काठमाडौँ। निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षक प्रशिक्षणका लागि यही २८ र २९ पुसमा विभिन्न स्थानमा अभिमुखीकरण तालिम सञ्चालन गर्दै छ।
सात प्रदेशअन्तर्गतका निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि कुल चार स्थान काठमाडौँ, चितवन, विराटनगर र नेपालगन्जमा अभिमुखीकरण तालिम दिन लागिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। तालिम सञ्चालन गर्न आयोगका पदाधिकारी र सम्बन्धित कर्मचारीले कार्यविभाजन गरी खटिइसकेका छन्।
तालिमले मुख्य प्रशिक्षक तयार गर्न प्रशिक्षक प्रशिक्षण सम्पन्न गरिएको र ती प्रशिक्षकले थप तालिम सञ्चालन गर्ने आयोगको योजना रहेको छ। प्रशिक्षण प्राप्त गरेपछि निर्वाचन अधिकृतले आगामी २ माघदेखि आ-आफ्नो निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरी काम सुरु गर्नेछन्।
आयोगले न्यायपरिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ८८ जना न्यायसेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृत पदमा नियुक्ति दिइसकेको छ।