काठमाडौँ
००:००:००
४ माघ २०८२, आईतवार

४ माघ २०८२
अ+
अ-

काठमाडौँ। तामाङ सगरमाथा आरोही संघ नेपाल (टिसान) ले बौद्धस्थित पर्वतीय पर्यटनमा तामाङ र आदिवासी जनजाति समुदायको धर्म, संस्कृति र परम्पराको अन्तरसम्बन्ध विषयक कार्यक्रम गरेको छ।

तामाङ समुदायको २८६२औँ नयाँ वर्ष तथा सांस्कृतिक महोत्सव सोनाम ल्होछार ता-ल्हो (घोडा वर्ष) को अवसर पारेर कार्यक्रम आयोजना गरेको टिसानकी अध्यक्ष शर्मिला लामा स्याङतानले बताइन्। “पर्वतारोहण गर्नु वा गाइड गर्नु हाम्रो एउटा पेसा भयो, सँगै रैथाने संस्कार तथा परम्पराको प्रवर्द्धनमा योगदान पुगोस् भनेर कार्यक्रम राखेका हौँ,” उनले भनिन्।

कार्यक्रममा पर्यटन व्यवसायी अम्बर बम्जन तामाङले पर्वतारोहण र हिमालसँगको अध्यामिक, धार्मिक र सांस्कृतिक सम्बन्धबारे प्रस्तुति राखे। कार्यक्रममा सहभागी पर्वतारोहीलाई कञ्चनजंघादेखि मकालु, सगरमाथा, गौरीशंकर, लाङ्टाङ, गणेश हिमाल, मनास्लु, अन्नपूर्ण, धौलागिरि, डोल्पो क्षेत्र र अपी-साइपाल क्षेत्रसम्मको हिमशृङ्खलाको अध्यात्मिक र सांस्कृतिक महत्त्वबारे जानकारी गराएका थिए। “विदेशीले हिमाल चढ्न सफल हुनुलाई हिमालमाथिको विजयी ठान्छन्, हामी तामाङ जनजातिले हिमाललाई प्रकृतिको उपहारस्वरूप पुज्छौँ, आदर गर्छौं,” उनले भने, “यसकारण हाम्रो अध्यामिक, धार्मिक र सांस्कृति महत्त्व बुझाउँदै हिमाललाई आदर सम्मान गर्नुपर्छ।” उनले फर्पिङ, दामन, तेमाल, हेलम्बुलगायत स्थानीय पर्यटकीय स्थलमा तामाङ सभ्यता र संस्कृतिको महत्त्व रहेको जानकारी गराए।

कार्यक्रममा लुम्बिनी विकास कोषका सल्लाहकार तिलक लामाले पछिल्ला वर्षमा नेपालको पर्वतीय पर्यटनमा तामाङ समुदायको उपस्थिति बढ्दै गएको बताए। कार्यक्रममा तामाङ अध्येता परशुराम तामाङ, बागमती प्रदेश सांसद राधिका तामाङ‚ पूर्वसांसद छिरिङ ल्हामु लामा तामाङलगायतको उपस्थिति थियो।