काठमाडौँ। माघेसङ्क्रान्तिको अवसर पारेर आजदेखि तीन नयाँ नेपाली चलचित्र ‘गोबर गणेश’, ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’ नेपालभरका चलचित्र भवनमा प्रदर्शन भएका छन्।
माघेसङ्क्रान्ति लक्षित गर्दै दिइने बिदालाई लक्षित गर्दै चलचित्रका निर्माता तथा निर्देशकले चलचित्रले दर्शकको साथ पाउने अपेक्षासहित चलचित्र प्रदर्शनमा ल्याएका हुन्। यी तीनै चलचित्र सामाजिक कथावस्तुमा आधारित छन्।
चलचित्र ‘भाइरल गोर्खे’को विषय सामाजिक सञ्जालसँग जोडेर तयार गरिएको छ। सामाजिक सञ्जालको बढ्दो दबदबाबीच ‘भाइरल’ बन्ने ध्याउन्नमा रहेकालाई चलचित्रले मनोरञ्जनसँगै सन्देश पनि दिने अभिनेता सौगात मल्लले बताए।
उनले भने, “चलचित्रको विषयवस्तु केवल टिकटकसँग जोडिएको भए सायद म अभिनय गर्थिनँ होला, तर त्यहाँ समाज र परिवेश जोडिएको छ। एउटा सामान्य व्यक्तिको भाइरल हुने लालस र त्यसले निम्त्याउने आरोहअवरोह चलचित्रमा समेटिएको छ। भाइरल हुन जति मिहिनेत गर्नुपर्छ, त्यति नै त्यहाँ टिकिरहन मिहिनेत गर्नुपर्छ। विद्यमान परिवेशमा दर्शकलाई आकर्षित गर्न चलचित्र सफल हुनेछ।”

चलचित्र भाइरल गोर्खेको एक दृष्यमा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ।
‘भाइरल गोर्खे’ चलचित्रको पटकथा पढेपछि सबै अभिनेता लोभिने जनाउँदै मनोरञ्जन प्रदान गर्ने समयसान्दर्भिक विषयवस्तु समेटिएको पाएपछि प्रस्ताव स्वीकार गरी चलचित्रमा जोडिएको उनले बताए। निगम श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रमा अभिनेता मल्लसँगै अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलालगायतको अभिनय छ।
आजदेखि नै प्रदर्शन भएको चलचित्र ‘मिरमिरे’मा बुबा र छोरीबीचको सम्बन्धको कथा देखाइएको छ। अभिनेता दयाहाङ राईले चलचित्रले सामाजिक विषयसँगै भावनात्मक सम्बन्धका विभिन्न पाटालाई समेटेको बताए। उनले भने, “हामीले प्रचार सामग्रीमा चलचित्रको विषयलाई बिम्बका रूपमा प्रस्तुत गरेका छौँ। यो विषयले हरेक बुबा र छोरीलाई छोइरहेको महसुस हुन्छ। हामी सबैले मिहिनेत गरेर दर्शकका लागि राम्रो चलचित्र ल्याउने प्रयास गरेका छौँ।”

यसका निर्देशक यम शेर्पाले विषयवस्तु नयाँ र मौलिक रहोस् भन्ने उद्देश्यले सबै कलाकारसँग समन्वय गरी छोटो समयमा चलचित्र तयार गरेको बताए। उनले भने, “कथालाई पटकथामा रूपान्तरण गरेपछि ढिला गर्नु हुँदैन भन्ने लाग्यो। हामीले मिहिनेत गरेर फिल्म बनाउँछौँ, तर हामीभन्दा अगाडि विदेशी चलचित्रमा यस्तै कथा देखियो भने नक्कल गरेको आरोप लाग्न सक्छ। त्यसैले यो कथालाई छिटो दर्शकमाझ पुर्याउनुपर्छ भन्ने लागेर निकै मिहिनेतका साथ काम गरेका हौँ।”
यार्सा फिल्म्सद्वारा निर्माण गरिएको ‘मिरमिरे’मा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठलगायत कलाकारले पनि अभिनय छ।
आजदेखि नै प्रदर्शन भएको चलचित्र ‘गोबर गणेश’लाई ‘बल्छी धुर्वे’ का रूपमा चिनिएका कलाकार मरिचमान श्रेष्ठले निर्देशन गरेका हुन्। उनकै मुख्य भूमिका रहेको चलचित्रमा आमालाई खुसी पार्ने सपना बोकेर गाउँको एक ठिटो सहरमा आएपछि हुने उतारचढाव देखाइएको छ। चलचित्रमा वर्षा शिवाकोटी, पूजन घिमिरे, सीतादेवी तिमल्सिना, पदम तामाङलगायत कलाकारको अभिनय छ।

तीन नयाँ चलचित्र एकसाथ प्रदर्शनमा आए पनि चलचित्र भवनमा दर्शकको चाप देखिएको छैन। प्रायः बिदाको समयमा चलचित्रले राम्रो व्यापार गर्ने गरेको र सोही कारण माघेसङ्क्रान्ति निर्माताको रोजाइमा परेको हो।