काठमाडौँ
००:००:००
१ माघ २०८२, बिहीबार

१ माघ २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूहरूले नेपालमा नेपालीकै सरकार बनाउने र अरूको सरकार बनेमा सङ्घर्ष गरेर ढाल्ने बताएका छन्।

४२औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा उनले आफूहरू नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरूकै पालामा हुनुपर्छ भन्ने अभियानका अहिले पनि लागिरहेको स्पष्ट गरे।

अध्यक्ष ओलीले नेपालमा नेपालीका सरकार हुनुपर्छ भन्नेका घर र पार्टी कार्यालय छानिछानी आगो लगाइएको, कार्यापालिका, न्यायपालिका र राष्ट्रका मुख्य संरचना तथा राष्ट्रिय उद्योग जलाइएको उल्लेख गर्दै अहिले थिति र विधिको शासन नभई जथाभावी शासन चलाइएको टिप्पणी गरे। “अहिले दुनियाँमा भइरहेको शासनको प्रतिबिम्ब नेपालमा देख्न सकिन्छ। अहिले कसैको सम्पत्ति खाएको छ भने पनि मुद्दा लाग्दैन। हिजो लागेका अभियोग सच्याइन्छ र चुनावका लागि त्यस्ता मान्छेलाई हिरो बनाइन्छ,” ओलीको भनाइ छ, “हामी नेपालमा नेपालको सरकार बनाउन चाहन्छौँ। अरूको सरकार बनाउन दिँदैनौँ। बन्यो भने ढाल्छौँ। यसबारे आजको नयाँ पुस्ता सचेत हुन आवश्यक छ। यो देश पुर्खाले लडेर स्वतन्त्र र सर्वभौम बनाएको देश हो। यसलाई बचाउनु हामी सबैको दायित्व हो।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन महान्याधिवक्ताको कार्यालयले गरेको निर्णयमा आपत्ति जनाउँदै उनले प्रश्न गरे, “अहिले महान्याधिवक्ताको कार्यालय इतिहासकै लागि लज्जाको विषय बनेको छ। जनताको हिनामिना भएको पैसा कसले तिर्छ ? महान्याधिवक्ताको कार्यालयले तिर्छ ?”

आफ्नो पार्टी इतिहासदेखि राष्ट्रिय स्वाधीनता र समृद्धिका लागि सङ्घर्षका उतारचढावबाट अघि बढ्दै आएकाले फेरि पनि निर्भयताका साथ लाग्न उनको आग्रह थियो। निरङ्कुश पञ्चायत सरकारले सिन्धुपाल्चोकको पिस्करमा ३० पुस २०४० को हत्याकाण्ड गराएको घटना स्मरण गर्दै उनले सहिदको बलिदान र परिवर्तनकारी जनताको आदर्शप्रति कर्तव्यनिष्ठ भएर नयाँ लाग्नुको विकल्पन नभएको बताए।