काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

निर्वाचन अपडेट

६ माघ २०८२
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभाका लागि आगामी २१ फागुनमा हुने निर्वाचनमा तीन हजार ४२८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन आयोगले आज साँझसम्मको तथ्यांक सार्वजनिक गर्दै यस्तो जनाएको हो। निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्रमा ३‚४२८ जनाको मनोनयन दर्ता भएको हो।

आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार महिला उम्मेदवारको संख्या ३९१ र पुरुषको संख्या ३‚०३७ रहेको जानकारी दिए। देशभरिका निर्वाचन कार्यालयबाट तथ्यांक आउने क्रम जारी रहेकाले अझै थपिन सक्ने आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले नेपालन्युजलाई जानकारी दिए।

प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि ६ माघमा लिइएको मनोनयनमा उत्साहजनक उपस्थिति रहेको आयोगको दाबी छ। देशभरको १६५ निर्वाचन क्षेत्रका लागि विभिन्न राजनीतिक दलबाट र स्वतन्त्रबाट गरी उम्मेवारी दिएका छन्। ११० सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आउँछन्। समानुपातिकका लागि राजनीतिक दलहरुले बन्दसूची बुझाएर प्रक्रियामै छ।

निर्वाचन कार्यतालिकाअनुसार भोलि (बुधबार) बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ। ८ माघमा उजुरीमाथि जाँचबुझ गरी बेलुका ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

उम्मेदवारले नाम फिर्ता लिन चाहे ९ माघको बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ। सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने आयोगको तयारी छ।