काठमाडौँ
००:००:००
२८ पुष २०८२, सोमबार

विशेष महाधिवेशन

विशेष महाधिवेशनमा नीति मात्र होइन नेतृत्व नै परिवर्तन हुनुपर्ने माग

२८ पुष २०८२
बन्दसत्र सुरु हुनुअघि नेपाली कांग्रेसको महाधिवेशनस्थल। तस्बिर : रासस
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा जारी छ। सोमबार विशेष महाधिवेशन आह्वानकर्ता महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आआफ्ना प्रतिवेदन पेस गरे। प्रतिवेदनमा समूहगत छलफल चलिरहेको छ।

सोमबार छलफल नसकिएकाले मंगलबारसम्म अधिवेशन लम्ब्याइएको छ। त्यसपछि नेतृत्व चयनको प्रक्रियामा अघि बढ्ने प्रचारप्रसार उपसमितिका सदस्यसचिव माधवप्रसाद चम्लागाईं बताउँछन्।

बन्दसत्रले विशेष महाधिवेशनको कार्यविधि पारित गरिसकेको छ, जसमा वर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समिति विघटन गरी नयाँ कार्यसमिति चयन गरिने उल्लेख छ। बन्दसत्रको कार्यविधि पारित भएपछि नेतृत्व चयनमा महाधिवेशन प्रतिनिधिले दबाब बढाएका छन्। तर, अधिकांश प्रतिनिधिको चाहना पार्टी विभाजन नहोस् भन्ने छ।

विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिले पुरानो नेतृत्वले विश्राम लिनुपर्ने र युवाले पार्टी हाँक्नुपर्ने आवाज उठाएका छन्। पूर्व इलामदेखि पश्चिम डोल्पाका प्रतिनिधिको मत विशेष महाधिवेशनबाट नीति मात्र नभएर नेतृत्व पनि परिवर्तन हुनुपर्ने माग छ।

नयाँ नेतृत्व चाहिन्छ
हिमालय कर्माचार्य, इलाम

हिमालय कर्माचार्य, इलाम (बीचमा)

दुई महामन्त्रीले नीतिबारे छलफल गर्नुभएको छ। आम कार्यकर्ताको जोड हामी नीतिको कुरा सुन्न मात्रै आएका होइनौँ, जेन-जी आन्दोलनको भावनाअनुसार पार्टीको नयाँ नेतृत्व स्थापित हुनुपर्छ भन्नेमा छ। कांग्रेसबाट बाहिरिएका तमाम कार्यकर्तालाई पार्टीमा फर्काउनुपर्छ। गगन थापाको नेतृत्वमा समग्र नेपाली कांग्रेस एकजुट हुनुपर्छ भन्ने युवा मात्रै नभएर दु:ख गरेका पुराना नेता-कार्यकर्ताको माग पनि हो। पार्टीमा दु:ख गरेकालाई छेकबार लगाएर पटक पटक समानुपातिक टिकट लिने, राष्ट्रिय सभा पनि आफैँ होल्ड गर्ने कुरा अब बन्द गर्नुपर्छ। अबको निर्वाचनमा जाँदा परिवर्तित नेतृत्व लिएर जानुपर्छ। सबै महाधिवेशन प्रतिनिधिको माग यही छ।

शेरबहादुर दाइ, पार्टी नफुटाउनुहोस्
सुरेन्द्रप्रसाद यादव, सर्लाही

सुरेन्द्रप्रसाद यादव, सर्लाही

नेतृत्व परिवर्तन त हुनैपर्छ। जेन-जी आन्दोलनले अवस्था सुधारेर अघि बढ्ने म्यान्डेट दिएको छ। ६० प्रतिशत प्रतिनिधिले यहाँ नाम लेखाएका छन्। पार्टीमा दुई गुट वर्षौंदेखि चलिरहेको छ। तर, फुटेको छैन। शेरबहादुर दाइ, के विचार गर्नुहोस् भने तपाईं पुरानो भइसक्नुभयो, बरु आफ्ना छोरालाई राजनीतिमा ल्याउनुस्। तपाईंलाई सम्मान गर्न प्रतीक्षामा छौँ। पार्टी नफुटोस्। तपाईं विद्वान् हुनुहुन्छ, सन्न्यास लिनुहोस्। कांग्रेस कसैको निजी पार्टी होइन।

युवाले नै नेतृत्व लिनुपर्छ
देवीकृष्ण न्यौपाने, डोल्पा

देवीकृष्ण न्यौपाने, डोल्पा

युवाहरूलाई पाखा लगाउने, आसेपासेलाई मात्रै लाभ दिलाउने नेतृत्वको चरम छाडापनको कारण विशेष महाधिवेशनको अवस्था सिर्जना भएको हो। जसले विशेष महाधिवेशनमा डोर्‍याउनुभएको छ, उहाँहरूले नै यो पार्टी हाँक्नुपर्छ। यहाँ ७७ जिल्लाबाटै महाधिवेशन प्रतिनिधि आउनुभएको छ। उहाँहरूले नेतृत्व जनमुखी हुनुपर्छ भन्नुभएको छ। शेरबहादुर दाइ, म पनि दूरदराजको कार्यकर्ता हुँ। म भन्न चाहन्छु, सभापतिले सन्न्यास लिनुहोस्। अब बूढापाकाले सुझाव दिने, युवाहरूले पार्टी हाँक्ने हो।

हामी बूढाहरूले विश्राम लिने हो
मुस्ताक अन्सारी, सिरहा

मुस्ताक अन्सारी, सिरहा

नेपाली कांग्रेस मजबुत रह्यो भने देश पनि बलियो हुन्छ। विशेष महाधिवेशनको टड्कारो आवश्यकता थियो। यस महाधिवेशनले नयाँ परिवर्तन दिँदै छ। अब वडादेखि केन्द्रसम्मको राजनीति युवाले लिनुपर्छ। गगन-विश्वप्रकाशजीले अबको कांग्रेसको नेतृत्व लिनुपर्छ। हामी बूढाहरूले सन्न्यास लिने हो। गगन-विश्वप्रकाशको विचार यो छ कि नयाँ नेपाल भ्रष्टाचाररहित मुलुक र युवाको सहभागिता वडादेखि केन्द्रसम्म रहनुपर्छ। केन्द्रमा बसेर राज गरिराख्ने विकृतिको अन्त्य भइसकेको छ। जति पनि केन्द्रीय नेता छन्, वडादेखि क्षेत्रीय प्रतिनिधि भएर केन्द्रमा आउनुपर्छ। वडाको दु:ख केन्द्रले बुझ्नुपर्छ।

अब गगन-विश्वप्रकाशको नेतृत्व
मुकेश घिमिरे, सिन्धुली

मुकेश घिमिरे, सिन्धुली

विधानभन्दा बाहिर गएर संस्थापन समूहले यत्रो सहभागितालाई अवमूल्यन गरिरहेको छ। हामीलाई के विश्वास छ भने, शेरबहादुर देउवा यहाँ आएर पार्टी विभाजनको मुखमा छैन भन्ने अर्थ दिएर विश्राम लिनुहोस्। अब यो बन्दसत्रले गगन थापालाई सभापति बनाएर पार्टी रूपान्तरण र पुनर्गठन गर्छ। महामन्त्री विश्वप्रकाश शर्माले दुईपटक दोहोर्‍याएर समानुपातिकमा जान नपाइने, श्रीमान्-श्रीमती सांसद हुन नपाइने, चारपटकसम्म सांसद र दुईपटक मात्रै प्रधानमन्त्री बन्न पाइने प्रतिवेदन पेस गर्नुभएको छ। यस्तो खाले प्रावधान राखियो भने कांग्रेस सुध्रन्छ। हामी गगन-विश्वप्रकाशको नेतृत्व स्थापित गरेर मात्रै फर्किन्छौँ।