काठमाडौँ
००:००:००
२८ पुष २०८२, सोमबार

क्रिकेट

तेस्रोपल्ट टी-२० विश्वकप खेल्न लागेको नेपालको देखिँदैन पर्याप्त तयारी, क्यान गम्भीर नबन्दा विगतमा प्राप्त प्रतिष्ठा पनि गुम्ने खतरा

२८ पुष २०८२
आसन्न टी-२० विश्वकपको तयारीका लागि भैरहवास्थित एक्स्ट्राटेक ओभलको क्याम्पमा नेपाली टोली। तस्बिर : क्यान
अ+
अ-

दोस्रोपल्ट आफ्नै कप्तानीमा आईसीसी टी-२० विश्वकप खेल्दै इतिहास रच्ने अभियानमा छन्, रोहितकुमार पौडेल। २३ वर्षीय यी कप्तानले अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा सम्पन्न २०२४ को विश्वकपमा पनि राष्ट्रिय टोलीको नेतृत्व सम्हालेका थिए। तर, पछिल्लो विश्वकपमा निराशाजनक नतिजा बेहोरेका उनी यसपल्ट झन् ठूलो चुनौतीका बीच विश्वकपको तयारी गरिरहेका छन्।

अर्को महिना भारत र श्रीलंकाको संयुक्त आयोजनामा विश्वकप आयोजना हुँदै छ। नेपाल समावेश समूह ‘सी’ मा इङ्ल्यान्ड, वेस्ट इन्डिज, आयरल्यान्ड, बाङ्लादेश र इटालीजस्ता बलिया प्रतिस्पर्धी छन्। त्यसैले नेपालको यसपालिको प्रदर्शन पनि सोचेजस्तो सहज हुने पक्कै देखिँदैन।

नेपालको समूहमा सन् २०१० र २०२२ मा गरी दुईपल्ट टी-२० विश्वकप जितिसकेको इङ्ल्यान्ड सबैभन्दा बलियो र अनुभवी टोली देखिन्छ। भारत, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, आयरल्यान्ड र न्युजिल्यान्डजस्ता टोलीसँग गत वर्ष १८ टी-२० खेलेको इङ्ल्यान्डले आठमा जित र चारमा हार बेहोर्दै आफू उत्कृष्ट लयमा रहेको प्रमाणित गरिसकेको छ।

भैरहवा क्याम्पमा प्रशिक्षक स्टुअर्ट लसँग नेपाली खेलाडी। तस्बिर : क्यान

क्रिकेटको जननी मानिने इङ्ल्यान्डजस्तो सशक्त टोलीसँग प्रतिस्पर्धा गर्न लागेको नेपाली टोली भने आजको दिनसम्म विशेष तयारीमा होमिएको देखिँदैन। नेपाली टोली कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सीमित अभ्यासमा मात्र व्यस्त छ। केही दिनपछि राष्ट्रिय टोली भैरहवामा गएर ‘फ्लड लाइट’ मा अभ्यास गर्ने तयारीमा छ।

“हामी केही दिनपछि भैरहवा जानेछौँ। सबै तय भइसकेको छैन। एकदुई दिनपछि कता गएर अभ्यास गर्छौं भन्ने थाहा होला,” कप्तान रोहित भन्छन्।

ठूलो ‘हाइप’, कमजोर तयारी

नेपालजस्तो सीमित स्रोतसाधन भएको राष्ट्रका लागि विश्वकपको निरन्तरता नै ठूलो उपलब्धि हो। नेपालले यो ऐतिहासिक उपलब्धि पहिलोपल्ट सन् २०१४ मा हासिल गरेको थियो। बाङ्लादेशको चटगाउँमा भएको उक्त विश्वकपमा नेपालले घरेलु टोलीसँगै अफगानिस्तान र हङकङसँग प्रतिस्पर्धा गर्‍यो।

त्रिवि क्रिकेट रंगशालामा टी-२० विश्वकपको ट्रफी। तस्बिर : क्यान

त्यतिबेला हङकङ र अफगानिस्तानले अहिलेजस्तो हैसियत बनाइसकेका थिएनन्। दुवै राष्ट्रको हैसियत नेपालजस्तै एसोसिएट राष्ट्रको मान्यता थियो। त्यसैले प्रतिस्पर्धा सन्तुलित देखियो। समान स्तर भएका टोलीबीच भएको प्रतिस्पर्धामा हङकङलाई ८० र अफगानिस्तानलाई नौ रनले पराजित गर्दै नेपालले उल्लेख्य उपलब्धि हात पारेको थियो। यद्यपि, दुई खेलमा जित निकाले पनि बाङ्लादेशसँग बेहोरेको आठ विकेटको हारले नेपाल नेट रनरेटमा पछि पर्दै सुपर-१० मा स्थान बनाउन असफल रह्यो।

पहिलो विश्वकपको एक दशकपछि सन् २०२४ मा नेपाल पुनः सोही मञ्चमा फर्कियो। तर, १० वर्षको अन्तरालमा समान स्तर रहेको अफगानिस्तानले आफूलाई धेरै माथि पुर्‍यायो भने नेपाल जहाँको त्यहीँ देखियो। अफगानिस्तानले लगातार विश्वकप खेल्नुका साथै टेस्ट राष्ट्रको हैसियतसमेत प्राप्त गरिसकेको छ।

सन् २०२४ मा सम्पन्न आईसीसी टी-२० विश्वकपको समूह चरणमा नेपाल र अफगानिस्तानको भेट त भएन, तर बलियो दक्षिण अफ्रिकाबाहेक अन्य खेलमा नेपालको प्रदर्शन सोचेजस्तो खासै उपलब्धिमूलक रहेन।

समूह ‘डी’ मा रहेको नेपाल एसोसिएट राष्ट्र नेदरल्यान्ड्ससँग ६ रनको झिनो अन्तरले पराजित भयो। दुई टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग एक र बाङ्लादेशसँग २१ रनले पराजित भएपछि विपक्षी खेलाडीले पनि ठूलो ‘स्टेज’ मा प्रतियोगिता खेल्न अभ्यस्त नभएको भन्दै नेपालको खेलको तारिफै गरेका थिए।

भैरहवास्थित एक्स्ट्राटेक ओभलको क्याम्पमा नेपाली टोली। तस्बिर : क्यान

त्यतिबेला नेपाल दुई महिना लामो तयारी गरेर अमेरिका उडेको थियो। नेपाललाई एक रनको झिनो अन्तरले पराजित गरेपछि दक्षिण अफ्रिकाका पूर्वस्टार बलर डेल स्टेनले भनेका थिए, ‘बेजोड खेल भयो। दक्षिण अफ्रिकाको खेल भए पनि मेरो नेपालप्रति सहानुभूति थियो। नेपाल जितको हकदार थियो, तर फिनिसिङ लाइनसम्म पुग्न सकेनन्।’

लगातार दोस्रो र समग्रमा तेस्रोपल्ट विश्वकप खेल्न लागेको नेपालप्रति यसपालि विदेशी समर्थकहरूको पनि ठूलो आशा छ। तर, इङ्ल्यान्ड, इटाली र बाङ्लादेशजस्ता टोलीलाई हराउँदै के नेपाल समूह चरणबाट माथि उक्लिएला?

यसका लागि क्यानले दीर्घकालीन योजना, निरन्तर अभ्यास, अन्तर्राष्ट्रियस्तरका तयारी खेल र पर्याप्त लगानीमा ध्यान दिनु आवश्यक थियो। तर, प्रतियोगिता नजिकिँदै गर्दा क्यान घरेलु मैदान उपलब्ध नभएको बहानामा अल्झिएको देखिन्छ।

“हाम्रो तालिका व्यस्त रह्यो र अहिले पनि उस्तै छ। घरेलु मैदानमा महिला विश्वकपको ग्लोबल छनोट आयोजना हुँदै छ। त्यसैले हामीले भनेजस्तो घरेलु मैदानमै टेस्ट राष्ट्रसँग खेल्न सम्भव रहेन,” क्यान अध्यक्ष चतुरबहादुर चन्द भन्छन्। तेस्रोपल्ट टी-२० विश्वकप खेल्न लागेको नेपालको तयारी त्यति पर्याप्त देखिँदैन। नेपाल क्रिकेट संघ (क्यान) गम्भीर नबन्ने हो भने विगतमा प्राप्त प्रतिष्ठा पनि गुम्ने खतरा छ। वेस्ट इन्डिजसँग यूएईको शारजाहमा तीन खेलको टी-२० शृंखला खेलेको थियो। त्यो शृंखलामा नेपाल २-१ ले विजयी भएको थियो।

भैरहवास्थित एक्स्ट्राटेक ओभलको क्याम्पमा नेट अभ्यास गरिरहेका नेपाली टोलीका आरिफ शेख। तस्बिर : क्यान

वेस्ट इन्डिजविरुद्धको शृंखलाबाट हौसिएको नेपाल अपराजित रहँदै गत अक्टोबरमा ओमानमा भएको एसिया छनोट प्रतियोगिता जित्न सफल रह्यो। यस्तो अवस्थामा तयारी र व्यवस्थापनमा हेलचेक्र्याइँ गर्ने कुनै पनि ठाउँ रहँदैन। विश्व क्रिकेटले नेपाललाई गम्भीर प्रतिस्पर्धीका रूपमा लिन थाल्दा आफैँले पनि आफ्नो स्तर त्यहीअनुसार उकास्नुपर्ने हो।

भारतको उदाहरण नै हेर्ने हो भने त्यहाँ राष्ट्रिय टोली मात्र होइन, घरेलु क्रिकेट नै विश्वस्तरीय छ। रणजी ट्रफी, विजय हजारे ट्रफी र इन्डियन प्रिमियर लिग (आईपीएल)जस्ता प्रतियोगिता भारतलाई खेलाडी उत्पादन गर्ने कारखाना बनेका छन्। यही कारण भारतसँग विकल्पको कमी हुँदैन। ठूलो टोली बन्ने बाटो राष्ट्रिय टोलीको प्रदर्शनबाट होइन, बलियो घरेलु संरचना, निरन्तर प्रतिस्पर्धा र दीर्घकालीन लगानीबाट तय हुन्छ।

नेपाल पनि अब त्यही मोडमा उभिएको छ। अन्तर्राष्ट्रिय अवसरहरू ढोका ढकढक्याइरहेका छन्। तर, तिनलाई सदुपयोग गर्ने कि गुमाउने भन्ने निर्णय क्यानको रणनीतिक क्षमतामा निर्भर गर्छ।