काठमाडौँ
००:००:००
४ माघ २०८२, आईतवार

मधेस

मधेस प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वसभामुख र पूर्वमन्त्री प्रदेशसभा सदस्य रहेकै अवस्थामा उम्मेदवार सूचीमा

४ माघ २०८२
एमालेले उम्मेदवार बनाएका रामचन्द्र मण्डल, सरोज यादव, सतिस सिंह र प्रमोद जयसवाल
अ+
अ-

एमालेले मधेस प्रदेशसभाका चार विवादास्पद प्रदेश सांसदलाई आगामी प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवार बनाएको छ। चार जनामध्ये दुई जना पूर्वमुख्यमन्त्री र एक जना पूर्वसभामुख छन्।

धनुषा क्षेत्र नम्बर १ बाट प्रदेशका पूर्वसभामुखसमेत रहेका प्रदेश सांसद रामचन्द्र मण्डललाई एमालेले अघि सारेको छ। त्यस्तै, महोत्तरी क्षेत्र नम्बर ४ बाट पूर्वमुख्यमन्त्री सरोजकुमार यादव उठाइएका छन् भने सप्तरी क्षेत्र नम्बर २ बाट पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह उम्मेदवार बनेका छन्। त्यसबाहेक एमालेले पर्सा क्षेत्र नम्बर ३ मा प्रदेश सांसद प्रमोद जयसवालको नामको टुंगो लगाएको छ। यी चारै जना मधेस प्रदेशको राजनीतिमा विवादास्पद पात्र हुन्।

मधेस प्रदेशका बहालवाला सांसद रहेका चार जनाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएपछि उनीहरू स्वतः प्रदेश सदस्य पदबाट मुक्त हुनेछन्। धनुषा क्षेत्र नम्बर १ मा उम्मेदवार बनाइएका मण्डललाई सातदलीय गठबन्धनले सभामुख हुँदा पदीय मर्यादाअनुकूल आचरण नगरेको भन्दै सभामुखबाट हटाएको थियो। मण्डल ३ माघ २०७९ देखि ३ मंसिर २०८२ सभामुख थिए। मधेस प्रदेशसभामा उनी २०७९ सालको चुनावमा धनुषा क्षेत्र नम्बर १ (ख) बाट चुनिएका थिए।

महोत्तरी ४ बाट उम्मेदवार बनाइएका सरोजकुमार यादव पनि विवादास्पद पूर्वमुख्यमन्त्री हुन्। तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले २४ कात्तिक २०८२ मा उनलाई रातारात बर्दिबासको एक होटलमा मुख्यमन्त्रीको शपथ गराएपछि उनी विवादमा मुछिएका थिए। तर, सर्वोच्च अदालतले यादवलाई २४ घण्टाभित्र प्रदेशसभामा विश्वासको मत लिन आदेश दिएको थियो। यादवले प्रदेशसभामा विश्वासको मत भने पाएनन्। त्यसपछि उनी मुख्यमन्त्रीबाट १७ मंसिर २०८२ मा हटाइएका थिए।

२०७४ सालको स्थानीय चुनावमा भने सिंहले राष्ट्रिय जनता पार्टी नेपालबाट तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष जितेका थिए। सिंह २०७९ सालमा सप्तरी २ (क) बाट प्रदेशसभामा सदस्य चुनिएका हुन्।

मधेस प्रदेशमा कुनै पनि दलको बहुमत नपुगेको अवस्थामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा यादवलाई प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री नियुक्त गरेको दाबी थियो। त्यस प्रकरणमा यादव मात्र होइन, भण्डारीको पदीय आचरणप्रति समेत प्रश्न उठेको थिए। यादवको मुख्यमन्त्री नियुक्ति प्रकरण विवादमा परेपछि प्रदेश प्रमुख भण्डारीसमेत पदमुक्त भइन्। पूर्वमुख्यमन्त्री यादव २०७९ सालको प्रदेशसभा चुनावमा महोत्तरी क्षेत्र नम्बर ४ को ‘क’ बाट निर्वाचित भएका थिए।

यसपालि सप्तरी क्षेत्र नम्बर २ बाट एमालेले प्रतिनिधिसभा सदस्यमा अघि बढाएका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह २०७९ को स्थानीय तहको निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अरुणकुमार मण्डलसँग पराजित भएका थिए। त्यसपछि भएको प्रदेशसभा चुनावमा सिंह जनमत पार्टी प्रवेश गरेर प्रदेश सदस्यमा निर्वाचित भएका थिए। जनमतबाटै उनी २५ जेठ २०८१ मा मुख्यमन्त्री बनाइएका थिए। २३ र २४ भदौको जेन-जी आन्दोलनसम्म उनी मधेस प्रदेशका मुख्यमन्त्री थिए। सो आन्दोलनपछि पार्टीले उनलाई मुख्यमन्त्रीबाट राजीनामा दिन निर्देशन दिएको थियो। तर, सिंहले त्यसलाई अवज्ञा गरेपछि जनमत पार्टीले समर्थन फिर्ता लियो। त्यसपछि उनी नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेर सिंह मुख्यमन्त्रीबाट हटाइएका थिए। पदमुक्त भएपछि जनमत पार्टीसँग असन्तुष्ट सिंहलाई एमालेले प्रतिनिधिसभामा उम्मेदवार बनाएको छ।

२०७४ सालको स्थानीय चुनावमा भने सिंहले राष्ट्रिय जनता पार्टी नेपालबाट तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष जितेका थिए। सिंह २०७९ सालमा सप्तरी २ (क) बाट प्रदेशसभामा सदस्य चुनिएका हुन्। अहिले एमालेले प्रतिनिधिसभामा उम्मेदवारको सूचीमा सिंहको नाम राखे पनि उनले सामाजिक सञ्जालमा भने स्वाभिमान पार्टीबाट उम्मेदवार बन्ने घोषणा गरेका छन्। ‘प्रतिनिधिसभा चुनावका लागि माघ ६ गते मनोनयन दर्ता स्वाभिमान पार्टीबाट हुनेछ,’ सिंहले लेखेका छन्।

एमालेले पर्सा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाएका प्रमोद जयसवाल प्रदेश सरकारमा एमालेका तर्फबाट दुईपटक प्रदेश मन्त्री थिए। पछिल्लो प्रदेशसभाको निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित उनी एमालेमा प्रवेश गरेपछि प्रदेश मन्त्री बनाइएका हुन्। प्रदेश निर्वाचन कार्यालय, मधेस प्रदेशका अनुसार प्रदेशका आठ जिल्लामा १९ लाख ७२ हजार ९६४ जना पुरुष, १६ लाख ६३ हजार ३७४ जना महिला र ७६ जना लैंगिक तथा अल्पसंख्यक (अन्य) मतदाता छन्। मधेस प्रदेशमा प्रतिनिधिसभाका लागि ३२ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ६४ क्षेत्र छन्। मधेस प्रदेशमा पालिकाको संख्या चाहिँ १३६ छ।