काठमाडौँ
००:००:००
४ माघ २०८२, आईतवार

४ माघ २०८२
अ+
अ-

सुनसरी। नेपाल प्रहरीमा १६ वर्ष सेवा गरी हवल्दार पदबाट अवकाश पाएपछि बराहक्षेत्र नगरपालिका–११ मधुवनका महेन्द्र खत्वे विदेश जाने सोच त्यागेर स्वदेशमै कृषि व्यवसायमा लागेका छन।

विसं २०७५ मा स्थापना गरेको ‘खत्वे कृषि फार्म’ हाल उनी र उनको परिवारको मुख्य जीविकोपार्जनको आधार बनेको छ।

प्रहरी सेवाका क्रममा छ महिना शान्ति सेनामा समेत सेवा गरेका खत्वेले अवकाशपछि नेपालमै केही गर्ने सोचका साथ कृषि फार्म दर्ता गरी व्यवसाय सुरु गरेको बताउन्छन। फार्म सञ्चालनसँगै उनले स्कारपियो गाडी खरिद गरी करिब पाँच वर्ष आफैँ चलाउँदै यातायात व्यवसायसमेत गरेका थिए। पछि उक्त गाडी बिक्री गरे पनि उनले कृषि फार्म भने निरन्तर सञ्चालन गर्दै आएका छन्।

हाल खत्वेले साढे तीन बिघा क्षेत्रफलमा कृषि फार्म सञ्चालन गरिरहेका छन। फार्मभित्र पाँच माछापोखरी रहेका छन्, जहाँ रौ, कमन, भ्याकुर, सिल्भर, ग्रासलगायत प्रजातिका माछापालन गरिएको छ । “माछा बिक्रीका लागि बजार धाउनु पर्दैन”, खत्वेले भने, पोखरीमै व्यापारी आउँछन् र माछा निकालेर लैजान्छन्।”

हाल पोखरीबाटै प्रतिकिलो तीन सयदेखि तीन सय ५० रुपैयाँसम्ममा माछा बिक्री भइरहेको छ। सानो लगानीबाट सुरु गरिएको फार्मबाट अहिले वार्षिक सबै खर्च कटाएर रु ६ लाखदेखि रु सात लाखसम्म आम्दानी हुँदै आएको उनको भनाइ छ। फार्ममार्फत उनले एक जनालाई रोजगारीसमेत दिएका छन।

फार्म निकुञ्ज क्षेत्र नजिकै रहेकाले फिस क्याट, गोही, स्याल लगायत वन्यजन्तुले माछा खाइदिने समस्या छ। यसबाट केही क्षति त हुन्छ, तर समग्रमा फार्म नाफामै छ । उनले भने, “यही फार्मबाट घरखर्च, परिवार पाल्न र छोराछोरी पढाउन पुगेको छ ।”

माछापालनसँगै खत्वेले कृषि फार्ममा लोकल कुखुरा, हाँस, परेवा, गाई तथा भैँसीसमेत पाल्दै आएका छन । उनले माछाको भुरा कोसी गाउँपालिकाको स्थानीय बजारबाट खरिद गर्ने गरेको जानकारी दिए । हाल माछाको भुरा प्रतिकिलो चार सयदेखि पाँच सय रुपैयाँसम्म पर्ने गरेको छ ।

खत्वे कृषि फार्ममा उत्पादन भएको माछा कोसी प्रदेशका प्रायः सबै जिल्लामा बिक्री हुँदै आएको छ । सुनसरी कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७८र७९ मा बोरिङ र मोटर अनुदान उपलब्ध गराएकाले फार्म सञ्चालनमा थप सहजता पुगेको खत्वेले बताए। पछिल्लो समय युवा ठूलो सङ्ख्यामा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति छ ।

“मलाई अवकाशपछि विदेश जाने सोच कहिल्यै आएन । नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने आत्मविश्वास आयो, त्यसपछि फार्म दर्ता गरेर काम सुरु गरेँ,” उनले भने। नेपालमै सम्भावना प्रशस्त छ।

स्थानीय सरकार र राज्यले किसानलाई नियमित अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउन सके युवालाई विदेश पलायन हुनुपर्ने अवस्था आउँदैन । नेपालमै अवसर र रोजगारी दुवै सम्भव रहेको खत्वेको भनाइ छ।