नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट कालीगण्डकी नदीमा निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जान गैँडाकोट–३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो । गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीका अनुसार कालीगण्डकी नदीको केलादीघाटबाट बेनीमा जान निःशुल्क ¥याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको हो ।
नवलपुरतर्फबाट दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनमा सहज र छिटो रुपमा देवघाटधाम स्नान गर्न आउन सकिने उनले बताए । यसका लागि गैँडाकोटको पुलचोक हुँदै शिलान्यास चोक, ब्रिटिस क्याम्प भएर तथा कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोरको बाटो प्रयोग गर्न सकिने जनाए ।
गैँडाकोटको वडा नम्बर १ र ३ जोड्ने जुक्तिखोलामा पक्की पुल बनेपछि गैँडाकोट पुलचोकबाट उत्तरतर्फ करिब २० मिनेटको यात्राबाटै कालीगण्डकी नदीको केलादीघाट पुग्न सकिने तिवारीले बताए । केलादीघाटको पारिपट्टि देवघाटको बेनी सङ्गम रहेकाले डुङ्गा तरेर तथा कालीगण्डकी नदीमाथिको पक्की पुलबाट पनि बेनी स्नानमा जान सकिने जानकारी दिए । चितवनतर्फबाट देवघाट जान घुमाउरो र असहज यात्रा हुने भन्दै उनले नवलपुरतर्फबाट यात्रा सहज हुने बताए ।
गैँडाकोटको ब्रिटिस क्याम्प हुँदै देवघाट बेनीको वारिपट्टि केलादीघाट पुगिने र त्यहाँबाट पारि जान निःशुल्क डुङ्गा उपलब्ध गराइएको उनले बताए । बुधबार साँझदेखि नै भक्तजनलाई कालीगण्डकी नदी वारपार गराउन केलादीघाटमा डुङ्गा तयारी अवस्थामा राखिएको जानकारी दिए ।
कालीगण्डकीमा स्नान गरेर फर्किने तीर्थालुका लागि केलादीघाटमा सुरक्षित स्नानघाट निर्माण गरिएको र बेनी सङ्गममा स्नान गर्ने भक्तजनका लागि केलादीघाटबाट निःशुल्क डुङ्गा सञ्चालन गरिएको उनको भनाइ छ ।
माघेसङ्क्रान्तिका दिन नवलपुर र पश्चिमतर्फबाट आउने तीर्थालुलाई नवलपुर–चितवन जोड्ने नारायणी नदीको पुल तरेर नारायणगढ हुँदै देवघाटको बेनी पुग्न कठिन र असहज हुने गरेको उनले बताए । तीर्थालुले माघेसङ्क्रान्ति स्नान सहज रुपमा गर्न सकून् भन्ने उद्देश्यले केलादीघाटबाट निःशुल्क ¥याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको उनले स्पष्ट पारे । ¥याफ्टिङ डुङ्गाको प्रबन्ध गैँडाकोट–३ नम्बर वडा कार्यालयले गरेको हो ।
नवलपुरसहित पश्चिमतर्फबाट आउने तीर्थालु गैँडाकोटको केलादीघाट हुँदै देवघाट स्नान गर्न जाँदा यात्रा सहज र छोटो हुने उनले बताए । चितवनबाट देवघाट पुग्न पुलचोकबाट १० किलोमिटरभन्दा बढी यात्रा गर्नुपर्ने भए पनि नवलपुरतर्फबाट करिब पाँच किलोमिटरमै देवघाट पुग्न सकिने उनले जनाए । धेरै तीर्थालुलाई नवलपुरबाट सहज र छिटो देवघाट जाने बाटो थाहा नभएकाले प्रचारप्रसारका लागि निःशुल्क डुङ्गाको व्यवस्था गरिएको उनको भनाइ छ । डुङ्गा सञ्चालकसँग सम्झौता गरी शुल्क वडा कार्यालयले नै भुक्तानी गर्ने र तीर्थालुसँग कुनै शुल्क नलिने व्यवस्था गरिएको छ ।
नवलपुरभन्दा पश्चिमबाट आउने सबै तीर्थयात्रीलाई गैँडाकोटको केलादीघाटको बाटो प्रयोग गर्न उनले आग्रह गरे । मुक्तिनाथबाट बग्ने कालीगण्डकी र गोसाइँकुण्डबाट बग्ने त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति पर्वका अवसरमा लाखौँ भक्तजन आउने गर्छन् । आज बिहान देवघाटको बेनी सङ्गममा देवघाटका विभिन्न धार्मिक सङ्घसंस्थाको उपस्थितिमा बाँसको लिङ्गो गाडेपछि देवघाटधाममा मकर स्नान सुरु भएको छ ।