राजनीति
विभाजनअघि पटक पटक देउवा समूह र विशेष महाधिवेशन पक्षबीच भएका वार्ता निरर्थक
काठमाडौँ। नेपाली कांग्रेस आधिकारिक रूपमै विभाजन भएको छ। विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय र सहमहामन्त्रीलाई कारबाही गर्ने केन्द्रीय समितिको निर्णयसँगै कांग्रेस विभाजन भएको हो।
नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि निष्कासन गरेको थियो। लगातार सहमतिका लागि लचकता प्रदर्शन गर्दागर्दै पनि नेताहरूलाई कारबाही गरिएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए।
“आज बजेको केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न आरोप लगाउँदै उहाँहरूलाई कारबाही गर्ने निर्णय गरेको छ। पार्टी फुटाउन संस्थापन पक्ष सक्रिय देखियो,” शिवाकोटीले भने। केन्द्रीय समितिको निर्णयविपरीत विशेष महाधिवेशन बोलाएकोलगायत आरोप लगाउँदै केन्द्रीय समितिले कारबाही गरेको थियो। विभाजनअघि पटक पटक संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच वार्ता भएको थियो। तर, ती कुनै वार्ता फलदायी भएनन्।
“वार्ताका लागि पटक पटक लचकता प्रदर्शन गर्ने र पार्टी एकताका लागि अन्तिमसम्म प्रतीक्षा गरिरहँदा पनि सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले कारबाही गरेपछि विशेष महाधिवेशन पक्षधर नयाँ कार्यसमिति गठन गर्ने बाध्यकारी अवस्थामा पुगेका छन्,” शिवाकोटीले भने।
देशभरिबाट आएका ६३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नुपर्ने दबाब दिएको दाबी विशेष महाधिवेशन पक्षधरको छ। वार्तालाई बेवास्ता गर्दै देउवा पक्षले असहिष्णु व्यवहार गरेपछि विशेष महाधिवेशन पक्षधरले नयाँ कार्यसमिति गठन गर्ने तयारी गरेको छ। काठमाडौँको भृकुटीमण्डपमा २७ पुसदेखि भइरहेको विशेष महाधिवेशनअन्तर्गत अहिले सर्वसम्मत नयाँ कार्यसमिति गठन गर्ने गृहकार्य भइरहेको छ।
विशेष पक्षले कार्यकारी भूमिकाबाट सभापति देउवा बाहिरिनुपर्ने, विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने, चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने, टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने, निर्वाचनकेन्द्रित हुनका लागि पाँचसदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने, उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने र विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीका रूपमा ग्रहण गर्नुपर्ने माग राखेका थिए।
नेपाली कांग्रेसको देउवा पक्षधरले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि निष्कासन गरेको छ।
नेपाली कांग्रेस विशेष महाधिवेशनले सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति भने मंगलबारै विघटन गरिसकेको थियो। १३४ सदस्यीय केन्द्रीय समितिको निर्वाचन प्रक्रिया सुरु भएसँगै पुरानो कार्यसमिति भंग भएको निर्वाचन कार्यालयले जनाएको थियो।
देउवा नेतृत्वमा २४ देखि २८ मंसिर २०७८ मा केन्द्रीय कार्यसमिति गठन भएको थियो। चौधौँ महाधिवेशनले देउवा नेतृत्वमा गठन गरेको मौजुदा कार्यसमितिको पदावधि समाप्त भइसकेकाले विघटन भएको केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीले बताए।
केसीका अनुसार अब नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गरिनेछ। शर्माले कांग्रेस विधान २०१७ बमोजिम विभिन्न मितिमा गठित केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समितिसमेत विघटन भइसकेका थिए।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार विशेष महाधिवेशनमा सहभागी प्रतिनिधि नै पार्टीका निर्णायक आधिकारिक व्यक्ति हुन्। “उनीहरूले मत परिवर्तन गरिसकेपछि विधानत: नेतृत्वले स्वीकार गर्नुपर्थ्यो। तर, प्रतिनिधिको निर्णयलाई कुल्चिएर नेतृत्व अघि बढेको छ,” उनले भने।