३ माघ २०८२
अ+
अ-

सुर्खेत। कर्णाली प्रदेश खेलकुद विकास परिषद्‌को सदस्य-सचिवका लागि तीनजनाको नाम सिफारिस गरिएको छ।

सामाजिक विकास मन्त्रालयका सचिव धोलकराज ढकालको संयोजकत्वमा रहेको सिफारिस समितिले शनिबार तीन जनाको नाम सिफारिस गरेको हो। यसअघि पुस ३० मा समितिले १० जनाको प्रारम्भिक सूची (सर्टलिस्ट) गरेको थियो।

तीमध्येबाट रवीन्द्र चन्द‚ दीपक हमाल र प्रमोद हमालको नाम मन्त्रालयलाई सिफारिस गरिएको हो। मन्त्रालयका अनुसार रवीन्द्रले ६७.१७‚ दीपकले ६०.६३ र प्रमोदले ५२.३७ अंक प्राप्त गरेका छन्। समितिले शनिबार सर्टलिस्टमा परेका १० जनाको अन्तर्वार्ता लिएको थियो।

सिफारिस भएका यी तीन जनाको नाम मन्त्रालयले मन्त्रिपरिषदमा पेस गर्नेछ। मन्त्रिपरिषद् बैठकले तीमध्ये एक जनालाई परिषद्‌को सदस्यसचिव नियुक्त गर्नेछ।

खेलकुद परिषद्‌को सदस्य-सचिवका लागि २१ जनाले आवेदन दिएका थिए। २०८१ पुसदेखि खाली रहेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्‌मा एक वर्षपछि सदस्य-सचिव नियुक्तिको प्रक्रिया थालिएको हो।