काठमाडौँ
००:००:००
२ माघ २०८२, शुक्रबार

२ माघ २०८२
अ+
अ-

कीर्तिपुर। चन्द्रागिरि नगरपालिकाका स्थानीयवासीले आजदेखि केबलकार चढ्दा ५० प्रतिशत छुट पाउन थालेका छन् ।

केबलकारको प्रवर्द्धक संस्था चन्द्रागिरि हिल्स लिमिटेडको गत पुस २३ गते सम्पन्न १६औँ साधारणसभाले माघ १ गतेदेखि लागू हुनेगरी चन्द्रागिरि नगरपालिका तथा मकवानपुर जिल्लाका थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका स्थानीयवासीले समेत यस्तो छुट उपलब्ध गराउने निर्णय गरेको थियो । माघ १ गते सार्वजनिक बिदा परेका कारण छुटको निर्णय आजदेखि कार्यान्वयनमा आएको हो ।

हाल चन्द्रागिरि केबलकार चढ्नका लागि साधारण टिकटका लागि ८२५ रूपैयाँ तिर्नुपर्छ । यसअघि कम्पनीले चन्द्रागिरिस्थित केबलकारको बेसस्टेसन वरपरका एकदेखि पाँच वडाका बासिन्दालाई २५ प्रतिशत छुट दिइरहेको थियो । “एक वर्षअघि नगर कार्यपालिकाले सबै नगरवासीले अपनत्व लिनेगरी सम्पूर्ण नगरवासीलाई छुट दिलाउने पहल गर्ने निर्णय गरेपछि यस्तो छुटका लागि प्रयास सुरु भएको थियो”, नगरका प्रवक्ता एवं ३ नम्बर वडाका अध्यक्ष कृष्ण खड्गीले राससलाई बताए ।

छुट प्राप्तिका लागि लाभग्राहीले आफू चन्द्रागिरि, थाहा वा इन्द्रसरोवरको स्थानीय भएको खुल्ने कागजात अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्ने र टिकट खरिदका क्रममा स्वयं उपस्थित हुनुपर्ने र सार्वजनिक बिदाका दिनहरूमा यस्तो छुट नपाइने व्यवस्था गरिएको छ ।