काठमाडौँ। नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने भएका छन्। उनको उम्मेदवारी सोमबार राति टुंगिएको हो।
निधिले राति कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले फोन गरेर उम्मेदवारी टुंगो लगाइदिएको नेपालन्युजलाई बताए। “मलाई अहिले राति विश्वप्रकाशजीले धनुषा ३ मा उम्मेदवार चयन भइसकेको फोन गरेर बताउनुभयो‚” निधिले भने‚ “उम्मेदवारी दर्ता गर्न भोलि (मंगलबार) बिहानै जनकपुर जाँदै छु।”
निधिले कांग्रेसमा चलिरहेको विवाद समाधान र मूल्यांकन तथा मापदण्डका आधारमा उम्मेदवारी चयन भएकामा खुसी व्यक्त पनि गरे। “उम्मेदवारी पक्का भएपछि दर्ता गर्न जानै पर्यो नि‚” उनले भने। निधि निवर्तमान सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन्।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको १३ सदस्यीय उम्मेदवार छनोटको संसदीय बोर्डले टिकट वितरण गरिरहेको छ। टिकट वितरणमा निवर्तमान सभापति शेरबहादुर देउवा‚ वरिष्ठ नेता शेखर कोइराला समूहका नेताहरू छानिने क्रम जारी छ।
निधि कांग्रेसका प्रभावशाली तथा स्थापित नेता महेन्द्रनारायण निधिका छोरा हुन्। उनी पूर्वउपसभापति‚ उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका व्यक्ति हुन्। महेन्द्रनारायण निधि कांग्रेस महामन्त्री भइसकेका र गान्धीवादी नेताका रूपमा चिनिएका व्यक्ति हुन्।