काठमाडौँ
००:००:००
२८ पुष २०८२, सोमबार

२८ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेस संस्थापन पक्ष र विशेष महाधिवेशन आयोजक दुवै महामन्त्रीबीच छलफल हुने भएको छ। कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता बालकृष्ण खाण र रमेश लेखकबीच सोमबार राति नै छलफल हुने भएको हो।

विशेष महाधिवेशन पक्षले चार सदस्यीय वार्ता टोली गठन गरेसँगै पहिलो चरणमा दुवै पक्षका नेताबीच संवाद हुने भएको नेताहरूले जानकारी दिए। विशेष महाधिवेशन आयोजक पक्षले गठन गरेको वार्ता टोलीका सदस्य गुरुराज घिमिरेले नेपालन्युजलाई भने‚ “राति नै पाँच नेताबीच संवाद हुनेछ‚ उक्त संवाद निष्कर्षमा नपुगेको खण्डमा वार्ता टोलीले मंगलबार बिहान ७ बजेबाट संस्थापन पक्षसँग वार्ता गर्नेछ।”

घिमिरेका अनुसार रातिको वार्ता सफल नभए वार्ता टोलीका सदस्य आफैं संवादमा जानेछन्। “राति के कस्तो खबर आउँछ, त्यसपछि हामी भोलि बिहानबाट वार्ता सुरु गर्छौं,” घिमिरेले भने‚ “वार्तामा जाने छौँ, सहमति नभएको खण्डमा विशेष महाधिवेशनको कार्यसूची अघि बढ्छ।”

विशेष महाधिवेशन आयोजकको तर्फबाट गठित वार्ता समितिले मंगलबार बिहान आफैं संवादका लागि संस्थापन पक्षलाई सम्पर्क गर्ने घिमिरेले बताए।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार कसको नेतृत्व स्वीकार गर्ने हो संस्थापन पक्ष तयार भए त्यहीअनुसार बन्दसत्र अघि बढ्नेछ। विशेष महाधिवेशन पक्षले बिहान ९ बजेबाट बन्द सत्र प्रारम्भ गर्ने तयारी गरेको छ।

“वार्ता टोलीले विशेष महाधिवेशनको अपनत्व न र सांगठनिक रूपमा नेतृत्व लिन संस्थापन पक्षलाई आह्वान गर्छ‚” शिवाकोटीले भने‚ “वार्ता सकारात्मक ढंगले अघि बढे पनि नबढे पनि विशेष महाधिवेशनको प्रक्रिया अघि बढ्नेछ।”
वार्तामा सहमति भए दुवै पक्ष एकीकृत भएर जान सक्ने उनले बताए। २७ पुसदेखि महामन्त्रीद्वयको आह्वानमा भृकुटीमण्डपमा कांग्रेसको दोस्रो विशेष महाधिवेशन जारी छ।

विशेष महाधिवेशनको दोस्रो दिन २८ पुसमा कार्यविधि पारित भएको छ। कार्यविधिमा वर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वलाई बिदा गरी नयाँ कार्यसमिति चयन गर्ने उल्लेख छ। “हलले कार्यविधि पारित गरेको अवस्थामा नेतृत्व लचक भएर वार्ता गर्न तयार भएपछि विशेष महाधिवेशन आयोजकको तर्फबाट वार्ता टोली गठन गरिएको छ‚” शिवाकोटीले भने।

कांग्रेसले मंगलबार नै केन्द्रीय कार्यसमितिको बैठक बिहान ११ बजे सानेपास्थित मुख्यालयमा बोलाएको छ। विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि उपस्थित भएपछि सभापति देउवा, कार्यवाहक सभापति खड्कासहित संस्थापन पक्षका नेताहरू छलफलमा छन्। वरिष्ठ नेता शेखर कोइरालाले समेत देउवासँग सोमबार छलफल गरेका थिए। उनले विशेष महाधिवेशनबाट पार्टी विभाजन हुन सक्ने भन्दै त्यसलाई रोक्न अनुरोध गरेका थिए। केन्द्रीय सदस्य रामहरि खतिवडाका अनुसार पार्टीमा उत्पन्न संकटबारे सचेत गराउँदै देउवालाई विशेष पहल थाल्न अनुरोध गरिएको थियो।

कांग्रेसका ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित असोज २९ मा महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाउन नेतृत्वलाई दबाब दिएका थिए। तर, नेतृत्वले २८ पुसमा नियमित महाधिवेशन आह्वान गर्‍यो। उक्त महाधिवेशन गर्न सम्भव नरहेको भन्दै नेतृत्वले २७ वैशाख २०८३ मा नियमित महाधिवेशन बोलाएको थियो। यसपछि २१ फागुनको प्रतिनिधिसभाअघि नै नेतृत्व परिवर्तन गरेर जानुपर्ने स्पष्ट सन्देश दिँदै महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन बोलाएका थिए।