विश्वकप छनोट
मिडल अर्डर सम्हालिन नसक्दा आफ्नै मैदानमा हारबाट प्रतियोगिताको सुरुआत
आईसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायरमा घरेलु टोली नेपालले अपेक्षित सुरुआत गर्न सकेन। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आइतबार थाइल्यान्डसँग नेपालले आठ विकेटको फराकिलो हार बेहोर्यो।
नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमै दुई विकेटको क्षतिमा पूरा गर्यो। जितसँगै थाइल्यान्डले दुई महत्त्वपूर्ण अंक जोड्दा नेपाल भने आत्मसमीक्षाको मोडमा पुग्नुपर्यो। “हामी ३०–४० रन सर्ट भयौँ। ओपनिङ पार्टनरसिप निकै राम्रो थियो। तर, त्यसपछि विकेट गुम्दा रन बनाउन सकेनौँ,” कप्तान इन्दु बर्माले भनिन्।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्रै बनायो। ओपनर बिन्दु रावलले ५६ बलमा ६ चौकासहित ४४ रन बनाउँदै इनिङ्स सम्हालिन्। अर्की ओपनर सोनु खड्काले २६ रन जोड्दा सुरुआत आशालाग्दो देखिएको थियो। यी दुई ब्याटरले पहिलो पावरप्लेअघि नै ५२ रनको साझेदारी गरे।
तर, ५.४ ओभरमा थिपात्चा पुथावोङले खड्कालाई कप्तान नारुमोल चाइवाईबाट २६ रनमा क्याच गराए पछि भने नेपालले रनको गति नै बढाउन सकेन। अझ उनी आउट भए पछि नेपालको मध्यक्रम पनि धर्मराउन पुग्यो।
तेस्रो नम्बरमा आएकी उपकप्तान पूजा महतोले बिन्दुसँग ३५ रनको साझेदारी गरेकी थिइन्। तर, सन् २०१९ मा थाइल्यान्ड वुमेन्स टी–२० आई साम्सामा चीनविरुद्ध डेब्यु गरेकी बिन्दु अर्धशतकबाट ६ रनले चुकेपछि भने नेपालले लगातार विकेट गुमाउन थाल्यो। उनले ५६ बलमा ६ चौकासहित ४४ रन बनाइन्।
उपकप्तान पूजा १२ र कप्तान बर्मा आफैँ ६ रनमा पेभिलियन फर्किए। मध्यक्रमकी भरपर्दो मानिएकी कविता जोशीले तीन र कविता कुँवरले दुई रन मात्र बनाउन सके। बरु छैटौँ नम्बरकी रुविना क्षेत्री बेलबासेले भने १७ रन बनाएर नेपालको इनिङ्स उकास्ने प्रयास गरेकी थिइन्। तर, उनी ‘स्टम्पिङ’ हुन पुगिन्।
“यदि मिडल अर्डरले अझ जिम्मेवार भएर खेलेको भए हामी सजिलै १५० रनसम्म पुग्न सक्थ्यौँ। पूजा र मेरो विकेट अलिकति छिटै गएकाले रन बनाउने क्रममा एक्जिक्युसन हुन सकेन, सायद यही कारण असर पर्यो,” इन्दु भन्छिन्।
कीर्तिपुर रंगशाला ब्याटिङका लागि निकै राम्रो मानिन्छ। नेपाल र थाइल्यान्डले खेलेको पिच पनि एकदमै ‘फ्ल्याट’ थियो। बलले कुनै खास ‘स्विङ’ वा ‘सिम मुभमेन्ट’ देखाएको थिएन। ‘बाउन्स’ पनि समान थियो। यसले ब्याटरलाई सट खेल्न सजिलो बनाइरहेको थियो। तर, ब्याटिङका लागि उपयुक्त पिचमा पनि बिन्दु र सम्झनाबाहेक अन्यले राम्रो प्रदर्शन देखाउन सकेनन्।
नेपालविरुद्ध २१ वर्षीय स्पिनर पुथावोङले प्रभावशाली प्रदर्शन देखाइन्। उनले चार ओभरमा २७ रन खर्चिंदै चार विकेट लिइन्। गत वर्षको मेमा ब्यांककमा भएको विश्वकप टी-२० एसिया छनोटमा पनि पुथावोङले यस्तै प्रदर्शन गरेकी थिइन्। उनी आठ विकेट लिँदै सर्वाधिक विकेटकर्ता बनेकी थिइन्। यसपल्ट उनले उक्त कीर्तिमान तोड्ने संकेत देखाएकी छन्।
“पिच ठीकै थियो। तर, मिडल अर्डरमा रहेका म, रुविना दिदी र पूजाले खेललाई सम्हालेर अघि बढाउनुपर्थ्यो। हामीले लामो समय टिकेर खेलेको भए सायद आजको खेल पनि जित्न सक्थ्यौँ,” इन्दु भन्छिन्।

तस्बिर : क्यान
नेपालको मिडल अर्डरमा नै इन्दु, रुविना र महतोमा निर्भर रहन्छ। इन्दुले नेपाललाई विश्वकप छनोटसम्म ल्याइपुर्याउन एसिया छनोटमा सर्वाधिक ७७ रन बनाएकी थिइन्। यो प्रतियोगिता अगाडि भएका अभ्यास र वार्मअप खेलमा समेत सकरात्मक संकेत देखाएकी थिइन्।
तर, पूजा र रुविनाले उक्त छनोटदेखि नै अपेक्षित रूपमा चल्न सकेका छैनन्। अभ्यास र वार्मअप खेलमा पनि यी दुईले राम्रो प्रदर्शन देखाउन सकेनन्। तर, यसपल्ट पनि मुख्य प्रशिक्षक हर्षल पटेलले यी दुईलाई नै मौका दिए र नेपालले लगातार आठौँ हार बेहोर्न पुग्यो। यसअघि भएका सातै भेटमा थाइल्यान्डले नै नतिजा आफ्नो पक्षमा पार्दै आएको थियो।
गत वर्षको मेमा बैंककमा भएको एसिया छनोटको फाइनलमा समेत थाइल्यान्डले नेपाललाई ८० रनले पराजित गरेको थियो। यद्यपि, उपाधिबाट वञ्चित भए पनि नेपाल उपविजेता बन्दै ग्लोबल छनोटको ढोका खोल्न सफल रह्यो।
सहज रन चेज
१२३ रनको लक्ष्य थाइल्यान्डका लागि कठिन बनेन। नात्थिकन चान्थमले अविजित ५७ रन बनाउँदै जितको आधार तयार पारिन्। ३९ बलमा सात चौका र एक छक्का प्रहार गरेकी चान्थम आत्मविश्वासपूर्ण देखिइन्। हुन त उनी यस प्रतियोगिताअघिदेखि नै सानदार लयमा थिइन्।
गत डिसेम्बरमा ब्यांककमा भएको एसियाली खेलकुदअन्तर्गत महिला क्रिकेटमा अविजित १४८ रन बनाएकी थिइन्। यसपल्ट पनि उनी उक्त लयलाई निरन्तरता दिन सफल रहिन्। उनकै इनिङ्सले थाइल्यान्ड जितको बाटोमा पुग्यो। नान्नापत कोन्चारोएनकाईले ३२ रन बनाउँदा ओपनर आपिसारा सुवान्चोनरथीले २८ रन जोडिन्। कप्तान नारुमोल चाइवाई तीन रनमा आउट भइन्।
नेपालका लागि सीता रानामगरले किफायती बलिङ गर्दै चार ओभरमा २० रन खर्चेर दुई विकेट लिइन्, तर त्यो पर्याप्त हुन सकेन।
नेपालको सबैभन्दा ठूलो शक्ति भनेकै बलिङ हो। तर, थाइल्यान्डसँग नेपालको बलिङ चल्न सकेको छैन। पछिल्लो भेटमा पनि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १५८ रन बनाएको थियो। त्यतिखेर राजमती ऐरी र मनीषा उपाध्यायले समान एक विकेट लिएका थिए। यी दुवै टोली प्लेइङ ११ मा पर्न सकेनन्।
यद्यपि, ३५३ दिनपछि मैदान फर्किएकी सीताले राम्रो प्रदर्शन देखाइन्। उनले अन्तिमपल्ट यही मैदानमा नेदरल्यान्ड्सविरुद्ध टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलेकी थिइन्। उक्त खेलमा नेपाल २० रनले पराजित भए पनि सीताले एक विकेट लिएकी थिइन्।
यद्यपि, हारपछि पनि कप्तान इन्दु टोलीको दिशाप्रति आशावादी देखिइन्। “हामी स्टम्पमा अट्याक गर्ने प्लानअनुसार नै खेलिरहेका छौँ। नयाँ शैलीमा एड्जस्ट हुन समय लाग्छ। खेलाडीहरूको प्रयास र सुधारप्रति म सन्तुष्ट छु। हामी झन् बलियो भएर पुनरागमन गर्नेछौँ,” उनले भनिन्।
थाइल्यान्डविरुद्धको हारले नेपाललाई दबाबमा पारेको छ। समूह ‘बी’ मा रहेको नेपालले अब नेदरल्यान्डसँगै स्कटल्यान्ड र टेस्ट राष्ट्र जिम्बाबेसँग खेल्नुपर्नेछ। नेदरल्यान्ड्स र जिम्बाबे नेपालजस्तै पहिलोपल्ट विश्वकपको ढोका ढकढक्याउँदै गरे पनि स्कटल्यान्डले भने यो उपलब्धि हासिल गरिसकेको छ।
त्यसैले शीर्ष तीनमा रहेर सुपर सिक्समा पुग्न पनि नेपाललाई जितको विकल्प हुनेछैन। तर, पहिलो खेलमा जित हात परेपछि थाइल्यान्ड भने उत्साहित छ। यस समूहमा आइतबार नै नेदरल्यान्ड्सले जिम्बाबेलाई २२ रनले पराजित गरे पनि थाइल्यान्ड नेट रनरेटले शीर्ष स्थानमा कायम नै छ।
नेदरल्यान्ड्स भने दोस्रो स्थानमा छ। यसले थाइल्यान्डलाई आत्मविश्वास दिलाएको चाइवाई बताउँछिन्। “सबैभन्दा सकारात्मक कुरा भनेको हाम्रो बलर र ब्याटरले मिडल अर्डरमा अन्तिमसम्म फाइट गरेका छन्। त्यसैले अब हामी आगामी खेलमा ध्यान दिँदै त्यसतर्फ केन्द्रित हुनेछौँ,” उनी भन्छिन्।