काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

२७ पुष २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय सभाका लागि कोसी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ।

११ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा कोसीबाट थापा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गरेको छ।

राष्ट्रिय सभा निर्वाचनका लागि कोसीमा दलित‚ महिला र अन्य गरी तीन सदस्यका लागि निर्वाचन हुन लागेकामा अन्यतर्फ थापा निर्विरोध भएको घोषणा गरिएको हो। थापाको प्रस्तावकमा उद्धव थापा र समर्थकनमा रेगिना भट्टराई थिए। अब बाँकी दुई सदस्यका लागि मात्र निर्वाचन हुने निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश भीष्मराज प्रसाईंले तोकिएको समयमा अन्यतर्फ एकजनाको मात्र उम्मेदवारी परेको र महिला र दलिततर्फ दुई-दुईजनाको उम्मेदवारी परेको जानकारी दिए।

महिलातर्फ एमालेबाट रोशनी मेचे र नेपाली कम्युनिस्ट पार्टीका नमिता न्यौपाने, दलिततर्फ एमालेबाट सोमनाथ पोर्तेल र नेपाली कम्युनिस्ट पार्टीका खेमराज नेपालीको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ।

कोसीमा प्रदेश सभाका ९३ र स्थानीय तहका प्रमुख/उपप्रमुख २७३ गरी ३६६ जना मतदाता छन्। एक स्थानीय तहका अध्यक्ष भ्रष्टाचारमा दोषी ठहर भएकाले मतदाता नामावलीबाट नाम हटाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र नेकपा एमाले तालमेल गरेका छन्। कांग्रेसले नौ, एमालेले आठ लिएका छन् भने एक सिटमा जसपाका महन्थ ठाकुरलाई दुवै दलले समर्थन गरेका छन्।