काठमाडौँ । नेकपा एमालेकी नेतृ नवीना लामाले चुनावी टिकट नपाएपछि पार्टीका निर्णयप्रति आफ्ना धारणा सार्वजनिक गर्दै संगठनप्रतिको प्रतिबद्धता कमजोर नहुने स्पष्ट पारेकी छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले अनुभवी र लामो समयदेखि योगदान दिएका नेताहरूलाई अवसर नदिइनु दुखद भएको उल्लेख गरेकी छन्। यस्ता निर्णयले पार्टी पंक्तिमा निराशा फैलिन सक्ने उनको भनाइ छ।
उनले लेखेकी छन्, “पार्टीभित्र संघर्ष, योगदान र जित्ने सम्भावना भएका सिनियर नेताहरूलाई पाखा लगाइनु कार्यकर्ताको मनोबलका लागि सकारात्मक संकेत होइन। यो समयमा पार्टीलाई अझ मजबुत बनाउने निर्णय आवश्यक छ।” पार्टी नेतृत्वले यथार्थको गम्भीर समीक्षा गर्ने अपेक्षा पनि उनले व्यक्त गरेकी छन्।
काभ्रे–१ बाट उम्मेदवारका रूपमा सिफारिसमा परे पनि अन्तिम निर्णयमा नाम नपरेको जानकारी दिँदै लामाले एमालेसँग आफ्नो तीन दशक लामो राजनीतिक यात्रा रहेको स्मरण गराएकी छन्। पछिल्ला १२ वर्षदेखि पार्टीको जितका लागि लगाएको ऊर्जा अझै पनि निरन्तर रहने उनको भनाइ छ।