काठमाडौँ
००:००:००
२७ माघ २०८२, मंगलवार

खिचिक्क

टोखाका व्यवसायी माघे सङ्क्रान्तिका लागि चाकु उत्पादनमा व्यस्त

२८ पुष २०८२
तस्बिरहरू : क्षितिज तामाङ/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। गुलियो भन्नेबित्तिकै सबैको मुख रसाउँछ। त्यही गुलियो सखरबाट बन्ने चिज चाकु, तिलको लड्डु र सेतो तिलको लड्डु।
गुलियो स्वाद आउने र जाडोलाई भगाउने चाकु उत्पादनका लागि टोखाका विभिन्न उद्योगमा यतिबेला भ्याई-नभ्याई छ।

चाकु प्रतिकिलो १४०‚ खुवाको चाकु ५०० र कालो तिल र सेतो तिलको लड्डु ३०० रुपैयाँ किलोमा बिक्री भइरहेको छ। माघे सङ्क्रान्तिका लागि टोखाका व्यवसायी चाकु उत्पादनमा व्यस्त छन्। घिउ र चाकु खाएर मनाइने माघे सङ्क्रान्तिका लागि बजारको मागअनुसार व्यवसायी चाकु उत्पादनमा व्यस्त छन्।

परम्परागत रूपमै टोखाका नेवार समुदाय चाकु बनाउँदै आएका छन्। पछिल्लो समय टोखामा विभिन्न १४ उद्योगमार्फत चाकु उत्पादन भइराखेको छ।

२०१६ सालसम्म चाकु बनाउने उखु टोखामै उत्पादन हुन्थ्यो र त्यस ठाउँलाई तुँख्यः अर्थात् उखुबारी भनिन्थ्यो। त्यही शब्द पछि अपभ्रशं भएर टोखा भएको स्थानीयको भनाइ छ। पहिले थोरै मात्रामा बन्ने चाकु अहिले १२ महिना उत्पादन हुन्छ। टोखामा अहिले भारतबाट आयात भएको सक्खरबाट चाकु बनाउनुपर्ने बाध्यता छ। बजारमा माग बढे पनि जनशक्तिको भने अभाव भएको व्यवसायी बताउँछन्।

“हामी चाकु व्यवसाय गर्ने अन्तिम पुस्ता हुने हो कि भन्ने चिन्ता बढेको छ,” व्यवसायी बुद्ध श्रेष्ठले भने। नयाँ पुस्ता यस व्यवसायमा आकर्षित नहुँदा जनशक्ति अभाव भएको उनको भनाइ छ। अहिले चाकु बनाउन बाहिरबाट जनशक्ति ल्याउनुपर्छ।

नेवार समुदायमा चाकुको विशेष महत्त्व छ। यःमरी पुन्ही र माघे सङ्क्रान्तिका दिनमा अनिवार्य रूपमा चाकु चाहिन्छ। पुसको अन्तिम दिन पकाएर माघको पहिलो दिन खाने चलनअनुसार चाकु पुस मसान्तसम्म बन्ने र १ माघमा परिवारसँग बसेर एकसाथ खाने चलन छ। माघे सङ्क्रान्तिमा घिउ, चाकु, सखरखण्ड, रातो मूलालगायत परिकार खाने चलन रहेको टोखा परम्परागत चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठको भनाइ छ।

उनका अनुसार प्रत्यक्ष/अप्रत्यक्ष गरेर करिब तीन हजार बढीले चाकु उद्योगमा रोजगारी पाएका छन्। यहाँ मङ्सिर र पुस दुई महिनामा चाकु व्यवसायी सबैभन्दा बढी व्यस्त हुन्छन्।

पहिले हातले फिटेर बनाउने गरिएको सेतो तिलको लड्डु, कालो तिलको लड्डु, झोल चाकु, स्पेसल चाकु, पुष्टकारी, बदाम लड्डु, मुरमुरे लड्डु अहिले प्रविधिको विकाससँगै मेसिनले पनि बनाउन थालिएको छ।

हेर्नुहोस् थप तस्बिर :