काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट अभिभावकत्वको भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका छन्।
निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई औपचारिक मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले विगतका मतभेदलाई पन्छाउँदै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने समय आएको बताए।
दोस्रो विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया पूरा भइसकेको उल्लेख गर्दै उनले विधानसम्मततामाथि उठेका प्रश्नलाई स्वाभाविक राजनीतिक अभ्यासका रूपमा लिएको स्पष्ट पारे।
‘केही साथीहरूले आफ्ना असहमति लिएर निर्वाचन आयोग जाने निर्णय गर्नुभयो, यसलाई मैले सहज रूपमा बुझेको छु। हामी स्वयं पनि आयोग पुगेका थियौँ,’ थापाले भने।
उनका अनुसार निर्वाचन आयोगले यस विषयमा अन्तिम निर्णय गरिसकेको छ र अब सबै पक्षले उक्त निर्णय स्वीकार गर्दै पार्टीलाई साझा उद्देश्यतर्फ लैजानुपर्ने आवश्यकता छ।
पार्टी स्थापना कालदेखि अंगीकार गरिएका मूल्यमान्यतालाई थप सुदृढ गर्दै नयाँ पुस्ताको चेतनासँग मेल खाने कांग्रेस निर्माण गर्ने लक्ष्य रहेको उनले बताए। त्यसका लागि पुराना र नयाँ पुस्ताबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।
समयको दबाब उल्लेख गर्दै सभापति थापाले आगामी दुई दिनभित्रै धेरै महत्वपूर्ण निर्णय र काम सम्पन्न गर्नुपर्ने अवस्था रहेको जानकारी दिए।
उनले सबै नेता तथा कार्यकर्तालाई एकतामा जोडिन आग्रह गर्दै भने, ‘अब एक–दुई दिनभित्रै नेपाली कांग्रेस एकताबद्ध रूपमा अघि बढ्नेछ। हामी पार्टीका विभिन्न तहका साथीहरूसँग निरन्तर संवादमा छौँ।’