अन्तर्वार्ता
विश्व बैंकको तथ्यांकमा वायु प्रदूषणले नेपालको कुल गार्हस्थ्य उत्पादनमा १० प्रतिशतजति क्षति गराइरहेको छ। वायु प्रदूषणले स्वास्थ्योपचारमा पनि निकै ठूलो आर्थिक भार थपेको छ। थुप्रै परिवार उजाडिएका छन्।
वायु प्रदूषणले जनस्वास्थ्यमा परेको असर, बिखालु हावाबाट जोगिने उपाय, यसमा सरकार, सरोकारवाला र नागरिक समाजको भूमिकाबारे संक्रामक रोग विशेषज्ञ एवं अभियन्ता डा.अनूप सुवेदीसँग नेपालन्युजकी विद्या राईले गरेको कुराकानीको सम्पादित अंश :
विभिन्न प्रतिवेदनहरूले नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४० हजारभन्दा बढीको मृत्यु हुने बताएका छन्। वायु प्रदूषणलाई मृत्यु र अपांगताको मुख्य कारक मानेका छन्। जनस्वास्थ्यको यो महासंकट सम्बोधन गर्न सरकार कहाँनेर चुकिरहेको छ?
पहिले आँकडा हेरौँ, कोभिड महामारीमा देशभर १२ हजार जनाको मृत्यु भएको सरकारी तथ्यांक छ। वायु प्रदूषणका कारण भने एकै वर्षमा ४० हजारभन्दा बढीको मृत्यु भइरहेको छ।
हामी वर्षकै ६ महिनाजति विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा एकदम खराबस्तरको हावामा श्वास फेर्न बाध्य छौँ। ज्येष्ठ नागरिकलाई मात्रै होइन, बच्चाहरूमा समेत दम र निमोनिया बढ्दै गएको छ। धुलोधुवाँले मानसिक स्वास्थ्य समस्या बढेको अध्ययनहरूले देखाएका छन्।
वायु प्रदूषणले निम्तिएका रोगहरूकै कारण अस्पतालमा भर्ना हुने दर बढिरहेको छ, हिउँदमा यो संख्या झन् धेरै हुन्छ। स्वास्थ्यमा खर्च बढिरहेको छ। स्वास्थ्य बिमाको पहुँच धेरैमा छैन, भएकाको हकमा पनि यो पर्याप्त छैन। वायु प्रदूषणले मात्रै नेपालीको आयु साढे तीन वर्षभन्दा बढी घटाएको छ। काठमाडौँ उपत्यकामा करिब साढे चार वर्ष अनि तराईका केही जिल्लामा त सातआठ वर्षसम्म आयु घटेको छ। तर, न सरकारलाई पोलेको छ, न विपक्षी दलहरूलाई नै दुखेको छ।
वायु प्रदूषणका असर बहुआयामिक भएकाले नियन्त्रण तथा न्यूनीकरणमा राष्ट्रिय अभियान जरुरी छ भनिएको हो। जस्तै, इँटाभट्टा, कलकारखाना, उद्योगहरू, सवारीसाधनका धुवाँधुलो, कृषि अवशेष खुला रूपमा बाल्ने, वन डढेलो, निर्माण कार्यबाट निस्कने धुवाँधुलो, तराई-मधेसतिर सीमापारिबाट आउने दूषित हावा आदि थुप्रै कारण छन्। विडम्बना, यस्तो राष्ट्रिय अभियानका लागि सरकार, कर्मचारी र सरोकारवालामा इच्छाशक्ति नै देखिन्न। प्रदूषण घटाउन जुन किसिमको व्यवस्थापकीय कुशलता, साधनस्रोत परिचालन गर्न सक्ने जनशक्ति र अभियानमा प्रभाव राख्न सक्ने नेतृत्व चाहिन्छ, त्यो नै भएन। केन्द्रदेखि प्रदेश र स्थानीय सरकारसम्म अवस्था उस्तै छ। नागरिकले पनि सावधानी अपनाइरहेका छैनन्।

वायु प्रदूषण नियन्त्रणमा जोडिने मन्त्रालयहरूबीच पनि समन्वय देखिँदैन। सहरबीचमा सडक ताछेर वर्षौंसम्म खुलै छाडिदिँदा त्यहाँबाट फैलिएको धुवाँधुलोले कति सास्ती दिइरहेको हुन्छ, सरकारलाई वास्तै हुँदैन। राजनीतिक दल, नेता र सांसदहरू पनि आवाज उठाउँदैनन्।
आँखाले नदेखिने तर हावामा तैरिरहने सूक्ष्म दूषित कण पीएम २.५ ज्यादै खतरनाक मानिएको छ। यसले मानव शरीरलाई कसरी असर गर्छ?
सडकबाट उठेको धुलोधुवाँका ठूला कण हुन्छन्, तिनलाई हामी पीएम १० भन्छौँ। यस्ता कणहरूलाई घाँटीतिरै रोक्ने वा फोक्सोमा जान नदिने क्षमता हाम्रो शरीरमा हुन्छ। फोक्सोसम्मै पुगिहाले पनि हावा छान्ने फोकाहरूले छानेर खकारको रूपमा शरीर बाहिर पठाउँछन् र रक्तसञ्चार प्रणालीमा प्रवेश गर्न दिँदैनन्। यस्तो कणले खोकी, घाँटी चिलाउने, दुख्ने, रुघाखोकी, एलर्जी, पिनास र कसै कसैमा दमको समस्या पनि हुन सक्छ।
तर, पीएम २.५ सोझै रक्तसञ्चार प्रणालीमा छिर्छ। त्यसबाट शरीरको जुनसुकै अंगमा फैलिन सक्छ। यसले रक्तनलीहरू साँघुरो भएर हृदयाघात हुने, मिर्गौला खराब हुने, मस्तिष्कघात, पक्षाघात, क्यान्सर, आँखामा समस्या आउनेजस्ता अनेक जोखिम निम्त्याउँछ। अहिले कसैलाई २० वर्षकै उमेरमा क्यान्सर भएको छ। २५/३० वर्षमै हृदयाघात र पक्षाघात भएको छ। यसका प्रमुखमध्येको एउटा कारण वायु प्रदूषण नै हो।
वायु प्रदूषणले कुन वर्ग र उमेर समूहका मानिसलाई बढी प्रभाव पारिरहेको छ? गर्भवतीका लागि यो कत्तिको घातक छ?
वायु प्रदूषणको सबैभन्दा बढी जोखिममा ज्येष्ठ नागरिक, बालबालिका र गर्भवती हुने गर्छन्। पीएम २.५ आमाबाट गर्भमा रहेको रक्तसञ्चार प्रणालीमा प्रवेश गरे भ्रूणसमेत नष्ट हुन सक्छ। समयअगावै र कम तौलको शिशु जन्मिन सक्छ। यस्ता शिशुको मानसिक र शारीरिक वृद्धिविकास राम्ररी हुन नसक्दा उसले जीवनभर स्वास्थ्य समस्याहरू झेलिरहनुपर्ने हुन सक्छ।
वायु प्रदूषणमा आधारित रोगले परिवार र राज्यलाई पार्ने आर्थिक क्षति चाहिँ कति छ?
विश्व बैंकको तथ्यांकमा वायु प्रदूषणले नेपालको कुल गार्हस्थ्य उत्पादनमा १० प्रतिशतजति क्षति गराइरहेको छ। तर, यसबारे थप अध्ययन हुनै बाँकी छ। वायु प्रदूषणले स्वास्थ्योपचारमा भने निकै ठूलो आर्थिक भार थपेको छ। थुप्रै परिवार उजाडिएका छन्। नेपालीको औसत आयु ७१ वर्षभन्दा बढी छ, तर परिवारमा आय आर्जन गर्ने मुख्य व्यक्ति वायु प्रदूषणकै कारण ४० वर्षकै उमेरमा अशक्त वा मृत्यु हुँदा परिवार नै असहाय हुन पुगेको छ। वायु प्रदूषण काठमाडौँ उपत्यका, तराई र सहरी क्षेत्रमा बढी हुने गरेकाले ती क्षेत्रमा जनजीवन बढी प्रभावित छ।
हिउँदमा चिसो हावा जमिनको सतहनजिकै अडिने हुनाले प्रदूषण र भाइरस दुवैको घनत्व बढ्छ भनिन्छ। काठमाडौँको भौगोलिक स्वरूपका कारण हप्तौँसम्म दूषित हावाले सहर ढाकिने गरेको प्रशस्त अनुभव छ। यस्तो ठाउँमा बस्नु कत्तिको जोखिमपूर्ण छ?
वायु प्रदूषणकै कारण एक वर्षमै ४० हजारभन्दा बढीको मृत्युको तथ्यांकले पनि यस देश बस्न उपयुक्त छैन भन्ने बताइरहेको छैन र? विश्व स्वास्थ्य संगठनको आँकडाले पनि ‘काठमाडौँ बस्न अयोग्य’ भनेकै छ। त्यही भएरै वायु प्रदूषण ठूलो चिन्ताको विषय बनेको हो। खर्च गर्न सक्नेले घरमा हावा शुद्धीकरण गर्ने प्रविधि (एयर प्युरिफायर) जोडेर सुरक्षित बसेका होलान्, भारतको नयाँ दिल्लीमा त्यही गर्छन्। काठमाडौँमै पनि ठूला गैरसरकारी संस्थाले एयर प्युरिफायर राखेका छन्।
देशभित्र हामीले खेपिरहेको वायु प्रदूषणमा छिमेकी देशको के-कस्तो भूमिका छ? यसलाई सम्बोधन गर्न सरकारले के गर्नुपर्छ? के गरिरहेको छ?
काठमाडौँको वायुमण्डलको दूषित हावामा २५ प्रतिशतको आधा सीमापारिबाट आएको छ। नेपालको दक्षिणी तराईमा दुई तिहाइ वायु प्रदूषण सीमापारिबाटै आएको दूषित हावाबाट हुन्छ। पाकिस्तान, भारतको उत्तरी भाग, नेपालको दक्षिण भाग र बाङ्लादेशको वायुमण्डलमा एउटै ‘एयरसेड’ फैलिएको छ, अर्थात् हावाको ढकन एउटै छ। चारै देशका वायु प्रदूषणका तत्त्वहरू एकै ठाउँ थुप्रिएर एउटा छाता जसरी बाङ्लादेशदेखि पाकिस्तानसम्म छोपेका छन्।

यो वास्तविकता मनन गरेर वायु प्रदूषणलाई चारै देशको साझा चुनौतीका रूपमा स्विकारेर, अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघका एजेन्सीको सहयोग लिएर नियन्त्रण तथा न्यूनीकरण गर्न सबैले सहकार्य र समन्वय गर्नुपर्छ। त्यो भनेको ठूलो जिम्मेवारीबोध गर्ने र अरू देशलाई सहकार्यको नैतिक दबाब दिने अवसर पनि हो। त्यसका लागि हाम्रो सरकारले कूटनीतिक क्षमतामा प्रशस्त सुधार गर्नुपर्छ। विडम्बना, हामी आफ्नै कारणले बढेको काठमाडौँ उपत्यकाको प्रदूषण घटाउने काममा समेत लागेका छैनौँ।
अहिले जलवायु परिवर्तनको असर पनि बढ्दो छ। विश्वमा बढ्दो तापमान र प्रदूषणका कारण बसाइँसराइ भइरहेकोबारे पनि विभिन्न प्रतिवेदनमा पढ्न पाइन्छ। तपाईं यसलाई कसरी लिनुहुन्छ?
वायु प्रदूषणबाट बच्न बसाइँसराइ प्रभावकारी उपाय हो जस्तो मलाई लाग्दैन। आफ्ना कारणले प्रदूषण निम्त्याउनु, नियन्त्रणमा नलागेर बसाइँ सरेर अन्यत्र भाग्नु समाधान होइन। सहरबाट मान्छे सर्नुभन्दा सजिलो र सस्तो त प्रदूषणको स्रोतमा नियन्त्रण गर्नु हुन्छ नि होइन र? नागरिक गैरजिम्मेवार बन्न मिल्दैन। स्वास्थ्य संकट र चुनौती आउन नदिन जिम्मेवार भएर वातावरण जोगाउन लाग्नुपर्छ।
वायु प्रदूषणबाट तत्काल जोगिन सक्ने सावधानीका उपाय के के हुन सक्छन्?
पहिलो त वायु प्रदूषण धेरै भएका बेला घर बाहिर ननिस्किने र घरैमा बस्दा पनि झ्यालढोका लगाएर बस्ने नै हो। घर बाहिर निस्कनैपर्ने भए एन ९५ मास्क लगाउनुपर्छ। यसले पूरै नाकमुख ढाक्ने भएकाले पीएम २.५ प्रकृतिको दूषित हावा छिर्न पाउँदैन। सर्जिकल मास्क मात्रै लगाउँदा छेउछेउबाट दूषित हावा छिर्न सक्छ। सर्जिकल मास्क नै लगाउनुपरे नाकमुख छोपिनेगरी दुइटा खप्ट्याएर लगाउन सकिन्छ। कपडाले नाकमुख छोपेर पीएम २.५ छेक्न सकिँदैन।
घरायसी प्रदूषण पनि कम गर्नुपर्छ। सहरी क्षेत्रमा भए बिजुलीबाट चल्ने चुलो र गाउँघरमा भए सुधारिएको चुलोको प्रयोगमा जोड दिनुपर्छ। प्रदूषणले सबैभन्दा बढी असर पार्ने उमेरसमूहका ज्येष्ठ नागरिक र ससाना बालबालिकालाई धुलोधुवाँबाट जोगाउन घरैमा सुरक्षित बस्ने माहोल सिर्जना गर्नुपर्छ। घरवरिपरि फोहोर पदार्थ बाल्नु भएन।
वायु प्रदूषण नियन्त्रणका लागि दीर्घकालीन समाधानमा सरोकारवाला र सरकारको भूमिका के हुनुपर्छ?
मुख्य चाहिँ धुवाँधुलो उत्पादन गर्ने प्रदूषणका स्रोतहरू कम गर्नुपर्छ। इँटाभट्टा, कलकारखाना र उद्योगहरूमा कम प्रदूषण हुने खालका आधुनिक र वातावरणमैत्री प्रविधि जोडेर सञ्चालन गर्नुपर्छ। इन्धनबाट चल्ने उद्योगमा स्थानीय वनजंगलमा पाइने पातपतिंगरजस्ता कच्चापदार्थबाट बन्ने ब्रिकेट बनाएर प्रयोग गर्नुपर्छ। यसले कोइलाभन्दा कम प्रदूषण गराउँछ। मानवीय कारणले लाग्ने डढेलो रोक्न जनचेतना जगाउनुपर्छ। यसमा नागरिक सचेत हुनुपर्छ।
काठमाडौँको सन्दर्भमा सवारीसाधनहरूको प्रभावकारी प्रदूषण जाँच नियमित गर्नुपर्छ। मापदण्ड विपरीतकालाई कारबाही गर्नुपर्छ। सवारीसाधनले धुवाँ फाल्दै सडकमा कुद्न नपाउने नियम कार्यान्वयन गरिनुपर्छ। सरकारले नागरिकले साना गाडी र मोटरसाइकल/स्कुटर चलाउन नपरोस् भन्ने वातावरण निर्माण गर्नुपर्छ। यसका लागि सरकारहरूले विद्युतीय सार्वजनिक सवारीसाधनको पहुँच बढाउनुपर्छ। साइकलमैत्री सुरक्षित सडक बनाउनुपर्छ। डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई हटाउनैपर्छ।
वायु प्रदूषण नियन्त्रण भन्नेबित्तिकै पर्याप्त स्रोतसाधन नभएको भन्दै सरकार पन्छिने गरेको छ। यस्तो अवस्थामा सीमित स्रोतसाधनबाट पनि केकस्ता काम गर्न सकिएला?
फेरि पनि भन्छु, सुधारका काम इच्छाशक्तिमा भर पर्छ। स्रोतसाधन भएर पनि सरकारले काम गरेको छैन भन्ने प्रशस्त उदाहरण छन्। जस्तो कि सरकारले वर्षौंदेखि प्रदूषण शुल्क उठाउँदै आएको छ। तर, यसरी उठाइएको अर्बौं रकम जुन कामका लागि उठाइएको हो, त्यसमा खर्च नगरिएको समाचार बर्सेनि आउँछन्। केही वर्षयता हरित कर पनि उठाइँदै आएको छ।

जनशक्तिको अभाव छ भने लोकसेवा आयोगमार्फत दक्ष जनशक्ति भर्ना गर्नुपर्यो। खटाउनुपर्यो। वायु प्रदूषणले यत्रा मान्छे अकालमा मरिरहेका छन्, नागरिक दूषित हावामा उकुसमुकुस भएर बाँचिरहेका छन्। यस्तो अवस्थामा सरकारलाई स्रोत छैन, जनशक्ति छैन भन्ने बहानाबाजीमा माफी दिन सकिँदैन।
संविधानले स्वच्छ हावालाई मौलिक हक मानेको छ। तर, लामो समयदेखि मौलिक हक हनन हुँदासमेत नागरिक किन सचेत नभएका होलान्?
हामीले के बुझ्नुपर्छ भने, नेपालको वायु गुणस्तर राजनीतिक दबाबविना समाधान हुँदैन। यो बुझेर हामीले प्रदूषण नियन्त्रणका लागि बृहत् नागरिक अभियान थाल्न ढिला भइसकेको छ। हामीले नेताहरूलाई प्रदूषण घटाउने नीति तथा कार्ययोजनाबारे सोध्नुपर्छ। कुन दलको कार्ययोजनामा के छ भन्ने हेरेर मात्र नेता छान्नुपर्छ।
नागरिकस्तरबाट पर्याप्त दबाब नपुगेको साँचो हो। यसो हुनुमा सूचना र तथ्यांक अभावका साथै आर्थिक हैसियत मुख्य कारण हुन्। काठमाडौँमा दुईतीन ठाउँ काम नगरे जीविका चलाउन धौ धौ पर्ने जमात बढी छ, यो वर्ग अभियानमा जान भ्याउने सम्भावना कमै हुन्छ। नागरिक समाजलाई दलीयकरणले यसरी गाँजेको छ कि सामाजिक र वातावरणीय मुद्दामा आलोचनात्मक विचार राख्ने, दबाब दिने चिन्ता कमै देखिन्छ। यसो हुँदा आर्थिक रूपमा सक्षम र सार्वजनिक हितको अभियानमा लाग्न समय र स्रोत निकाल्न सक्नेहरूले नै सरकारलाई झकझक्याउनुपर्छ, निरन्तर दबाब र जवाफदेही बनाउनुपर्छ। सक्रिय र प्रभावकारी राजनीतिक अभियानले मात्र नेताहरूलाई काम गर्न बाध्य बनाउँछ। यसको विकल्प छैन।