हुँदा नेपालमा राजनीतिक परिवर्तनका लागि संघर्ष सुरु भइसकेको थियो। प्रतिबन्धित नेपाली कांग्रेस प्रजातान्त्रिक आन्दोलनमा होमिएको थियो भने विकास निर्माणले गति नलिँदा युवाहरूमा ठूलो असन्तुष्टि देखिन्थ्यो। राष्ट्रिय पञ्चायतमा प्रजातान्त्रिक खेमा र अनुदारवादीबीच लफडा नभएको दिनै नहुने। यस्तो अवस्थामा पनि अर्थमन्त्री लोहनी एकाबिहानै रंगशाला पुग्थे र रंगशालाको चार चक्कर लगाएपछि सामान्य खेलाडीसरह लाइनमा बसेर क्युकोसिन करातेको प्रशिक्षण लिन्थे।

नेपाल क्युकोसिन करातेका संस्थापक गुरु जगत गौचन र उनका शिष्य विष्णु ढकालसँग करिब डेढ वर्ष कराते सिक्ने क्रममा उनले आत्मरक्षाको सबै दाउपेच जाने।
रमाइलो कुरा– कराते सिक्न उनी ट्र्याक-सुट लगाएर बिहान ५ बजे नै रंगशालातर्फ हानिन्थे। ८ बजेसम्म पसिना चुहाएपछि रंगशालाबाट सोझै सिंहदरबारस्थित आफ्नो मन्त्रालय पुग्थे। उनको गाडीमै राष्ट्रिय पोसाक दौरा-सुरुवाललगायत कोट पनि झुन्डिएको हुन्थ्यो। मन्त्रालय पुगेर लुगा फेर्थे।
खेलप्रति उनको आसक्ति देखेका वैकुण्ठ अहिले पनि त्यो घटना सम्झँदा रमाइलो मान्छन्। भन्छन्, “हामी खेलाडीको त नाकै घिरौँलाजस्तो लामो हुने। अर्थमन्त्री नै हामीसँग दौडिए पछि के चाहियो? सरकार नै हामीसँग दौडिएजस्तो लाग्ने।”
लोहनीले राष्ट्रियस्तरको कुनै प्रतियोगिता खेलेनन्। तर, उनी शरीरलाई स्वस्थ राख्न अहिले पनि नियमित केही न केही गरिरहेका हुन्छन्। यसै साता बिहान उनको घर पुग्दा योग गरिरहेका थिए। करिब एक घण्टा योग र स्ट्रेचिङ गरेपछि ८१ वर्षीय पूर्वअर्थमन्त्रीले सुझाव दिए, “अहिलेसम्म सुगर-प्रेसर केहीको औषधि खानुपरेको छैन। नियमित एक घण्टा अभ्यास हाम्रा लागि उपयुक्त हो।”
इन्डियाना विश्वविद्यालयबाट एमबीए र लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयबाट पीएचडी गरेपछि लोहनीलाई राजनीतिको चस्काले तान्यो। २०२८ सालमा उनी स्नातकतर्फबाट राष्ट्रिय पञ्चायतको सदस्य भए।
यस उमेरमा पनि उनको सक्रियता लोभलाग्दो छ। पार्टीको काममा मात्र होइन, लेखपढमा पनि उत्तिकै समय बिताइरहेका छन्। लामो दूरीको हिँडाइमा अहिले पनि उनी आफूलाई ‘तिसमार खाँ’ ठान्नेहरूको पसिना छुटाइदिने सामर्थ्य राख्छन्। भन्छन्, “खेलाडी बन्नकै लागि मैले अभ्यास गरेको होइन। बुवाको गुरुमन्त्रलाई पछ्याइरहेको मात्र हो।”
प्रकाशचन्द्रका बुवा वेदप्रकाश लोहनी नेपालका नामुद इन्जिनियर हुन्। उनले नै नेपालको निर्माण क्षेत्रमा आरसीसी प्रविधि भित्र्याएका थिए। भन्ने गर्थे– स्वस्थ शरीरले मात्र स्वस्थ विचार दिन सक्छ।
बुवाकै प्रेरणाले किशोरावस्थामै लोहनी शारीरिक सुगठनतर्फ आकर्षित भए। २०१७ सालमा त्रिचन्द्र कलेज भर्ना हुनुअघि उनले नेपाल व्यायाम मन्दिरका संस्थापक द्वारिकादास श्रेष्ठबाट शारीरिक सुगठन सिके।

द्वारिकादास बुवाका साथी। म्याट्रिकको परीक्षा दिएपछि बुवाले नै उनलाई न्युरोडमा अमेरिकी लाइब्रेरीको अफिसछेउ रहेको नेपाल व्यायाम मन्दिर पुर्याएका थिए। नेपाल व्यायाम मन्दिर पहिले न्युरोडमा थियो, धेरै पछि ज्याठा सरेको हो। त्यहाँ एक घण्टा नियमित व्यायाम गरेपछि उनी डाइट खान न्युरोडमै खुलेको पारस रेस्टुराँ पुग्थे। त्यतिबेला उनको खुराक हुन्थ्यो– एक गिलास दुध र दुई पिस पाउरोटी।
अहिले पनि त्यो खुराक छुटेको छैन। “हामी प्रतियोगितामा उत्रिने होइनौँ। घरको दालभात पर्याप्त छ। यसमा दूध थपेपछि पुगिहाल्छ,” उनी सुझाव दिन्छन्। त्रिचन्द्र कलेजबाट स्नातक नगर्दासम्म उनी व्यायाम मन्दिरका नियमित अभ्यासकर्ता थिए।
स्नातकोत्तरका लागि अमेरिकास्थित इन्डियाना विश्वविद्यालयमा भर्ना भएपछि उनको यो कर्म छुट्यो। उनले दौडिएरै आफूलाई फिट राखे।
“बुवा त मेरो जीवनको अभिन्न अंग भइहाल्नुभयो। म द्वारिकादासलाई पनि धन्यवाद दिन चाहन्छु, उहाँले शरीरको हेरचाह गर्ने मन्त्र सिकाइदिनुभयो,” उनी भन्छन्।
इन्डियाना विश्वविद्यालयबाट एमबीए र लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयबाट पीएचडी गरेपछि लोहनीलाई राजनीतिको चस्काले तान्यो। २०२८ सालमा उनी स्नातकतर्फबाट राष्ट्रिय पञ्चायतको सदस्य भए। तर, इटुमबहालमा आयोजना भएको एउटा कार्यक्रममा प्रजातन्त्रको पक्षमा धुवाँधार भाषण गरेपछि १८ महिना जेल परे।
२०४० सालमा त उनी अर्थमन्त्री नै नियुक्त भए। एकदिन अतिथिका रूपमा करातेको डेमोन्स्ट्रेसन हेर्न जाँदा यस खेलबाट आकर्षित भए। त्यसको केही दिनमै सिक्नका लागि रंगशाला पुगिहाले।
नख्खु जेलमा रहँदा उनलाई कुस्ती सिक्ने अवसर जुर्यो। पञ्चायती व्यवस्थाको विरोध गरेबापत तराईका एक नेता नसिबलाल यादवलाई पनि पक्राउ गरेर ल्याइएको थियो। अजंगको ज्यान परेका यादव कुस्तीका महारथी थिए। उनले लोहनीको आग्रह स्वीकार गरेपछि जेलरको अनुमति लिएर जेलभित्रै कुस्ती सिके।
“जेलमा पनि हृष्टपुष्ट रहनुमा त्यही कुस्ती सहायक साबित भयो। अहो! हेर्दा केही नलाग्ने। धेरै गाह्रो रहेछ, कुस्ती सिक्न। नसिबलालसँग धोबी पाठ पनि सिकेँ। त्यतिबेला मेरो कोठामा १२ जनालाई थुनिएको थियो। अरू टीबी लागेर रगत छाद्थे। धन्न मलाई नियमित अभ्यासले जोगायो,” उनी सम्झन्छन्।
जेलबाट छुटे पनि केही समय उनी सरकारी निगरानीमै रहे। यस अवधिमा आफूलाई फिट राख्न उनी कहिले पहाड चढ्थे, कहिले दौडिन्थे। २०३६ सालको जनमतसंग्रहमा प्रजातन्त्रको पक्षमा खुलेर लागे। त्यतिबेला न उनी कांग्रेस पार्टीमा आबद्ध भए, न कम्युनिस्ट पार्टीमै। तर पनि, गाडी लिएर देशव्यापी अभियानमा हिँडे।

यतिबेला पनि उनी आफ्नो शरीरका लागि एक घण्टा समय निकाल्थे। “म सानै हुँदा बुवालाई लागेको रहेछ– समाजमा जे उपलब्ध छ, त्यो सुविधा आफ्नो सन्तानलाई दिने। उहाँले भविष्यमा जे पनि पर्न सक्छ भनेर मलाई घोडा चढ्न पनि सिकाउनुभयो,” उनी आफू स्वस्थप्रति सजग हुनुमा बुवाको ‘मेन्टरसिप’ लाई प्रमुख मान्छन्।
२०४० सालमा त उनी अर्थमन्त्री नै नियुक्त भए। एकदिन अतिथिका रूपमा करातेको डेमोन्स्ट्रेसन हेर्न जाँदा यो खेलबाट आकर्षित भए। त्यसको केही दिनमै सिक्नका लागि रंगशाला पुगिहाले।
“शरीरका सबै अंगको अभ्यास हुने देखेपछि म यो खेलतर्फ लोभिएको हुँ। जगत गौचन त्यतिबेला करातेका जल्दोबल्दो प्रशिक्षक हुनुहुन्थ्यो। त्यसैले उहाँसँगै गएर ट्रेनिङ लिएँ,” उनी भन्छन्।
लोहनीले १५ वर्षको उमेरदेखि नै विभिन्न खेलको अनुभव सँगाले। त्रिचन्द्र कलेजमा अध्ययनरत रहँदा उनी ब्याडमिन्टनका राम्रा खेलाडी थिए। कलेजस्तरीय प्रतियोगिताको उपाधि नजिते पनि फाइनलसम्म पुग्थे।
यस उमेरमा उनलाई न घुँडाको समस्या छ, न शरीरको कुनै अंगमा दोष। छैन त गज्जबको जिन्दगी!
यति धेरै खेलमा पोख्त यी अर्थशास्त्रीले आफ्नो राजनीतिक जीवनमा यसको सदुपयोग गरे कि गरेनन्? यो पाठकहरूका लागि रोचक प्रसंग बन्न सक्छ।
२०४६ सालमा प्रजातन्त्र स्थापनापछि पुराना पञ्चहरू मिलेर एउटा पार्टी गठन गरे। जसको नाम जुराइयो– राष्ट्रिय प्रजातन्त्र पार्टी। यही पार्टीको संगठनको काम गर्न लोहनी आफ्ना अग्रज पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र राजेश्वर देवकोटासँगै जनकपुर पुगेका थिए। त्यतिबेला उनीहरू बसेको कोठालाई राति एक/डेढ सय मानिस आएर घेरे। उनीहरूलाई जोगाउन न पुलिस, न प्रशासन– कसैले तदारुकता देखाएन।
त्यतिबेला लोहनीले करातेको फुर्ती देखाउँदै कोठाको स्विच निभाए। अँध्यारो कोठामा एकले अर्काको अनुहार नदेखेपछि अरू नेताहरू उम्किन सफल भए। तर, आफू बाहिर निस्किने बेला कुटपिटको सिकार भए। उनले त्यतिबेला हातको सहयोगले आफ्नो अनुहार जोगाएका थिए। तर, ढाड र शरीरको अन्य भागमा लात र मुक्काको वर्षा भयो। अरू नेताले त्यसरी कुटाइ खाएको भए सिधै अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना हुन्थे। तर, उनले लात र मुक्का सबै पचाए।
“सेल्फ डिफेन्स काम लागेको त्यहीँ हो। अनुहार जोगाएपछि अरू भागमा जति हाने पनि खासै गाह्रो भएन। किनभने म फिट थिएँ,” उनी सम्झन्छन्।
उनले रक्सी र चुरोटलाई आजीवन हात लगाएनन्। सामान्य खानपान र नियमित अभ्यास उनको स्वस्थ जीवनको मन्त्र हो।
उनी अरूलाई पनि यही सुझाव दिन्छन्, “सामान्य जीवन नै निरोगीपनको ठूलो अस्त्र हो। अरू केही गर्न नसके पनि एक घण्टा आफ्नो शरीरलाई नियमित दिनुहोस्।”
यस उमेरमा उनलाई न घुँडाको समस्या छ, न शरीरको कुनै अंगमा दोष। छैन त गजबको जिन्दगी!