काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी विषेश महाधिवेशनअन्तर्गत पहिलो दिन उद्घाटन सत्र भएको थियो भने आज बन्द सत्र गर्ने कार्यतालिका तय गरिएको हो ।
महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बिहान १० बजेदेखि बन्दसत्र शरू हुनेछ ।
आज बन्द सत्रको सुरुमा विषेश महाधिवेशनको कार्याविधि बनाउने तालिका रहेको छ। त्यसपछि नौ ओटा समूह निर्माण गरेर चार ओटा विषयमाथि नीति मन्थन हुनेछ।
चार विषयहरुमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत् छलफल हुने पोखरेलले जानकारी दिए ।
नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे बृहत छलफल हुनेछ । यदि नेतृन्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया बढाइने पोखरेलले बताए ।
नयाँ कार्यसमिति निर्विरोध हुने सम्भावना रहेकोले मतदान गर्नु नपर्ने पोखरेलको धारणा छ ।
यसैबीच महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने छ । क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधिहरु आज बिहान मात्रै आइपुगेकाले उनीहरुले बिहान ८ बजेदेखि शुरू भएको दर्तामा सहभागी भएका हुन् । उक्त कार्यक्रम ११ बजेसम्म हुने व्यवस्था मिलाइएको हो।