संयुक्त राष्ट्र, न्यूयोर्क । संयुक्त राष्ट्रसंघ र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले विद्यालय सामग्रीमा लागेको प्रतिबन्ध हटाएर बढी बालबालिकाले सहज रूपमा शिक्षा पाउन सकुन् भनी आग्रह गरेका छन्। मानवतावादी निकायले शुक्रबार यस सम्बन्धमा आफ्नो चिन्ता सार्वजनिक गरेको हो।
मानवतावादी समन्वय कार्यालयले बालबालिकालाई विद्यालयमा फर्काउने र जाडो मौसमका कारण पीडित भएका मानिसलाई सहयोग गर्ने उद्देश्यले साझेदारहरूसँग मिलेर काम गरिरहेको जनाएको छ। कार्यालयका अनुसार हाल गाजामा ४४० भन्दा बढी शिक्षण स्थल सञ्चालनमा छन् । यसै महिनामा गाजाका १० अस्थायी शिक्षण स्थलहरू पनि मर्मत गरिएको छ।
जाडो मौसमका कारण आश्रय गुमाएका परिवारहरूलाई सहयोग गर्न कार्यालयले २०० भन्दा बढी टेन्ट, हजारौँ कम्बल, गर्म कपडा, खाना पकाउने भाँडाकुँडा र सौर्य बत्ती वितरण गरेको छ।
यद्यपि, गाजामा अझै १० लाखभन्दा बढी मानिसलाई तुरुन्तै आश्रय सहयोग र दीर्घकालीन समाधान आवश्यक छ। यसमा क्षतिग्रस्त घरहरूको मर्मत र आपत्कालीन आश्रय सामग्री उपलब्ध गराउने कुरा समावेश छ।