म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति सुरु भएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीले रुमदेखि ताराखोलातर्फ सडक स्तरोन्नतिको काम थालेको हो । विसं २०८२ असार ४ गते रु दुई करोड ११ लाख ३० हजारमा ठेक्का सम्झौता गरेको सोमरस निर्माण सेवाले सडक फराकिलो पार्ने, नाली र पर्खाल निर्माणको काम थालेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाका अनुसार योजनाको हालसम्म १० प्रतिशत भौतिक प्रगति भएको छ । ठेक्काको अवधी १८ महिनाको रहेको छ । आयोजना मार्फत रुम खण्डमा करिब एक किलोमिटर सडक फराकिलो पार्ने, नाली, टेवा पर्खाल निर्माण, ढलान र कालोपत्र गरिने भएको छ । रुम म्याग्दीको धेरै जनसङ्ख्या भएको वडा हो ।
म्याग्दीको मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दालाई बाग्लुङको ताराखोला र मध्यपहाडी लोकमार्गले छोएको गलकोट हुँदै लुम्बिनी प्रदेशको बुटवल बजार जानआउन नजिक पर्ने भएकाले यो सडकलाई प्राथमिकता दिएको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली (सुविन)ले बताए । उनका अनुसार गलकोटदेखि ताराखोलाको घुस्मेलीसम्म १० किलोमिटर सडक कालोपत्रको अन्तिम चरणमा रहेको, घुस्मेलीदेखि करिमेला खण्डको चार किलोमिटर स्तरोन्नति र ताराखोलाको रानीबासामा मोटरेबल पुल निर्माण सुरु भएको छ ।
यसैगरी मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि अदिभारा–ताक्से–बिलबाङ हँुदै रुम जोड्ने सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको मालिका गाउँपालिका–२ का वडाअध्यक्ष उदयकुमार बुढाथोकीले बताए । ११ वर्षअघि स्थानीयवासीले चन्दा सङ्कलन र तत्कालीन गाविस कार्यालयको बजेटबाट खनेको सडक प्राविधिक रुपमा उपयुक्त नभएको र जोखिमयुक्त भएपछि स्तरोन्नतिका लागि आयोजना सञ्चालन भएको हो । टाक्से क्षेत्रमा नयाँ मार्ग बनाउने काम भइरहेको छ ।
अदिभारा–स्याउलीबाङ–औला–बेली–जेम हुँदै रुम जोड्ने घुमाउरो सडकमा यात्रा गर्दा एक घण्टा लाग्ने गरेकामा अदिभारा–टाक्से हुँदै २० मिनेटमा नै रुम पुग्न सकिने वडाअध्यक्ष बुढाथोकीले बताए ।