काठमाडौँ
००:००:००
२८ पुष २०८२, सोमबार

२८ पुष २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार अपराह्न भएको भेटमा बासले नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीका रूपमा इतिहास बनाएकामा बधाइ दिँदै सफलताको कामना गरे।

उनले नेपाल-इजरायलबीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकामा खुसी जनाउँदै दुई मुलुकबीचको मित्रवत् सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन दुवै तर्फबाट प्रयास जारी राख्नुपर्ने कुरा व्यक्त गरे।

राजदूत बासले पनि नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको जनाउँदै यसलाई थप प्रगाढ बनाउन प्रतिबद्ध रहेको जानकारी गराए। हालै मात्र दुई मुलुकबीचको श्रम आप्रवासनसम्बन्धी सम्झौता तथा सोको कार्यान्वयनसम्बन्धी प्रोटोकलहरू पारित भएकामा नेपाल सरकारलाई धन्यवाद पनि दिए। यसले नेपाली कामदारको इजरायलमा रोजगारीको अवसरलाई कानुनी आधार उपलब्ध हुने राजदूत बासले जानकारी गराए।

प्रधानमन्त्री कार्कीले नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएकामा इजरायल सरकारलाई धन्यवाद दिँदै वर्तमान सरकारको प्रमुख प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन रहेको जानकारी गराएकी थिइन्। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका अवसरमा दुवै पक्षबाट नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा केही थप महत्त्‍वपूर्ण कार्यको थालनी गर्ने कुरामा पनि जोड दिइएको थियो।