नियात्रा
पानी रोकिएपछि थोरै घाम लाग्यो। मैदानबाट तल कतै इन्द्रेणी परेको देखियो। आहा! चिया खाँदै इन्द्रेणी हेर्नुको आनन्दै अलग। डाँडामाथि यति सुन्दर र फराकिलो मैदान!
यकिन मिति सम्झना छैन, तर मैले स्याङ्जालाई पहिलोपटक पोखराबाट बुटवल यात्राका क्रममा देखेको हुँ। त्यसपछि म कतिपटक स्याङ्जा पुगेँ, स्वयंलाई थाहा छैन।
कालान्तरमा कस्तो संयोग पर्यो भने, यो जिल्लासँग पारिवारिक सम्बन्ध नै गाँसिन पुग्यो। मेरी ठूली छोरी कृतिकाको घर वालिङनजिकैको डौँवा हो। अतिप्रिय अनुज नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल पनि स्याङ्जाकै हुन्।
स्याङ्जा धेरैपटक गए पनि डौँवा भने पुगेको थिइन। इच्छा थियो, तर मेसो मिलिरहेको थिएन। मेसो मिलाइदिने काम गरे पत्रकार अनुज श्रीकृष्ण सिग्देलले। उनी नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्ष भएका बखत २०–२४ जेठ २०७९ सम्म स्वरेकमा पत्रकारिता प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमको पछिल्ला दुई दिनको सहजीकरण र समापनको प्रमुख आतिथ्यका लागि सिग्देलले निम्तो गरेका थिए।
सिग्देलले मलाई स्वरेक जाने बाटोमा डौँवा पनि पर्ने बताए। म पनि फुर्सदमै थिएँ। २२ जेठमा काठमाडौँबाट पोखरासम्म हवाईजहाजमा र पोखराबाट ट्याक्सीमार्फत वालिङ पुगे। करिब ३ बजेको हुँदो हो, वालिङमा पत्रकार प्रदीप कोइराला (हाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष)ले कुरिरहेका रहेछन्।
वालिङ पहिले पनि पुगेको भए पनि अगाडिको यात्रा भने मेरा लागि नयाँ थियो। भिरकोट नगरपालिका-५ मा पर्ने स्वरेक मैदान पछिल्लो समयमा पर्यटकीय केन्द्रका रूपमा विकसित भइरहेको छ। यहाँ केही वर्षअघि मात्रै प्रथम नेपाल एक्युरेसी पाराग्लाइडिङ प्रतियोगिता भएको थियो। स्वरेक मैदानबाट उड्ने पाराग्लाइडिङ वालिङ-११ डौँवाफाँटस्थित आँधीखोलाको किनारमा अवतरण गर्छ। भिरकोट नगरपालिका-१ बयरघारीबाट नौ किलोमिटर र वालिङ बजारदेखि १०/११ किलोमिटरको कच्ची सडक हुँदै यो ठाउँ पुग्न सकिन्छ। स्वरेकमा पाराग्लाइडिङ स्कुल स्थापना भएको छ। यसका सञ्चालक सानुबाबु सुनुवारका अनुसार यो स्कुल दक्षिण एसियाकै पहिलो हो। प्रदीपको नेतृत्वमा हामीले वालिङतर्फको बाटो रोजेका थियौँ।

शाहवंशको कुलदेवताको रूपमा स्थापित स्याङ्जाको कालीगण्डकी गाउँपालिका-३ मा अवस्थित आलमदेवी मन्दिर
प्रदीपले भनेका थिए, ‘दाइ, नजिकै त बयरघारीको बाटो हो, तर छोरीको घर देखाउँदै लानुपर्यो भनेर यो बाटो ल्याएको है। फर्कंदा अर्को बाटो आऔँला।’
म निकै उत्साहित थिएँ। मैले पहाड नदेखेको होइन, पहाडमा नबसेको पनि होइन। ती सबै भोगाइ अस्थायी थिए/हुन्। तर, छोरीकै स्थायी घर पहाडमा होला भनेर हामीले सोचेका थिएनौँ। सोच्दै नसोचेको हुनुलाई के भनेर चित्त बुझाउने? पत्याउन अहिले पनि कहिलेकाहीँ द्विविधा हुन्छ।
प्रदीपले आँधीखोलाबारे प्रचलित कथा पनि मलाई सुनाएका थिए। खोला तरेपछिको पहिलो बस्ती सुर्कौदी दरबार अनि अमले र त्यसपछि डौँवा, छतिवन आउँछ। आँधीखोला किनारमा अवस्थित यो गाउँ कृषिका दृष्टिले महत्त्वपूर्ण मानिन्छ।
पहाडी ग्रामीण बस्ती, थोरै घर, घरभन्दा थोरै मानिस। प्रदीप मलाई भन्दै थिए– बस्ती सानो छ, तर महत्त्वपूर्ण छ। निजामती प्रशासनमा यहाँका पौडेलहरूको विशिष्ट उपस्थिति रहँदै आएको छ। ज्वाईं पनि पौडेल नै हुन् नि? मैले हो भन्दै टाउको हल्लाएँ। प्रदीपले बाटोबाट अलि परको घर संकेत गर्दै भने– दाइ, तपाईंकी छोरीको घर उ त्यो घरको मुन्तिर हो, यहाँबाट ठ्याक्कै देखिन्न। जाने हो त हेर्न? मैले छोरीको परिवारका कोही पनि त्यहाँ नभएको बताउँदै कुनै अर्कोपटक आउने बताए।
डौँवापछि फेदी, गाजने, ज्वानखोला, टापु हुँदै स्वरेक मैदान आइपुगेका थियौँ। स्वरेक पुग्दाको अनुभवको बयान शब्दबाट सम्भव छैन। पानी पर्ने र रोकिने भइरहेको थियो। स्वरेक मैदान आइपुग्दा साँझको साढे ५ बजेको थियो। मौसममा कति धेरै परिवर्तन? तल वालिङमा गर्मीजस्तो लागेको थियो। यहाँ आइपुग्दा त थोरै चिसोको पो अनुभव भयो।
पानी रोकिएपछि थोरै घाम लाग्यो। आहा! मैदानबाट तल कतै इन्द्रेणी परेको देखियो। चिया खाँदै तल इन्द्रेणी हेर्नुको आनन्दै अलग। डाँडामाथि यति सुन्दर र फराकिलो मैदान! यसको अनुभव त यहाँ पुगेर मात्र गर्न सकिन्छ। स्वरेकमा अग्रज पत्रकार ओम शर्मा, कृष्ण, भवानी, राससका पत्रकार तोलाकान्त बगालेलगायत साथीले स्वागत गरेका थिए। चिया खाँदै सञ्चालक सानुबाबु सुनुवारसँग पाराग्लाइडिङबारे थप जानकारी लिएँ। माथि पनि उल्लेख गरिसकेको छु, पछिल्लो समयमा यस स्थानले पाराग्लाइडिङका सन्दर्भमा विश्वमै फरक र विशिष्ट परिचय स्थापित गरेको छ। मैले यो सत्प्रयत्नका लागि सुनुवारलाई बधाई दिएँ।
२४ जेठमा टापु, नेटा, सुन्दरबजार, बयरघारी बजारबाट आँधीखोला पुल तर्दै झन्डै नौ किलोमिटरको दूरी तय गरेर हामी (म, प्रदीप र श्रीकृष्ण) वालिङ आइपुग्यौँ। एकैछिन मेरा कान्छा सम्धीसँगको भेटघाटमा रोकिएँ। प्रदीप आफैँ गाडी चलाइरहेका थिए। हामी त्यही साँझ पोखरा फर्कियौँ।
पुतलीबजार, वालिङ र गल्याङ
वालिङको त्यही नै मेरो एक्लो अनुभव भने होइन। श्रीकृष्ण र प्रदीपले एकताका सत्यवाणी साप्ताहिक सञ्चालन गरेका थिए। २०६७ सालमा त्यस पत्रिकाको विमोचनका लागि पत्रकार महासंघको केन्द्रीय अध्यक्षको हैसियतले म वालिङ आएको थिएँ। मैले सम्झने गरी वालिङको पहिलो बसाइ त्यही नै थियो। आँधीखोलाको स्पर्श पनि पहिलोपटक मैले त्यहीबेला गरेको हुँ।

वालिङ बजारनजिक भएर बग्ने आँधीखोला
२०७१ सालमा वालिङ र पुतलीबजार नगरपालिकासँगको सहकार्यमा फ्रिडम फोरमले सूचनाको हकसम्बन्धी तालिम गरेको थियो। मैले र अग्रज तारानाथ दाहालले तालिमको सहजीकरण गरेका थियौँ। अग्रज पत्रकार ओम शर्माले समन्वय गरेको उक्त कार्यक्रममा नगरका प्रमुख कार्यकारी अधिकृत सुरथ पोखरेलको सहयोग बिर्सिनसक्नुको थियो। पोखरेलले वालिङसँगै गल्याङ भ्रमणको समेत चाँजो मिलाइदिएका थिए। यात्रामा राम्दीमा कालीगण्डकी नदी र पुलको अवलोकनको अवसर पाएको थिएँ। यहाँबाट नै कालीगण्डकी पाल्पाको रामपुरतिर मोडिएर घुमेर तनहुँ हुँदै देवघाटतर्फ जान्छिन्।

गल्याङनजिक कालीगण्डकी नदीमाथि निर्मित पुल। यहाँ अहिले नयाँ पुल निर्माणाधीन छ।
त्यसैबेला मैले र अग्रज दाहालले पुतलीबजारनजिकको सतौँ चण्डीथानको यात्रा पनि गरेका थियौँ। ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय सम्भावना बोकेको यो ठाउँ बाइसे, चौबीसे राज्यकालमा पश्चिमका चौबीसे राज्यमध्येकै सबैभन्दा शक्तिशाली राज्यका रूपमा रहेको तोलाकान्त बगालेले जानकारी दिएका थिए। बगालेका अनुसार पृथ्वीनारायण शाहका सेनापति केहरसिंह बस्नेत मारिएको स्थान यही थियो। यस स्थलमा हामीले पुरानो दरबारको भग्नावशेष देखेका थियौँ।
सिरुबारी र सिर्सेकोटको ‘होमस्टे’
स्याङ्जाको चर्चा यतिले पूरा हुँदैन। ‘होमस्टे’ अनुभव सँगालिएन भने भ्रमण नै अपुरो मानिन्छ। सिरुबारीको होमस्टेलाई दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टे मानिन्छ। सिरुबारी र सिर्सेकोटको होमस्टेको अनुभव मलाई छ। गुरुङ समुदाय बाहुल्य दुवै ठाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको स्थल बनेको छ।
आँधीखोला गाउँपालिका-१ मा रहेको सिरुबारी गाउँ विदेशमा समेत प्रख्यात छ। सिद्धार्थ राजमार्गको नाउँडाँडा, सेतीखोला, बाडखोला र हेलु गरी चार ठाउँको बाटो हुँदै सिरुबारी जान सकिन्छ। यस ठाउँमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गरिने स्वागत तथा व्यवस्थापन पक्ष राम्रो रहेको मेरो अनुभव छ। २०७२ सालतिर मैले यहाँ एक रात बिताउने अवसर पाएको थिएँ।
नेपाल प्रेस युनियनले २०६८ माघ २९ र फागुन १ मा आयोजना गरेको केन्द्रीय समितिको बैठकका सन्दर्भमा दुई रात सिर्सेकोटको होमस्टेमा बसेको पनि सम्झन्छु। स्याङ्जावासी पत्रकार लम्साल त्यसवेला युनियनका महासचिव थिए। यहाँको संस्कृति र पर्यटन प्रवर्द्धनमा बल पुर्याउने उद्देश्यले उनले बैठकको तारतम्य मिलाएका थिए।
स्थानीय बायाँटारीबाट थोरै अगाडिको आँधीखोला तरेपछि ६ किलोमिटरको दूरीमा सिर्सेकोट पुगिन्छ। यो ठाउँ स्याङ्जाको पश्चिम-दक्षिण क्षेत्रको पहाडी भूभागमा अवस्थित छ। श्रीकृष्णका अनुसार यी दुवै ठाउँका बासिन्दाले होमस्टेमार्फत जातीय पहिचान र संस्कृति जोगाउने एवं बजारीकरणको अनुकरणीय प्रयत्न गरेका छन्।
प्रशस्त पर्यटकीय गन्तव्य
कालीगण्डकी सभ्यताको महत्त्वपूर्ण अंश स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मी, आँधीमुहानमा कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजना छ। समग्र स्याङ्जाकै लागि यो परियोजना महत्त्वपूर्ण परिचय बनेको छ भन्दा गलत नठहर्ने लम्साल बताउँछन्। लम्सालका अनुसार मिर्मीमा कालीगण्डकी नदीलाई थुनेर सुरुङमार्फत बेलटारीमा लगेर १४४ मेगावाट विद्युत निकालिएको छ। ४८ मेगावाटका तीन वटा टर्बाइन सञ्चालनमा छन्।

स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधस्थल
राससकर्मी बगालेका अनुसार कालीगण्डकी नदी थुनेर बनेको जलाशयमा जलयात्रा (स्टिमर) सञ्चालन गरिएको छ। उनका अनुसार हाल यहाँ चार वटा स्टिमरबाट यात्रुलाई सेवा दिइँदै आएको छ। ठूलो इन्जिन जडान स्टिमरमा आँधीमुहानबाट ३० मिनेटमा सेतीवेणी शिला पुग्न सकिन्छ।
बगालेका अनुसार स्याङ्जा घुम्न दुईचार दिन पर्याप्त छैन। उनका अनुसार यहाँका धार्मिक तथा पर्यटकीय स्थलमा शाहवंशीय राजाहरूको कुलदेवी मानिने आलमदेवी, सेतीवेणीमा रहेको विराट् शिला, अन्धाअन्धी दहका साथै पञ्चासे लेक, गह्रौँसुर मन्दिर, छायाक्षेत्र (छाङ्छाङ्दी) मन्दिर, केलादीघाट राधाकृष्ण मन्दिर, साल्मेडाँडाको संग्रहालय, रामनदीधाम आदि महत्त्वपूर्ण छन्। जे होस्, उनले ममा स्याङ्जा थप घुम्ने भोक जगाइदिएका छन्। निश्चय नै म भोकाएको छु।