काठमाडौँ। पोखराबाट सोमबार पक्राउ परेका नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटेका छन्।
उनी छुटे पनि प्रहरी कार्यालयमा पुगेर हाजिर भने गर्नुपर्नेछ। “निर्वाचन आयोगको पत्रका आधारमा नियन्त्रणमा लिएका थियौँ। अनुसन्धान भइरहेको छ। प्रहरीले बोलाउँदा उपस्थित हुने सर्तमा रिहा गरिएको छ,” जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपालन्युजलाई भने।
प्रसाईंमाथि अफवाह फैलाउन नहुने कसुरमा अनुसन्धान भइरहेको भट्टराईले बताए। निर्वाचन आयोगले परिसर र साइबर ब्युरोमा प्रसाईंमाथि अनुसन्धान गर्न पत्राचार गरेको थियो।
निर्वाचन आयोगले ५२ करोड रुपैयाँको चलखेलमा नेपाली कांग्रेस सभापति गगनकुमार थापालाई पार्टी आधिकारिकता दिएको प्रसाईंले आरोप लगाएका थिए। उनी यसअघि पनि बैंकिङ कसुर, साइबर अपराधमा पक्राउ परेका थिए।
प्रसाईंले केही समयअघि विभिन्न माग राखेर निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका थिए। २ माघमा सरकार र प्रसाईंबीच सहमति भएको थियो। सहमतिसँगै प्रसाईं समूहले आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि नगर्ने निर्णय गरेको थियो।