काठमाडौँ। भारतीय रियालिटी सो ‘इन्डियन आइडल’को तेस्रो सिजनका विजेता गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय गायक तामाङको आइतबार बिहान दिल्लीस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको उनीनिकट संगीतकार तथा चलचित्र निर्माता राजेश घतानीले जानकारी दिए।
नेपाली मूलका भारतीय गायक तामाङ अभिनयमा पनि सक्रिय थिए। गोर्खा पल्टन, परदेशीजस्ता नेपाली फिल्ममा मुख्य भूमिका निर्वाह गरेका तामाङ पछिल्लो समय वेब सिरिज पाताल लोक २ मा समेत देखिएका थिए। उनले सलमान खानसँग स्क्रिन सेयर गरेको चलचित्र ब्याटल अफ गलवान प्रदर्शन हुन बाँकी छ।
तामाङले गाएका मन साइँली, गोर्खा पल्टन, असारै महिनामालगायत गीत चर्चित छन्।
विभिन्न कलाकारहरूले तामाङको निधनमा शोक व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिइरहेका छन्।