सिने-साहित्य

 कथाकार प्रेमचन्द र निर्देशक मृणाल सेनको सिर्जनात्मक संगम

३ माघ २०८२
प्रेमचन्द (बायाँ) र मृणाल सेन
अ+
अ-

दृश्य साहित्य मानिने सिनेमाले संसारभरि नै साहित्यिक रचनालाई आफ्नो स्रोत बनाएको छ। भारतीय सन्दर्भमा रवीन्द्रनाथ टैगोर, शरत चन्द्र चट्टोपाध्याय, प्रेमचन्द, अमृता प्रीतम, आर के नारायण, विभूतिभूषण बन्दोपाध्याय, झुम्पा लाहिरी, चेतन भगतलगायत कैयौँ लेखकका कृतिमा सिनेमा बनेका छन्। साहित्यिक कृतिमा फिल्म बनाउने परम्परा स्वदेशी लेखकमा मात्र सीमित छैन। सेक्सपियर, ओ हेनरी, चार्ल्स डिकेन्स, जेन अस्टिन, एरिक सेगललगायत विदेशी साहित्यकारका सिर्जनासमेतलाई आधार बनाइएका छन्।

‘कफन’ प्रेमचन्दको जीवनको अन्तिम चरणमा प्रकाशित कथा हो। सन् १९७७ मा निर्देशक मृणाल सेन (सन् १९२३–२०१८)ले यही कथामा फिल्म बनाए, ओका ऊरी कथा। तेलुगू भाषाको यो फिल्म साहित्यिक रचनामा बनेको अब्बल सिनेमामध्ये पर्छ।

तिनैमध्ये एक हुन्, लेखक प्रेमचन्द (सन् १८८०–१९३६) जसका सिर्जनामा उनको मृत्युपर्यन्त फिल्म बनेका छन्। प्रेमचन्द उन्नाइसौँ शताब्दीको उत्तरार्द्ध र बीसौँ शताब्दीको पूर्वार्द्ध दशकको परिवेशको नाडी छामेका सर्जक हुन्। मनोरञ्जनलाई लोकवर्णनको माध्यम बनाएका उनको लेखनको केन्द्रमा निमुखा आम मान्छेको भोगाइ छ। गरिब, कृषक र निमुखालाई उनले नायक-नायिका बनाएका छन्।

मूलतः भारतीय ग्रामीण समाजको यथार्थपरक तस्बिर उतार्ने प्रेमचन्दको कथाशिल्पबाट भारतका बौद्धिक निर्देशकहरू प्रभावित भए, जसमा मृणाल सेन, सत्यजीत रे, हृषीकेश मुखर्जी, गुलजारजस्ता दिग्गज नाम जोडिएका छन्। प्रेमचन्दको रचनामा आधारित भई फिचर फिल्मबाहेक टेलिशृंखला, टेलिफिल्म र छोटा फिल्मसमेत बनेका छन्। तीमध्ये गोदान, गबन, सेवासदन, हिरा मोती, शतरञ्ज के खिलाडी, ओका ऊरी कथा, सद्गति, निर्मलालगायत छन्। गोदाननिर्मला उपन्यासलाई टेलिशृंखलामा रूपान्तरण गरेका निर्देशक गुलजारले प्रेमचन्दका उपन्यास र कथालाई आधुनिक भारतमा पनि उत्तिकै सान्दर्भिक मानेका छन्। प्रेमचन्दले सन् १९३४ मा बनेको फिल्म मजदुरको पटकथासमेत लेखेका थिए, तर यसबाट उनी सन्तुष्ट भएनन्।

गान्धीको असहयोग आन्दोलनलाई सहयोग गर्दै सरकारी जागिरसमेत त्यागेका प्रेमचन्द लेखनमार्फत सामाजिक विसंगतिविरुद्ध हस्तक्षेप गर्ने प्रगतिशील लेखक हुन्। त्यसैले उनको लेखन जमिनदारी प्रथा, जातीय विभेद, अनिकाल, धनी र गरिबबीचको खाडल र आर्थिक शोषण, साम्प्रदायिकता, धार्मिक आडम्बरजस्ता सामाजिक-राजनीतिक समस्या वरिपरि केन्द्रित थियो। गरिबको पक्षमा र शासकको विपक्षमा उभिने उनीद्वारा लिखित कहानीमा आधारित सोजे–वतन फिल्मलाई त बेलायती सरकारले प्रतिबन्धसमेत लगाएको थियो। जनताको पक्षमा लेखेकै कारण राज्यले जरिवाना तिराएपछि उनी धनपतरायबाट मुन्सी प्रेमचन्द बनेका हुन्।

‘कफन’ प्रेमचन्दको जीवनको अन्तिम चरणमा प्रकाशित कथा हो। सन् १९७७ मा निर्देशक मृणाल सेन (सन् १९२३–२०१८)ले यही कथामा फिल्म बनाए, ओका ऊरी कथा। तेलुगू भाषाको यो फिल्म साहित्यिक रचनामा बनेको अब्बल सिनेमामध्ये पर्छ।

कथासार— अर्धनग्न अवस्थामा देखिने एक वृद्ध बुवा वेंकैया र जवान छोरा किष्टैय्या जीर्ण भइसकेको एककोठे झुप्रोमा बस्छन्। गरिबीले तन्नम उनीहरू खानै नपाउने स्थितिमा बाहेक श्रम गर्दैनन्। गाउँलेका खेतबारीबाट अन्न र फल चोरेर गुजारा चलाउने उनीहरूको सोच अचम्मको छ– गरिब किसान मजदुरले जति परिश्रम गरे पनि त्यसको फल खाने अन्ततः साहु-महाजन नै हुन्। उनीहरूलाई लाग्छ, यदि उनीहरूले काम गरे भने नाफा जमिनदारकै हातमा जानेछ।

प्रेमचन्दले उत्तर प्रदेशको परिवेशमा लेखेको कथालाई सेनले दक्षिण भारतको तेलंगाना पुर्‍याए। यसको राजनीतिक कारण थियो।

बुवाको इच्छाविपरीत छोरा किष्टैय्याले निलम्मा नामकी युवतीसँग बिहे गर्छ। निलम्मालाई घरमा भित्र्याएपछि पछि वेंकैया कोठाबाहिर सुत्ने अवस्थासमेत आउँछ। बुहारी प्रश्रवपीडामा हुँदा वेंकैयाले सुत्केरी गराउने दाइनी बोलाउन अस्वीकार गरेका कारण निलम्माको मृत्यु हुन्छ। उनको निधनपछि बुवा-छोराले अन्त्येष्टि कर्मका लागि गाउँमा भिख माग्ने निर्णय गर्छन्। तर, अन्तिम संस्कारका लागि भनेर मागेको पैसा रक्सीमै खर्च गर्छन्। वेंकैया शरीरको भोक जित्न उद्यत वृद्ध हो जसले जीवनका सबै इच्छा त्यागेर अन्तहीन तिरस्कार अँगालेको छ। वेंकैयाको भूमिकामा वासुदेव रावको सशक्त अभिनय हेर्न पाइन्छ जसको हुलिया आदिमकालीन मानवजस्तै छ भने व्यवहार ‘जंगली’। बुवा-छोरा नाटकको सूत्रधारझैँ बोल्छन्, अजीव शैलीमा सोच्छन्। स्वेच्छाले ‘आउटसाइडर’ बनेका यिनीहरू तथाकथित सभ्य समाजका नियम र मूल्यमान्यतालाई प्रहार गर्छन्।

यी बुवा-छोरा कामलाई दमनको नियमित औजार मान्दै यसको मूल्यलाई नकार्ने साहस राख्छन्। त्यसैले सहानुभूति गर्ने वा घृणा गर्नुपर्ने पात्र नभई विद्रोही पात्र हुन्। समाजको मूल्यमान्यताविपरीत बाँच्ने उनीहरू सबैखाले सामाजिक मान्यतालाई घृणा गर्छन्।

चलचित्र ओका ऊरी कथाको एक दृश्य

वेंकैयाका लागि मृत्युको मुखमा पुग्ने बेलासम्म दिनरात श्रम गर्ने सबै मिहिनेती मानिस मूर्ख हुन्। जीवनभर सामन्ती जमिनदारले गाउँका किसानहरूलाई गर्ने शोषण देखेभोगेको ऊ नशामा चुर भएर भन्छ– ‘कसका लागि श्रम गर्ने? श्रम गरेर हाम्रो पेट पालिन्छ? म यस्तो मजदुरी बहिष्कार गर्छु।’

प्रेमचन्दले उत्तर प्रदेशको परिवेशमा लेखेको कथालाई सेनले दक्षिण भारतको तेलंगाना पुर्‍याए। यसको राजनीतिक कारण थियो। उनी सन् १९४६ देखि १९५१ सम्म चलेको किसान विद्रोह ‘तेलंगाना आन्दोलन’ प्रति गम्भीर चासो राख्थे। फिल्ममा आन्ध्र प्रदेशको एउटा गाउँको परिवेश चित्रण गर्दै सेनले त्यहाँका बासिन्दाहरूको दिनचर्या समेटेर स्थानलाई कथासँगै एकाकार गरेका छन्। यसअघि कलकत्ता ७१ मा बंगालको अनिकालको विषय चित्रण गरिसकेका सेनले दक्षिण भारतमा ओका ऊरी कथा छायांकन गरेपछि भने, ‘उत्तर, दक्षिण, पूर्व वा पश्चिम जहाँ भए पनि भारतको गरिबीको हालत र गरिबहरूलाई हुने शोषण उस्तै उस्तै रहेछ।’

ओका ऊरी कथा निर्देशक सेनको महत्त्वपूर्ण फिल्म मानिन्छ, जसलाई फिल्म क्षेत्रका कहलिएका सर्जकदेखि समीक्षकहरूले खुलेर प्रशंसा गरे। फिल्मले तेलुगू भाषाको राष्ट्रिय पुरस्कारसमेत जित्यो। थुप्रै विदेशी मञ्च र महोत्सवहरूमा प्रदर्शन भयो।

अब्बल साहित्यिक चेत भएका निर्देशकहरू सिनेमामा साहित्यको रूपान्तरण मात्र गर्दैनन्, मूल रचनाको मर्म कायम राख्दै वैचारिक रूपमै पुनर्व्याख्या गर्ने यत्नसमेत गर्छन्।

तर, साहित्यिक कृतिलाई सिनेमामा रूपान्तरण गर्ने काम जोखिमपूर्ण मानिन्छ। मानिसहरू अक्सर यस्ता फिल्मलाई मूल कृतिसँग दाँज्छन् र फिल्मले साहित्यको मर्मको हत्या गरेको टिप्पणी गर्छन्।

निर्देशक सेनले आफ्नो किताब मोन्टाज : लाइफ, पोलिटिक्स र सिनेमा भित्रको ‘साहित्य र सिनेमा’ मा यस विषयको उल्लेख गरेका छन्।

सेनले निर्देशक सत्यजीत रेले बंगलाभाषी लेखक विभूतिभूषण बन्दोपाध्यायको कृतिमा आधारित भई निर्देशन गरेको अपराजितोअपुर संसार, रवीन्द्रनाथ ठाकुरको कृतिमा बनाएको चारुलतालगायत फिल्मले यस्तो समस्या भोग्नुपरेको लेखेका छन्। ‘अपराजितोको आलोचना गर्दै एक वरिष्ठ चलचित्र निर्देशकले आवेगमा लेखेका थिए, विभूषितभूषण मरे, विभूतिभूषण अमर रहून्। त्यसैगरी एक प्रतिष्ठित साप्ताहिक पत्रिकाका फिल्म सम्पादकले अपुर संसारसम्बन्धी केही प्रश्न उठाएका थिए। उनी लेख्छन्, ‘पछि, एक अत्यन्त विद्वान् लेखकले चारुलताबारे बहस सुरु गर्दा बौद्धिक जगत्‌मा ठूलो हलचल मच्चियो। त्यसले व्यापक कटुता जन्मायो, आक्रोश अखबारका स्तम्भ र पत्रिकाका लेखहरूमा पोखियो, छलफल र संवादहरूमा फैलियो र सांस्कृतिक वृत्तसम्म फैलिँदै गयो।’

सेन स्वयं पनि यस्ता आलोचना खेप्ने भुक्तभोगी हुन्। लेख्छन्, ‘म आफैँ पनि यस्तै प्रतिक्रियाको सिकार भएको छु। र, त्यो एकपटक मात्र होइन, प्रायः हरेकपटक, जब म कुनै प्रतिष्ठित साहित्यिक कृतिमा आधारित चलचित्र निर्देशन गर्छु।’

अब्बल साहित्यिक चेत भएका निर्देशकहरू सिनेमामा साहित्यको रूपान्तरण मात्र गर्दैनन्, मूल रचनाको मर्म कायम राख्दै वैचारिक रूपमै पुनर्व्याख्या गर्ने यत्नसमेत गर्छन्। यो वैचारिक पुनर्व्याख्याको प्रक्रियामा न त सबै सफल हुन्छन्, न त उनीहरूको प्रयासलाई सबैले सहजै स्विकार्छन्।

सेन सिनेमालाई साहित्यसँग प्रतिस्पर्धाको विषय नबनाई यी दुईबीच मेलमिलापको भावना आत्मसात् गर्नुपर्ने मत राख्छन्। उनको भनाइ छ, ‘यही एक मात्र उपाय हो जसबाट सिनेमा आफ्नै स्तर र स्वरूप जोगाउँदै अन्य कलाहरूको बीचमा आफ्नो छुट्टै पहिचान निर्माण गर्न सफल हुन्छ।’

उनले ‘कफन’ को कथामा फिल्म बनाउने क्रममा मुख्य तीन पक्षलाई ध्यानमा राखेर पटकथा लेखिएको उल्लेख गरेका छन्। पहिलो, लेखकले कथामार्फत व्यक्त गर्न चाहेको मूल विचारप्रति। दोस्रो, ‘सिनेमा’ नामक कलात्मक अभिव्यक्तिको स्वरूपप्रति। र तेस्रो, वर्तमान समय र युगप्रति।

‘कफन’ पढेका पाठकहरूलाई ओकी ऊरी कथामा पनि निर्देशकले मूलकथाबाट पर लगेको भान हुन सक्छ। फिल्मको अन्तिम दृश्यमा यो स्पष्ट देखिन्छ। प्रेमचन्दले मदिरा पसलमा सकाएको कथा फिल्ममा आइपुग्दा बुवाछोरा रूखमुनि बसेको देखाइन्छ। वेंकैयाले किष्टैय्यालाई पैसाले भरिएको आफ्नो हत्केला जोडले समाउन लगाउँछ। र, छोरालाई भन्छ, ‘हरेक बिहान उठ्दा हाम्रो हातमा यसरी नै पैसा हुने भए…’

त्यसपछि क्लोजअप सटमा वेंकैया चिच्याउँछ– ‘हामीलाई दुई झोला चामल देऊ।’

ओका ऊरी कथाको प्रतिक्रियाबारे पुस्तकमा सेनले प्रेमचन्दका छोरा अमृत राय (जो प्रेमचन्दका जीवनी लेखक पनि हुन्)का प्रतिक्रिया पनि समेटेका छन्। बुवाको कथामा आधारित फिल्म हेरेपछि रायको प्रतिक्रिया थियो, ‘यो अत्यन्तै हृदयविदारक अनुभव र फिल्म हो, तर म तपाईंको व्याख्यासँग पूर्ण रूपमा सहमत छैन।’

जवाफमा सेनले भनेँ, ‘आज तपाईंका पिता जीवित हुनुहुन्थ्यो भने उहाँको प्रतिक्रिया पनि तपाईंको भन्दा फरक नहुन सक्थ्यो।’

सेन रायलाई फेरि सोध्छन्, ‘यस क्षणमा के तपाईं मलाई यो कथामा आधारित भई फिल्म बनाउन दिनुभएकामा पछुतो मानिरहनुभएको छ?’

राय प्रत्युत्तरमा होइन मात्रै भन्दैनन्, बरु बुवाकै अर्को कथामा फिल्म कहिले बनाउनेसमेत सोध्छन्। यही नै सेनको सफलता थियो। र, प्रेमचन्दको पनि।