काठमाडौँ। थापाथलीमा सञ्चालित ब्रिटिस कलेजको अनुमतिपत्र खारेज गर्न १२ विद्यार्थी संगठनले माग गरेका छन्।
कलेजले हस्पिटालिटी बिजनेस म्यानेजमेन्टलगायत शैक्षिक कार्यक्रमहरू अवैध रूपमा चलाएको‚ अत्यधिक शुल्क असुलेको‚ फरक पाठ्यक्रम पढाएको र भर्ना गरिएका विद्यार्थीलाई यूएईमा अलपत्र पारेको विषयमा त्यहाँका विद्यार्थी आन्दोलनरत् छन्।
संयुक्त विद्यार्थी संगठनहरूको तर्फबाट आइतबार विज्ञप्ति जारी गर्दै पटक-पटक सम्बन्धित निकायलाई समस्याको समाधान खोजेर पीडित विद्यार्थीहरूलाई न्याय दिन दबाब दिँदा पनि उल्टै राज्य संयन्त्रको मिलोमतोमा ब्रिटिस कलेजका सञ्चालकले विद्यार्थीहरूमाथि धरपकड गर्ने र गिरफ्तार गर्ने कार्य भइरहेकोमा आपत्ति जनाएका हुन्।
“पीडित विद्यार्थीहरूलाई यथाशीघ्र न्याय दिन र विद्यार्थीहरुमाथि ठगीधन्दा चलाउने ब्रिटिस कलेजको अनुमति रद्द गरी विद्यार्थी ठग्ने धन्धामा संलग्न सबैलाई यथाशीघ्र कडा कानुनी कारबाही गर्न प्रहरी प्रशासन‚ शिक्षा मन्त्रालयलगायत सम्बन्धित निकायलाई जोडदार माग गर्दछौँ‚” विज्ञप्तिमा उल्लेख छ।
अनेरास्ववियु‚ अखिल समाजवादी‚ अखिल क्रान्तिकारी‚ समाजवादी विद्यार्थी युनियन नेपाल‚ समाजवादी विद्यार्थी युनियन‚ अखिल छैटौँ‚ अखिल (क्रान्तिकारी)‚ वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल‚ अखिल नेपाल विद्यार्थी फेडेरेसन‚ जनपक्षीय विद्यार्थी युनियन नेपाल‚ अखिल पाँचौँ र अखिल नेपाल विद्यार्थी युनियनले कलेज प्रशासनले विभिन्न हर्कत बन्द नगरे कडा प्रतिरोध गर्ने पनि चेतावनी दिएका छन्।
