काठमाडौँ
००:००:००
२८ पुष २०८२, सोमबार

२८ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेपाली विद्यार्थीले निर्माण गरेको ‘मुनाल’ नानो भू-उपग्रहसहित उडेको भारतीय रकेटको प्रक्षेपण असफल भएको छ।

भारतीय रकेट ‘पीएसएलभी ६२’ अन्तरिक्षमा निर्धारित स्थानमा पुग्न असफल भएको हो। आन्ध्रप्रदेशको श्रीहरिकोटास्थित सतिश धवन अन्तरिक्ष केन्द्रबाट सोमबार बिहान १० बजेर ३२ मिनेटमा रकेट अन्तरिक्षतर्फ प्रक्षेपण गरिएको थियो। रकेटको मुख्य लक्ष्य भारतको डीआरडीओले बनाएको अभिनेष नामको भू-उपग्रह पुर्‍याउने थियो। त्यसमा नेपालको मुनालसहित अन्य १५ वटा भूउपग्रह पनि राखिएका थिए।

“मुनालसहितको स्याटलाइट लिएर गएको रकेटमा तेस्रो चरणमा पुग्दा समस्या देखिएको इस्रोले जानकारी गराएको छ‚” नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का सचिव रवीन्द्रप्रसाद ढकालले भने। ढकालसहित नास्टका उपकुलपति दिलीप सुब्बा र अन्तरिक्ष अनुसन्धान केन्द्रका प्रमुख हरिराम श्रेष्ठ प्रक्षेपण हेर्न श्रीहरिकोटा पुगेका थिए। ढकालका अनुसार अन्तरिक्षमा करिब चार सय किलोमिटरमै रहेको छ। “के कारणले त्यस्तो भयो भन्ने विषयमा इस्रोले थप जानकारी गराउने जनाएको छ‚” ढकालले भने।

नास्ट र अन्तरिक्ष प्रतिष्ठान नेपालले तयार पारेको परियोजनाअन्तर्गत काभ्रेका हाइस्कुलमा अध्ययन गर्दै आएका नौ विद्यार्थीले मुनाल भू-उपग्रह तयार पारेका थिए।

काठमाडौं युनिभर्सिटी हाइस्कुल, चैतन्य मावि, आजाद मावि र सञ्जीवनी मोडल हाइस्कुलका विद्यार्थीले ‘मुनाल’ निर्माण गरेका हुन्। दुई वर्षअघि काठमाडौंमा भएको दुवै देशको परराष्ट्रमन्त्रीस्तरीय नेपाल-भारत संयुक्त आयोगको बैठकमा भारतले नेपाली विद्यार्थीले बनाएको स्याटेलाइट नि:शुल्क पठाइदिने सहमति भएको थियो। मुनाल भूउपग्रहको लम्बाइ, चौडाइ र उचाइ १०-१० सेन्टिमिटर छ।

यो भू-उपग्रह काभ्रेको आजाद स्कुलका कान्छाराम स्याङतान, काठमाडौं युनिभर्सिटी हाइस्कुलका रजिन रन्जित, सुभेष गुरुङ, सुशान्त ढकाल, समृद्धि शर्मा, श्रीया प्रधान श्रेष्ठ, सिद्धार्थ कर्माचार्य, चैतन्यकी संगीता मैनाली, सञ्जीवनी विद्यालयकी श्रेया तामाङले निर्माण गरेका हुन्। भू-उपग्रह निर्माणका लागि काठमाडौं युनिभर्सिटी हाइस्कुलमा ल्याब स्थापना गरिएको थियो।

भारतको पीएसएलभी रकेटमा समस्या देखिएको पहिलोपटक भने होइन। ‘पीएसएलभी ६१’ मा पनि समस्या देखिएको थियो।