काठमाडौँ
००:००:००
४ माघ २०८२, आईतवार

४ माघ २०८२
अ+
अ-

काठमाडौं । नेकपा एमालेभित्र प्रतिनिधिसभा निर्वाचनका लागि भएको टिकट वितरणले तीव्र असन्तोष जन्माएको छ। अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार छनोट गर्दा एकलौटी ढंग अपनाएको आरोप पार्टीकै नेताहरूबाट उठ्न थालेको छ।

शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष ओलीसहित अधिकांश उम्मेदवारको नाम टुंग्याए पनि केही प्रभावशाली नेताहरूलाई जानाजानी निर्णयविहीन अवस्थामा राखिएको बताइन्छ। तीमध्ये उपमहासचिव योगेश भट्टराईको टिकट अहिलेसम्म निश्चित हुन सकेको छैन, जसले पार्टीभित्र असन्तुष्टि झनै बढाएको छ।

२०७९ को निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित सांसद रहेका भट्टराईलाई यसपटक उम्मेदवार नबनाउने मनस्थितिमा ओली रहेको चर्चा एमाले वृत्तमा व्यापक छ। यही कारण ताप्लेजुङको उम्मेदवार अध्यक्षकै निर्णयमा छोडेर खाली राखिएको बताइन्छ।

टिकट अनिश्चित बनेपछि योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्। उनले प्रत्यक्ष असन्तुष्टि नदेखाए पनि उनको अभिव्यक्तिलाई राजनीतिक संकेतका रूपमा हेरिएको छ।

फेसबुकमा उनले लेखेका छन्, “नेकपा एमालेका प्रिय कमरेडहरू, कुनै पनि निर्णयले विचलित नहुन आग्रह गर्दछु। अझ मजबुत मनोबल र एकताका साथ पार्टीका उम्मेदवारहरूलाई विजयी बनाउन आ–आफ्नो स्थानबाट सक्रिय रहनुहोस्। हाम्रो संघर्ष र यात्रा दीर्घकालीन र गौरवशाली छ।”

उनको यो संयमित अभिव्यक्तिभित्र गहिरो असन्तोष लुकेको विश्लेषण एमालेभित्र भइरहेको छ। टिकट नपाए पनि पार्टीका लागि काम गर्ने भनाइलाई नेतृत्वप्रति असहमतिको संकेतका रूपमा लिइएको छ।

पार्टीभित्र टिकट वितरण प्रक्रिया अध्यक्षकेन्द्रित हुँदै गएको र संस्थागत निर्णय प्रणाली कमजोर बन्दै गएको गुनासो बढ्दो छ। सचिवालय, स्थायी समिति र क्षेत्रीय सन्तुलनभन्दा ओलीको व्यक्तिगत प्राथमिकता हावी भएको नेताहरूको आरोप छ।

योगेश भट्टराईजस्ता नेताको टिकट रोकिएपछि बैठकमै चर्को बहस भएको बताइन्छ। शनिबार दिनभर चलेको बैठकमा मापदण्ड स्पष्ट नगरी उम्मेदवार तोकिएको भन्दै भट्टराईले असन्तुष्टि जनाउँदै तीन बुँदे ‘नोट अफ डिसेन्ट’समेत दर्ता गराएका छन्।

बैठकमै अध्यक्ष ओलीले यसपटक भट्टराईलाई टिकट नदिने संकेत दिएको र “तपाईंको अवस्था यसपटक अनुकूल छैन” भन्दै रोक्न खोजेको बताइन्छ। त्यसपछि भट्टराईले अरूको प्रभावमा नपरी निष्पक्ष निर्णय गर्न आग्रह गर्दै प्रतिवाद गरेका थिए।

त्यसैको परिणामस्वरूप ओलीले भट्टराईको टिकट ‘होल्ड’मा राखेको चर्चा छ। महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट लडेका गोकर्ण विष्टबाहेक अन्य नेताहरूमाथि पनि ओलीले बदला लिएको आरोप लागिरहेको छ।

महासचिवमा प्रतिस्पर्धा गरेका सुरेन्द्र पाण्डे, सचिव पदका उम्मेदवारहरू गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, कर्णबहादुर थापा, नेता गणेश पहाडी, केन्द्रीय सदस्य झपट रावल र तारा लामासमेत यस सूचीमा परेको बताइन्छ।