शैली
थकाली महिलाहरूको स्वाद र सीपको पुस्तान्तरणले स्थापित ब्रान्ड
‘खाना खानुभयो?’
धेरै नेपालीले एकअर्कालाई सोध्ने यो प्रश्नले हाम्रो जीवनमा भातको महत्त्व देखाउँछ। आम भनाइ नै छ– मम, पिज्जा, बर्गर, पास्ता जे जे खाए पनि अन्तिममा नेपालीलाई भात नै चाहिन्छ।
भातप्रतिको आदत र आसक्ति घरभित्र मात्रै सीमित छैन। दाल, भात, तरकारी रेस्टुराँ गएर खाने चलन पनि बढ्दो छ। रेस्टुराँ संस्कृति बढिरहेको सहरी भेगमा सात समुद्रपारिसम्मका खाना खुवाउने ठाउँ उपलब्ध छन्। यही भीडमा नेपाली खानाको पर्यायका रूपमा स्थापित भइसकेको नाम पनि छ, थकाली खाना।
खाना व्यवसायमा वर्चस्व स्थापित गर्ने यसको स्रोत मुस्ताङ थाकखोलाका थकाली समुदायसँग जोडिन्छ। थकाली बोलीमा थासाङ भनिने थाकखोलामा टुकुचेदेखि तल र घाँसादेखि माथिका १३ वटा गाउँ पर्छन्।
सन् १९९७ मा दरबारमार्गमा एउटै परिवारका रेखा भट्टचन, ज्योतिमान शेरचन, इन्दिरा गौचन, विन्दु शाक्य र अरुणा गौचनले रेस्टुराँको नाम जुराउने बेला आफ्नो पुर्ख्यौली थलो टुकुचेको नाम प्रयोग गरेका थिए।
१५ वर्षअघि झम्सिखेलमा रेस्टुराँ व्यवसाय सुरु गर्ने बेला मुस्ताङ, कोबाङकी शर्मिला तुलाचनले पनि आफ्नै थातथलो चिनाउने नाम रोजिन्, थाकखोला थकाली।
जापानी अध्येता सिगेरु इइजिमा र योसिकाजु तकायाले थकाली र नेपाली खेतीपाती पुस्तकमा उल्लेख गरेअनुसार १९औँ शताब्दीको मध्यदेखि थकाली शक्तिको उदय भएको हो।
यी दुईजस्तै थकाली खाना खुवाउने ठाउँको नाममा थाकखोलाको परिचय जोड्नेहरूको सूची लामो छ। थासाङ थकाली, टुकुचे थकाली, लेते थकाली, मुस्ताङ थकाली, मुक्तिनाथ थकाली, जोमसोम थकाली, घाँसा थकाली आदि। यसबाहेक काठमाडौँमा जिम्बु थकाली, मन्त्र थकाली, मोनालिसा थकाली, मेलुङ थकाली, घरआँगन थकाली, थकाली भान्साघर, गौचन थकाली, शेरचन थकाली, हाउस अफ थकालीलगायत अनेक नामका खाना खुवाउने ठाउँ ग्राहकको रोजाइमा पर्दै आएका छन्। थुप्रै स्थापित थकाली रेस्टुराँले आफ्ना शाखासमेत विस्तार गरिसकेका छन्। यो क्रम जारी छ।
एक दशकभन्दा बढी जापान बसेकी शर्मिलाले त्यहाँ रेस्टुराँमा समेत काम गरिन्। त्यसअघि जोमसोममा आमाले खोलेको रेस्टुराँमा सघाउने उनलाई खानाकै व्यवसायले आकर्षित गर्यो। उनी भन्छिन्, “रेस्टुराँ खोलेको दिनदेखि आजसम्म ग्राहकको अभाव छैन।”
ग्राहकले रुचाएकै कारण थाकखोला थकालीका शाखाहरू नयाँ बानेश्वर र ठमेलमा समेत विस्तार भइसके।
१५ वर्ष जापानमा बिताएका अर्जुन शेरचन जापान छँदै हस्पिटालिटी व्यवसायमा लागेका थिए। त्यहाँ सुरुमा अरूको रेस्टुराँमा काम गरेका उनी आफैँ रेस्टुराँसमेत चलाएको बताउँछन्। नेपाल फर्केपछि दुई दशकअघि साथीहरूसँग मिलेर गामबेसी थकाली किचन खोले। ठमेलमा बगान थकाली सञ्चालन गरिरहेका उनी आगामी फागुनदेखि बालुवाटारमा नयाँ शाखा विस्तार गर्दै छन्। यसमा मन्त्र थकाली, जिम्बु थकाली, दाउरा थकालीलगायत धेरै नाम थप्न सकिन्छ। पुराना शाखा विस्तारसँगै नयाँ थकाली रेस्टुराँ थपिने क्रम पनि जारी छ। झम्सिखेलको मार्सी थकाली, पाटनको घाँसा थकाली आदि यही वर्ष थपिएका हुन्।

मार्सी थकालीको खाना
जापानी अध्येता सिगेरु इइजिमा र योसिकाजु तकायाले थकाली र नेपाली खेतीपाती पुस्तकमा उल्लेख गरेअनुसार १९औँ शताब्दीको मध्यदेखि थकाली शक्तिको उदय भएको हो। सन् १८५० को दशकको मध्यतिर नेपाल र तिब्बतबीच लडाइँ चल्यो। तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले थकाली नेता कालुराम तिम्त्सेनलाई तिब्बती भाषाको दोभासेका रूपमा नियुक्ति गरे। तिम्त्सेनले दोभासेमा सीमित नरही तिब्बती र हिमाली गतिविधिबारे रणनीतिक परामर्शदातासरहको भूमिका निर्वाह गरे। यसबाट निकै प्रभावित जंगबहादुरले पुरस्कारस्वरूप ‘बलवीर’ नामसहित सुब्बा पदवी दिएको उक्त पुस्तकमा उल्लेख छ। लेखिएको छ, ‘सुब्बा पदवीका अतिरिक्त बलवीर शेरचनले भोटे-नुनको व्यापार गर्ने एकाधिकारका साथै माथिल्लो कालीगण्डकी बेसी र त्यसको छरछिमेकको न्यायाधीश पद पनि पाए।’
प्रशासकीय र न्यायिक अधिकार पाएका थकालीहरू तिब्बत, नेपाल र भारतबीचको हिमालय वारपारको व्यापारमा संलग्न थिए। टुकुचे थकालीहरूको व्यापारिक केन्द्र थियो। लेखकद्वयका अनुसार सन् १९५९ मा तिब्बतमा विद्रोह हुनुअघिसम्म थकाली व्यापारीहरू तिब्बत र उत्तरी उच्च मालभूमिबाट भेडा, बाख्रा, चौँरी, झुप्पु, घोडा, खच्चर, ऊन, छाला, भुत्ला, नौनी, छुर्पी र सिँधेनुन पैठारी गर्थे। त्यसको बदलामा नेपाली र भारतीय माल धान, गहुँ, जौ, मकै, दाल, फापर, तेल, चिया, खुर्सानी, मसला, नेपाली कागज, रुवा, सुती कपडा, धातुका भाँडाकुँडा, बन्दुक र बारुद निकासी गर्थे।
अचेल भातबाहेक कोदो वा फापरको ढिँडो पनि थकाली खानाकै ब्रान्डका रूपमा स्थापित भइसकेको छ।
मुस्ताङ अत्यन्तै चिसो ठाउँ भएकाले हिउँदमा थकाली व्यापारीहरू म्याग्दी, बागलुङ, पोखरा, बुटवलसम्म झर्थे। बगान थकालीका सञ्चालक अर्जुन शेरचन भन्छन्, “जाडो छल्न तल झरेको बेला त्यसबेलाको बोलीमा ‘भट्टी’ खोलेर दाल, भात, तरकारी बेचेर सामान्य रूपमा सुरु गरेको काम नै अहिले विकसित भएर आधुनिक रूप लिएको हो।”
त्यस्तो भट्टी चित्राले बारेर बनाइएको हुन्थ्यो। कात्तिकदेखि फागुनसम्म चोक चोकमा अस्थायी व्यवसाय गर्ने थकालीका भट्टीहरूमा पाइने खाना स्वादिलो हुन्थ्यो। खाना खान आएका अतिथि निःशुल्क सुत्न पाउँथे। सुत्ने ठाउँ अत्यन्तै सफा हुन्थ्यो। “यही कारण मान्छेहरू थकालीको होटल खोजी खोजी आउन थाले,” उनी भन्छन्।
परम्परागत शैलीको व्यवसायलाई आधुनिक स्वरूपमा ढाल्नेमध्येकी एक हुन्, उषा शेरचन। मुस्ताङ, टुकुचेकी उषाले आमा रत्न तुलाचनको साथ पाएर १८ वर्षकै उमेरमा उषा लज खोलेकी थिइन्। मुस्ताङबाट पोखरा बसाइँ सरेपछि उनले चार वर्ष भ्याली लज चलाइन्। त्यसपछि मोनालिसा थकाली सुरु गरिन्। तीन दशकदेखि पोखरामा सञ्चालन भइरहेको मोनालिसा थकालीको शाखा चार वर्षयता काठमाडौँको भाटभटेनीमा सञ्चालनमा छ।

मोनालिसा थकालीमा खाना खाइरहेका विदेशी
काठमाडौँमा थकाली खानाको विस्तारमा अग्रणी भूमिका निर्वाह गर्ने अर्को नाम हो, रेखा भट्टचन। उनले परिवारसँग मिलेर २८ वर्षअघि दरबारमार्गमा खोलेको टुकुचे थकाली १० वर्षअघि गैरीधारामा सरेको छ। झम्सिखेलमा यसकै अर्को शाखा खुलेको दुई वर्ष भइसक्यो। झम्सिखेल शाखाको रेखदेख रेखाकी छोरी महिमाले गर्छिन्। महिमा भन्छिन्, “मेरा ममी, आन्टी, मामाहरूले विदेशी पर्यटकलाई हाम्रो आफ्नै खानाको स्वाद चखाउनुपर्छ भनेर थकाली खाना सुरु गर्नुभएको थियो। तर, स्थानीयले नै बढी मन पराए।”
उनले भनेजस्तै थकाली खाना नेपाली स्थानीयले रुचाएकै कारण देशभरि व्यापक भएको हो।
थकाली थालीमा कम्तीमा १० परिकार हुन्छन्। सुरुमा सबै कुरा थोरै राखेर परिकारबारे जानकारी दिइन्छ। त्यसपछि मागअनुसार भरपेट थपीथपी खुवाउनु पनि थकालीको विशेषता हो। थाकखोला थकालीकी शर्मिलाका अनुसार थालमा परिकारहरू पस्किँदा पहिला थोरैबाट सुरु गरेर लहरै राख्दै जाने चलन छ। काँस वा स्टिलको थालको बीचमा भुक्क उठेको भात, भातमाथि पोखिएको घिउको बास्ना, जिम्बु वा अदुवाले झानेको हिमाली स्वादको दाल, मौसमअनुसारका साग र सब्जी, टमाटरको अचार, मूलाको अचार, गुन्द्रुक, पापड, दही र खसी वा कुखुराको मासु।
अचेल भातबाहेक कोदो वा फापरको ढिँडो पनि थकाली खानाकै ब्रान्डका रूपमा स्थापित भइसकेको छ। थकाली स्वादमा खानाबाहेक स्न्याक्सका रूपमा आलु-जिम्बु, खसी-च्यांग्राको सुकुटी र आलु, घिउमा तारेको आलु, कान्चाम्बालगायत पनि उत्तिकै चलेका छन्। मार्फा वाइन, मुस्ताङे ब्रान्डीजस्ता पेय पदार्थको माग पनि छँदै छ।
हिमाली भूगोलबाट आएको स्वादले पुस्ता दरपुस्ता निरन्तरता पाउनुमा थकाली महिलाहरूको प्रभावशाली भूमिका देखिन्छ। धेरै थकालीका सञ्चालकसमेत रहेका उनीहरूकै सुझबुझ र निर्देशनमा भान्छा चल्छ।
थाकखोला थकालीकी सञ्चालक शर्मिला थकाली खाना अन्य नेपाली खानाजस्तै भए पनि पकाउने विधि र त्यसमा प्रयोग गर्ने घरेलु मसलाका कारण स्वाद पृथक् हुने मान्छिन्। “हामी धेरै समय लगाएर पकाउँछौँ। समयसँगै हामी मन दिएर पकाउँछौँ, त्यसले पनि मजाको स्वाद ल्याउँछ कि!” उनी भन्छिन्, “कतिबेर भिजाउने, कतिबेर पकाउने सबै हिसाबकिताबमा राखेर पकाउनुपर्छ। हामी मसला कम प्रयोग गर्छौं, त्यसमा पनि आफैँले पिसेको घरेलु मसला मात्र हुन्छ। यसले पनि स्वाद फरक बनाएको होला।”
धेरैले रुचाउने थकाली दाल पकाउने विधि लामो छ। सुरुमा सिठी लगाएर, त्यसपछि कराहीमा बेसार घिउ राखेर पकाइने दाल फलामको भाँडामा घोटेर हरियो रंग निकालिन्छ। त्यसलाई कस्तो स्वाद दिने त्यहीअनुसार जिम्बु, अदुवा, लसुन वा टिम्मुरले झानिन्छ।
“हामी थकालीको हरेक कुरा पकाउने आफ्नै शैली छ। जे पकाए पनि एकदमै मिहिनेत गर्छौं,” अर्जुन थप्छन्, “खानाको स्वाद आँखा, नाक हुँदै मुखमा पर्ने हो। त्यसैले प्रस्तुतिमा पनि उत्तिकै ध्यान दिन्छौँ।”
उनी पनि कम मसला राख्ने र घरेलु मसलाको प्रयोगका कारण थकाली स्वाद भिन्न हुने मत राख्छन्।

थाकखोला थकालीको खाना
थकालीमा खाना पकाउनेजस्तै पकाएका परिकार ग्राहक वा अतिथिलाई पस्कने पनि आफ्नै चलन र नियम छन्। यो नियमअनुसार कुन खानेकुरा थाल र बटुकामा कहाँ कहाँ राख्ने भनेर पालना हुन्छ। यसबारे कर्मचारीहरूलाई सुरुदेखि नै तालिम दिइने बगान थकालीकी सञ्चालक धात्रीदेवी शेरचन बताउँछिन्। भन्छिन्, “अचार कहाँनेर, पानी कहाँनेर भन्ने पनि नियम हुन्छ। त्यो नियम कहिल्यै तोड्दैनौँ।”
मोनालिसाकी कर्मचारी पूजा कटवाल क्षत्री भन्छिन्, “हरेकपटक खानेकुराहरू त्यही नियमअनुसार थाल-बटुकामा राखिन्छ। बरु ढिलो होस्, तर जुन खानेकुरा जहाँ हुनुपर्ने त्यहीँ राख्छौँ।”
हिमाली क्षेत्रमा पाइने जडीबुटी तथा मसला प्रयोग गरिने थकाली खाना स्वादिलो मात्रै छैन, पोसिलो पनि छ। त्यसैले यसलाई सन्तुलित खाना मानिन्छ। प्रोटिनदेखि पाचनसम्म सन्तुलन राख्ने परिकारकै कारण पनि मान्छेहरूले घरबाहिर खाना खानुपर्दा थकाली खाना सम्झिएका हुन्। आधिकारिक अर्थात् विशुद्ध थकाली खाना खुवाउनुपर्छ भन्नेमा सचेत थकालीहरूले सुरुआती चरणमा मुस्ताङबाटै आलु, दाललगायत सामग्री ल्याएर हिमाली भेगका खानेकुराको स्वाद फैलाए। अहिले पनि जिम्बु, टिम्मुरलगायत जडीबुटी, दाल वा आलु मुस्ताङकै प्रयोग गर्नेहरू पनि छन्। यसबाहेक जुम्ला, डोल्पा, रसुवाजस्ता उच्च भेग भएका ठाउँको खानालाई प्राथमिकतामा राख्ने धेरै छन्।
हिमाली भूगोलबाट आएको स्वादले पुस्ता दरपुस्ता निरन्तरता पाउनुमा थकाली महिलाहरूको प्रभावशाली भूमिका देखिन्छ। धेरै थकालीका सञ्चालकसमेत रहेका उनीहरूकै सुझबुझ र निर्देशनमा भान्छा चल्छ। महिमा भन्छिन्, “टुकुचे थकालीको मुख्य शाखा गैरीधारा मुवाले सम्हाल्नुहुन्छ। तर, उहाँ खानाको स्वाद र गुणस्तर जाँच्न एक दिन पनि नटुटाई झम्सिखेल आउनुहुन्छ।”
थकालीका भान्छामा काम गर्ने कतिपय कर्मचारी र सेफसमेत थकाली समुदायकै हुन्छन्। तीमध्ये परिवारकै सदस्यहरू पनि संलग्न छन्। बगानकी धात्रीदेवी भन्छिन्, “हजुरआमा र आमाहरूको सीप घरमा, होटलमा काम गर्दा गर्दा कुनबेला हाम्रो हातमा सर्छ थाहै हुँदैन।”
बजारमा ठूलो लगानीसहित गैरथकालीका रेस्टुराँ विस्तार हुँदा थकाली ब्रान्ड विस्तारमा सहयोग त मिल्छ नै। तर, ‘अथेन्टिक थकाली’ खाना कुन हो भन्ने अन्योल पनि हुन्छ।
थकालीहरू जहाँ जान्छन्, टिम्मुरको छोप, जिम्बु, दालसँगै बोकेर हिँड्ने चलन छ। “हजुरआमा विदेशतिर जहाँ जाँदा पनि टिम्मुरको छोप बोकेर जानुहुन्थ्यो। किन बोकेको होला जस्तो लाग्थ्यो। अहिले म आफैँ टिम्मुर छोप बोक्ने भइसकेँ,” महिमा भन्छिन्, “मान्छेमा आफ्नो स्वादप्रति लगाव हुने रहेछ। हामी थकाली त्यसमा अझ कडा छौँ।”
मान्छेहरू आफ्ना अग्रजलाई आदर्शीकरण गर्छन् र उनीहरूका कुरा पछ्याउँछन्। थकाली महिलाहरूले हजुरआमा, आमाहरूको मनैबाट पकाउने कला, सरसफाइ, अतिथि सत्कार र ग्राहकको सन्तुष्टिलाई प्राथमिकता राख्ने कुरा अनुसरण गरे। पुस्तान्तरणको यो असर ग्राहकहरूमा परिरहेको छ। खाना र सेवा मन परे एकपटक आएका ग्राहक फर्केर आउने भएकैले थकाली रेस्टुराँहरूको संख्या बढिरहेको हो। थकाली खानाले पाको उमेरका मानिसदेखि जेन-जीसम्मलाई आकर्षित गरेको छ।
यस आकर्षणको बजार देखेर रेस्टुराँमा थकाली शब्द जोड्ने बढिरहेका छन्। कतिले आफू थकाली नभए पनि हस्पिटालिटी व्यवसायमा भएकाले सिकेर बुझेर यस क्षेत्रमा हात हालेको भेटिन्छ। तिनैमध्ये एक हुन्, वसन्त लामा। करिब नौ वर्ष कुकको काम गरेका उनले दुबईमा समेत नौ महिना कुकको अनुभव बटुले। नेपाली फ्युजन खानाको प्रवर्द्धनमा लागेका उनले बालुवाटारमा गत फागुनदेखि सञ्चालनमा ल्याएको मेलुङ थकालीको नाममा समेत फ्युजन छ। दोलखा, मेलुङका लामाले थकालीहरूको आफ्नै गाउँठाउँको नाम प्रयोग गर्ने अभ्यासजसरी नै आफ्नो गाउँपालिकाको नाममा थकाली जोडेका हुन्। उनी भन्छन्, “थकाली भनेपछि मात्रै यहाँ राम्रो खाना पाइन्छ भन्ने नेपाली मनोविज्ञान नै बनिसक्यो। थकाली नाम जोड्दा प्रचारप्रसारमा सहयोग हुने भएकाले मैले पनि प्रयोग गरेँ।”

मेलुङ थकालीको खाना
थकाली स्वादबारे थकालीसँगै सिकेको उनी बताउँछन्। मेलुङ थकालीको अर्को शाखा खोल्ने उनको योजना छ।
यही वर्ष असारदेखि झम्सिखेलमा उच्च हिमाली भेगमा फल्ने मार्सी चामलको नाममा थकाली जोडेर मार्सी थकाली सुरु भएको छ। यो पनि गैरथकालीले सञ्चालन गरेको थकाली ब्रान्ड हो। सञ्चालक राज अर्यालका अनुसार त्यहाँ मार्सी, कोदो, फापर, मकैका परिकारलगायत ढिँडोको सेट पाइन्छ। उनले ल्याउने मार्सी ध्यान जुम्लाको हो, तर बजारको माहोलअनुसार उनले पनि थकाली नाम प्रयोग गरेका हुन्। भन्छन्, “हाम्रो रेसिपी मात्र थकाली हो। तर, हाम्रोमा २० वर्ष थकाली रेस्टुराँमा काम गरेको सेफ हुनुहुन्छ।”
‘अथेन्टिक थकाली’ को चिन्ता
बजारमा ठूलो लगानीसहित गैरथकालीका रेस्टुराँ विस्तार हुँदा थकाली ब्रान्ड विस्तारमा सहयोग त मिल्छ नै। तर, ‘अथेन्टिक थकाली’ खाना कुन हो भन्ने अन्योल पनि हुन्छ।
“थकाली नाम र ब्रान्डको दुरुपयोग भएकाले ग्राहकहरूले पनि विशुद्ध थकाली स्वाद कहाँ पाइन्छ भनेर छुट्याउन नसक्ने अवस्था छ,” अर्जुन भन्छन्, “त्यसैले हामी अथेन्टिक थकाली रेस्टुराँहरूको सूची बनाउँदै छौँ।”
यसका लागि थकाली खाना व्यवसायीहरूको संस्था थकाली भान्छाघर संघले एप बनाएको छ, जसमा सूचीकृत भएका नामहरू मात्रै अथेन्टिक थकाली हुने उनको भनाइ छ। एपमा हालसम्म करिब ८० वटा थकाली भान्साघर सूचीकृत छन्। यसमा थकाली समुदायका व्यवसायी मात्र सदस्य हुन पाउँछन्। तर, गैरथकालीलाई तालिम दिइने उनी बताउँछन्।
भात खान कुनै मौसम चाहिँदैन, यो सदाबहार चल्ने व्यवसाय भएकाले थकाली खाना भविष्यमा अझै विस्तार हुने अनुमान गर्न सकिन्छ।
थकाली संस्कृति र परम्परालाई विदेशीमाझ मात्र नभई नेपालभित्रै चिनाउनुमा थकाली खानाले अतुलनीय योगदान दिएको छ। यसमा प्रामाणिकता र पहिचानको यस्तै सचेतनाले काम गरेको छ। यही कारण नेपाल र अन्तर्राष्ट्रियस्तरमै थकाली समुदाय चिनाउन थकाली खाना सबैभन्दा सशक्त माध्यम बनेको छ।
खानालाई परम्परा र संस्कृतिको अभिन्न हिस्सा बनाएर प्रस्तुत गर्ने थकालीहरूले आफ्ना होटल, रेस्टुराँमा मुस्ताङ र थकालीसँग जोडिएका धेरै कुरा प्रदर्शन गरे।
हरेक रेस्टुराँमा थकाली जीवनशैली झल्कने काठ, करुवा, गाग्री, ढुंगेधारा, तस्बिर, गरगहनाले मानिसलाई मुस्ताङको परिवेशसँग परिचित गराउँछन्। यसले पर्यटन र अर्थतन्त्रमा पारेको सकारात्मक प्रभावसँग एउटा जातिविशेषलाई आफ्नो पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने कला पनि सिकाएको छ।
मोनालिसा थकालीको भित्तामा यस्ता धेरै कुरा देखिन्छन्। यसबाहेक प्रसिद्ध कलाकार, गायकगायिका, नेतादेखि विदेशी हाई प्रोफाइल व्यक्तिका तस्बिरसमेत भेटिन्छन्। तिनमा मुस्ताङका राजपरिवारका सदस्यदेखि अमृत गुरुङसम्म अटाएका छन्। भारतीय अभिनेत्री शबाना आजमी नेपाल आउँदा त्यहीँ खाना खाएको साक्षी बसेको तस्बिर पनि छ, जसमा अनुप बराल, दयाहाङ राई, विजय बराल, दिया मास्के, सिर्जना सुब्बा, विप्लव प्रतीक एउटै फ्रेमभित्र भेटिन्छन्।
यसको अर्थ हो, थकाली खानाको स्वादले साना-ठूला सबै वर्गका मानिसलाई आकर्षित गरेकै कारण यो नाम लोभलाग्दो ब्रान्ड बनेको हो।
भात खान कुनै मौसम चाहिँदैन, यो सदाबहार चल्ने व्यवसाय भएकाले थकाली खाना भविष्यमा अझै विस्तार हुने अनुमान गर्न सकिन्छ। अर्जुन भन्छन्, “नेपाल घुम्न आउने हरेक पर्यटकको सूचीमा थकाली खाना चाख्ने कुरा परेकै हुन्छ। नेपालीलाई पनि हप्ताको कम्तीमा पाँच दिन भात नै चाहिन्छ। त्यसैले थकाली खाना अझै फैलिने निश्चित छ।”