काठमाडौं। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा देखिएका बहस र धारणा प्रती गम्भीर चासो व्यक्त गरेका छन्। उनले कांग्रेसका केही नेताहरूका अभिव्यक्ति तथा महाधिवेशनमा पेश दस्ताबेजहरूमा भदौ २४ गते भएको हिंसा र विध्वंशप्रति देखिएको उदासीनताले चिन्ता बढाएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै ज्ञवालीले लोकतान्त्रिक आन्दोलनका सहयात्रीका रूपमा नेपाली कांग्रेस अझ जिम्मेवार, एकताबद्ध र सुदृढ बन्नुपर्ने अपेक्षा व्यक्त गरेका छन्। मतभेदलाई परिपक्व ढङ्गले समाधान गर्नु अहिलेको आवश्यकता भएको उनको भनाइ छ।
ज्ञवालीले समाजमा असन्तुष्टि हुनु स्वाभाविक भएको स्वीकार गरे पनि त्यसैको आडमा हिंसा र अराजकतालाई वैध ठहर्याउने प्रयास गम्भीर खतरा भएको चेतावनी दिएका छन्। शान्तिपूर्ण आन्दोलनलाई योजनाबद्ध रूपमा हिंसात्मक बनाइ ‘जेनजी आन्दोलन’को नाममा त्यसलाई गर्नु गलत प्रवृत्ति भएको उनले उल्लेख गरे।
उनले सरकारप्रति देखिएको असन्तुष्टिका कारणहरू पनि औँल्याएका छन्। ऊर्जा व्यापारमा भएको भनिएको अनियमितता, घाइतेहरूको उपचारमा देखिएको बेवास्ता, गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूलाई संरक्षण, तथा मन्त्रीहरूका विवादास्पद निर्णय र अभिव्यक्तिले जनआक्रोश बढाएको उनको टिप्पणी छ।
तर, यी असन्तुष्टिहरूको बहानामा राज्यका संरचनामाथि आक्रमण गर्नु कदापि उचित नहुने भन्दै उनले प्रश्न गरेका छन्– “के यसै कारण सिंहदरबार जलाउनु जायज हुन्छ ?”
कांग्रेस महामन्त्री गगन थापातर्फ संकेत गर्दै ज्ञवालीले नेतृत्वको आलोचनाको नाममा संविधान, लोकतन्त्र र राष्ट्रियतामाथि नै प्रहार गर्ने प्रवृत्तिले मुलुकलाई कहाँ पुर्याउँछ ? भनी प्रश्न गरेका छन्।
उनका अनुसार भदौ २३ गते बिहानसम्म प्रदर्शन शान्तिपूर्ण रहे पनि दिउँसोपछि त्यो न आयोजकको नियन्त्रणमा रह्यो, न शान्त नै। आन्दोलनमा घुसपैठ गरी युवाहरूलाई मानवढाल बनाउँदै हिंसामा धकेल्नेहरूलाई आन्दोलनकारीकै रूपमा स्वीकार गर्नु अपराधलाई वैधता दिनु सरह हुने उनले बताएका छन्।