तेहरान। इरानमा दुई सातादेखि जारी देशव्यापी प्रदर्शनका क्रममा सुरक्षाकर्मीसहित करिब दुई हजार जनाको ज्यान गुमेको छ। इरानी अधिकारीहरूले रोयटर्ससँग कुरा गर्दै व्यापक दमनका क्रममा भएको उच्च मृत्युसंख्या पहिलोपटक आधिकारिक रूपमा स्वीकारेका हुन्।
अधिकारीका अनुसार प्रदर्शनकारी र सुरक्षाकर्मी दुवैतर्फ मृत्यु भएको छ। यसका पछाडि ‘आतङ्ककारी’ समूह जिम्मेवार रहेको पनि दाबी गरिएको छ। तर कति प्रदर्शनकारी र कति सुरक्षाकर्मी मारिएका हुन् भने खुलाइएको छैन।
गम्भीर आर्थिक संकटबाट चर्किएको असन्तोषका कारण सुरु भएको आन्दोलन पछिल्ला कम्तीमा तीन वर्षयताकै इरानी सरकारका लागि सबैभन्दा ठुलो आन्तरिक चुनौती बनेको छ। गत वर्ष इजरायल र अमेरिकाका आक्रमणपछि अन्तर्राष्ट्रिय दबाब बढिरहेका बेला इरानमा यो अशान्ति थपिएको हो।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि सत्तामा रहेका धार्मिक नेताहरूले प्रदर्शनप्रति दोहोरो नीति अपनाएको देखिन्छ। आर्थिक समस्यामाथि उठेका शान्तिपूर्ण मागलाई ‘वैध’ भन्दै स्वीकार गरे पनि सुरक्षाकर्मीमार्फत कडा दमन जारी राखिएको छ। सरकारका अनुसार अमेरिका र इजरायलले अशान्ति भड्काएको आरोप लगाइएको छ र ‘आतङ्ककारी’ ले प्रदर्शन हाइज्याक गरेको दाबी गरिएको छ।
यसअघि एक मानवअधिकार समूहले सयौँ मानिसको मृत्यु भएको पहिचान गरेको र हजारौँलाई पक्राउ गरिएको जनाएको थियो। इरानमा पछिल्ला दिनहरूमा इन्टरनेट बन्दसहितका सञ्चार प्रतिबन्धका कारण सूचनाको प्रवाह प्रभावित भएको छ।
गत साता रातिको समयमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएका झडपका दृश्यहरू सामाजिक सञ्जालमा देखिएका छन्। रोयटर्सले प्रमाणित गरेका केही भिडियोमा गोली चलाइएको‚ सवारीसाधन र भवनमा आगजनी भएको जस्ता हिंसात्मक दृश्य देखिन्छन्।