काठमाडौँ
००:००:००
२८ पुष २०८२, सोमबार

२८ पुष २०८२
निर्वाचन आयोग। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

हेटौँडा। आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरिएको छ।

बामगती प्रदेश निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार बागमती प्रदेशमा दुई सिटका लागि हुने निर्वाचनका लागि विभिन्न दलबाट उम्मेदवारी दर्ता गराएका ६ उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको हो।

बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि हुने निर्वाचनका निम्ति विभिन्न चार दलबाट तीन महिला र तीन पुरुष गरी ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए।

महिला क्लस्टरतर्फ नेपाली कांग्रेसबाट गीता देवकोटा, नेपाली कम्युनिस्ट पार्टीबाट सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जनले उम्मेदवारी दर्ता गराएका छन्।

अन्य क्लस्टरबाट नेकपा एमालेका प्रेमप्रसाद दङ्गाल, नेपाली कम्युनिस्ट पार्टीबाट प्रेम सापकोटा र नेपाल मजदुर किसान पार्टीबाट विक्रम ढुकुछुले उम्मेदवारी दर्ता गराएका छन्। ती उम्मेदवारहरुलाई सम्बन्धित दलकै चुनाव चिह्न प्रदान गरिएको निर्वाचन अधिकृत श्रेष्ठले बताइन्।

११० सदस्यीय प्रदेशसभा र ११९ स्थानीय तह रहेको बागमती प्रदेशको मतभारअनुसार नेपाली कांग्रेस बलियो देखिन्छ। राष्ट्रिय सभाका लागि बागमती प्रदेशमा प्रदेशसभाका ११० र स्थानीय तहतर्फ २३८ गरी ३४८ मतदाता छन् भने १० हजार ३५२ मतभार छ।

बागमती प्रदेशमा नेपाली कांग्रेसको प्रदेशसभामा ३७ र स्थानीय तहतर्फ १०८ जना जनप्रतिनिधि छन्। यही सङ्ख्याअनुसार कांग्रेसको चार हजार १३ मतभार छ। त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीसँग दुई हजार ७३८ मतभार छ।

बागमती प्रदेशमा नेकपा एमाले दुई हजार ५७१ मत मतभारसहित तेस्रो स्थानमा छन्। प्रदेश सभामा १३ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको ७०८ मतभार छ भने नेपाल मजदुर किसन पार्टीको १९७ मतभार‚ हाम्रो नेपाली पार्टीको १०६ मतभार र स्वतन्त्रको १९ मतभार छ।