काठमाडौँ
००:००:००
२ माघ २०८२, शुक्रबार

२ माघ २०८२
अ+
अ-

दमौली। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । साविक सामाजिक विकास कार्यालय तनहुँको भवनमा आज मुख्य निर्वाचन अधिकृत एवं तनहुँ क्षेत्र नं १ को कार्यालय र शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायल आजे उद्घाटन गरे । सो अवसरमा उनले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरे । लोकतन्त्रको उत्तम विकल्प निर्वाचन रहेको बताउँदै उनले ढुक्कसँग निर्वाचनमा सहभागी हुने वातावरण सिर्जना गरिने उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी शिव तिवारीले निर्वाचनमा सुरक्षा प्रबन्ध मजबुद बनाइने बताउँदै निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नु सबैको दायित्व भएको उल्लेख गरे ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले निर्वाचनको आन्तरिक तयारी तीव्र गतिमा अगाडी बढेको बताए । मतदान सामग्री, जनशक्ति व्यवस्थापनलगायत तयारी भइरहेको जनाउँदै उनले निर्वाचन सफल बनाउन सबैको सहयोगको अपेक्षा गरे ।

प्रमुख जिल्ला अधिकारी तिवारी, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, प्रहरी उपरिक्षक टेकबहादुर कार्कीको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्लामा दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन् । जिल्लामा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् ।