सुनसरी। सुनसरीको हुलाकी राजमार्ग खण्डमा ट्रक दुर्घटना हुँदा पाँच जना मजदुरको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
विराटनगरबाट टायल तथा मार्बल बोकेर सप्तरीको राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक भोक्राहा नरसिंह गाउँपालिका–८ सोनियाहीस्थित सडकको घुम्तीमा बिहीबार बिहान अनियन्त्रित भई पल्टिएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहान करिब साढे ५ बजे भएको दुर्घटनामा ट्रकको पछाडिको भागमा बसेका मजदुरहरूलाई लोड गरिएका टायल र मार्बलले थिचेको थियो। गम्भीर रूपमा घाइते भएका पाँचै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेहरू सुनसरीको बर्जु गाउँपालिका–१ का बासिन्दा रहेका छन्। ज्यान गुमाउनेमा ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङ रहेका छन्।
दुर्घटनाका बेला ट्रकमा चालकसहित नौ जना सवार थिए। घाइते तीन जनाको नजिकैको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।