दृष्टिकोण
ध्वंस गर्न जान्ने तर निर्माण गर्न नजान्ने प्रवृत्ति दोहोर्याए जेन-जी पनि पश्चगामी बाटोमै
विश्वको जनसंख्यामा जेन-जी २० देखि २५ प्रतिशत छन्। ‘डिजिटल नेटिभ’ हुनाले आधुनिक प्रविधिमा तिनको पहुँच छ। तिनका औँलामा विश्वको जानकारी छ। विविधता पनि छ। डिजिटल प्लेटफर्म पनि छ, डिस्कर्डजस्ता। लाखौँ सहभागी एकैसाथ जोडिन मिल्ने। सर्जक क्षमता पनि छ।
जेन-जीको उमेर समूह कडा परिश्रम गर्न सक्छ। नसके काम गर्ने रोबोट बनाउँछ। यसको अर्थ हो, जेन-जीले सम्भावना पनि देख्छ।
अब रैथाने ज्ञान, सीप, कला, प्रविधि एकसाथ जम्मा गर्न डिस्कर्ड उपयोग गर्ने दिन आएको छ। शिक्षा मन्त्रालयले यस अभियानमा हात हाले जेन-जीले जनस्तरको रैथाने ज्ञानको तागत चिन्छ। आयातित बुद्धि बाँड्ने र त्यसैमा रम्ने रमाउने साइलेन्ट, एक्स तथा वाई पुस्ताको नेपालीले पनि पुर्ख्यौली सम्पदा चिन्छ। आफूले आयातित बुद्धि बोके, बोकाएकोमा प्रत्यानुभूति गर्न थाल्छ।
स्वदेशमै रोजगारीको प्रबन्धमा
जेन-जी कृत्रिम बुद्धि प्रयोग गर्न जान्दछ। बन्धनमुक्त रोजगारी (फ्रिलान्सिङ)मा रमाउँछ। गिग अर्थतन्त्रको हिमायती छ। परिणामतः टोयटा डिजाइनको उद्यम सुरु गर्न सक्छ। घर घरमा विशेष आर्थिक क्षेत्र (सेज) निर्माण गर्न सक्छ। अनि अनलाइन व्यापार गर्न सक्छ। क्यूआर कोड दिएर सीधै लगानीकर्ताको खातामा रकम जम्मा गर्न सक्छ। न बिचौलियाको डर, न ठगिने डर। न गोदामको रकम र नोक्सानी (स्टोर एन्ड ड्यामेज) बेहोर्नुपर्ने डर।
यसरी नेपालका रैथाने सीपमा आधारित जेन-जी उद्यमीहरू जन्मिन थाल्नेछन्। पालिकामा, विद्यालयमा, कलेजमा, विश्वविद्यालयमा। चीनभन्दा पनि आधुनिक तरिकाको। यस काममा शिक्षा मन्त्रालयले संयोजनकारी भूमिका खेल्न सक्छ। दैनिक अनिवार्य बचत अभियान चलाउन सक्छ। स्थानीय बैंकले कम्तीमा दिनको एक रुपैयाँ दिएर खाता खोलिदिने। पालिका, अभिभावकले पनि त्यति नै रकम जम्मा गर्ने। विद्यार्थीले पनि कमाएर त्यसैमा राख्ने।
बैंकले खाता खोल्यो, पहिलो फाइदा भयो। कक्षा १ का विद्यार्थीको सम्बन्धमा १० वर्षका लागि नन-अपरेटिङ खाता। कक्षा बढ्दा खाताको वर्ष घट्छ। यसो हुँदा विद्यार्थीले पढिसक्ता स्टार्टअप फन्ड बनिसक्छ। सानो कामका लागि एक्लैले हुने, ठूलो कामका लागि साथी मिल्नुपर्ने। शिक्षा मन्त्रालय, बैंक, पालिका, शिक्षकहरूका संघ-संगठन, विद्यालय व्यवस्थापन समिति महासंघ, अभिभावक महासंघ, प्याब्सन तथा एन-प्याब्सन मिलेर यो काम तुरुन्तै गर्न सक्छन्, गराउन सक्छन्। इलामको रोङ, सूर्योदय, स्याङ्जाको फेदीखोलाजस्ता पालिकाले यो काम गरिसके। शिक्षक, कर्मचारी एवं स्वदेशमै गरिखान खोज्नेहरूलाई किस्ताबन्दीमा तिर्न मिल्ने ऋण (मोर्गेज) दिने अभियान पनि चलाउन सकिन्छ। जेन-जी यस काममा क्रियाशील हुन सक्छन्।
जेन-जीको उमेर समूह कडा परिश्रम गर्न सक्छ। नसके काम गर्ने रोबोट बनाउँछ। यसको अर्थ हो, जेन-जीले सम्भावना पनि देख्छ। स्वदेश तथा विदेश बसाइँसराइले नेपालको खेतीयोग्य जमीन खाली हुँदै छ। बस्ती शून्य हुँदै छ। तर, यो अवसर पनि हो।
विद्यार्थीका लागि पनि डिजिटल तथा नन-डिजिटल स्वमूल्यांकन फारम बनाउन सकिन्छ। यसका लागि जेन-जीको सहयोग लिन सकिन्छ।
यो बुझेर जेन-जीले शिक्षक, विद्यार्थी, प्राध्यापक, अन्य समुदायलाई बाँदर, दुम्सी, भालु, सुगा, बँदेल केहीले पनि नखाने बाली के के र कहाँ कहाँ हुन सक्छ? खाली खेतबारी कसरी भाडामा लिनुपर्छ भन्नेबारे खोजीनिती गर्छ। आधुनिक प्रविधिमार्फत नयाँ खेती प्रणालीको जानकारी दिन्छ। वनजंगलमा काँक्रो, फर्सी, घिरौँला, स्कुस, तरुल, बेसार, अदुवाजस्ता तरकारी अभियान चलाउँछ। कुन पोखरीमा माछा पाल्ने? कुनमा भ्यागुता पाल्ने? कुनमा सर्प पाल्ने? कुनमा मखना उब्जाउने? कुनमा कमल फुलाउने? कुनमा जलसिँगडा फलाउने? कुन हिमालको दृश्यावलोकन कहाँबाट गर्न सकिन्छ? कहाँ कहाँ होटल, मोटेल चेन बनाउनुपर्छ जस्ता कुराको जीएसआई नक्सांकन गर्छ। यसरी सम्भावनाहरूको ड्यासबोर्ड (डेटाहोमनेपाल डट अर्ग) बन्न थाल्छ।
यसो गर्दा संविधानको धारा ५१, ज (१)मा लेखिएको ‘शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने’ कुरा पनि लागु हुन्छ। शिक्षालाई उत्पादनसँग जोड्ने र स्वदेशमै सम्भावना खोज्ने परिवेश बन्छ। यस कार्यमा शिक्षा मन्त्रालयले पनि सहजकर्ताको भूमिका खेल्न सक्छ। यसो गरेमा डेलोयटेज सर्वेक्षण प्रतिवेदन, २०२५ ले भनेझैँ जेन-जीले आर्थिक क्षेत्रमा उल्लेखनीय योगदान दिन सक्छ। तदनुसार जेन-जी समूहले पनि यस क्षेत्रमा हात बढाउन सक्छ। यसो गरिए खाली जमिन उब्जाउ बन्छ। खाली बस्ती संग्रहालय बन्छ। हरेक पालिका पर्यटन क्षेत्र बन्न पुग्छ।
अड्केका शिक्षा विधेयकहरूमा
शिक्षा मन्त्रालयमा विद्यालय शिक्षा विधेयक, व्यावसायिक तथा प्राविधिक शिक्षा विधेयक र उच्च शिक्षा विधेयक कानुन बन्न नसकेर अड्किएका छन्। सांसदहरूले नै गिजोलेको विद्यालय शिक्षा विधेयकलाई न शिक्षकले स्विकारे, न निजी लगानीका विद्यालय न धार्मिक विद्यालयले नै आफ्नो पीडाको ओखती पाए। न गुठी तथा सहकारी विद्यालयले स्थान पाए, न कर्मचारी र बालविकासका शिक्षकले नै अपेक्षित सुविधा पाए।
यस स्थितिमा एउटा अवसर छ, जस जसले स्विकारेनन् तिनैलाई जिम्मा लगाएर तीन वटै विधेयकलाई एकसाथ अन्तिम रूप दिने। यसक्रममा जेन-जीले जेन-अल्फा र जेन-बेटाका विद्यार्थीको क्षमताबारे निर्णायकलाई जानकार बनाउने, शिक्षकलाई अद्यावधिक गर्ने ‘मोड्युलर एप’ बनाउने। राम्रा शिक्षक, विद्यालय, पालिका, व्यवस्थापन समिति, प्रधानाध्यापक, प्राध्यापक, डिन, आदिको कामको डिजिटल जानकारी संकलन गर्ने, उनीहरूको कामलाई अन्तर्राष्ट्रिय बनाउने। यसरी तयार प्याकेजलाई अध्यादेशकै रूपमा भए पनि पारित गराउने। नसकिए अब बन्ने सरकारलाई नासोका रूपमा छाड्ने।
शैक्षिक गुणस्तरको सुनिश्चिततामा
बागमती प्रदेशका लागि विद्यालय तहको शैक्षिक गुणस्तरको मानक बनेको छ। विश्वविद्यालय अनुदान आयोगले उच्चशिक्षा गुणस्तरको खाका बनाएको छ। विद्यालय शिक्षकका लागि शिक्षक स्वमूल्यांकन फारम पनि तयार छ। कलेज तथा विश्वविद्यालय प्राध्यापकका लागि पनि यही रूपको सामग्री बनाउन सकिन्छ। विद्यार्थीका लागि पनि डिजिटल तथा नन-डिजिटल स्वमूल्यांकन फारम बनाउन सकिन्छ। यसका लागि जेन-जीको सहयोग लिन सकिन्छ।
यति गर्नासाथ लचिला विद्यालय, कलेज तथा विश्वविद्यालय बनाउने सम्भावना खुल्छ। छिटो नतिजा निकाल्ने तरिका जन्मन्छ। शिक्षक, प्राध्यापक तथा विद्यार्थी स्वयं अद्यावधिक हुने ढोका खुल्छ। अडिट कोर्स सञ्चालनको अवसर बन्छ। समुदायका लागि चाहिने कोर्सहरू विद्यालय, कलेज तथा विश्वविद्यालयले बनाउन थाल्छन्। यति क्रेडिट पढेपछि हुन्छ भन्ने बुद्धिले स्थान पाउँछ।
समताको सुनिश्चितता
विविधता सम्पदा हो। जान्नेलाई श्रीखण्डजस्तो। नजान्नेहरूको हातमा परेर अहिले यो खुर्पाको बिँड मात्र बनेको छ। एक अर्काको भाषा सिक्न लगाए भाषिक समावेशिता हुन्छ। विद्यालय, कलेज, विश्वविद्यालय, कार्यालय, छरछिमेक आदिमा जातजाति, लैंगिक अभिमुखीकरण, धर्म, रङ, शरीर, भूगोल हेरेर बोल्ने वर्षौंको बानी बदले एकसाथ धेरै कुराको समावेश हुन्छ। जातीय छुवाछुत हटाए दलितको अन्तर्घुलन हुन्छ।
जेन-जीको बल प्रविधिको पहुँच हो। पुस्ताको फेरबदलले दिने तागत हो। उमेरको तुजुक हो।
विद्यालय, कलेज, विश्वविद्यालय जेन-जी स्थल हो। त्यहीँबाट यो अभियान थाल्न सकिन्छ। भौतिक संरचना नास्ने आन्दोलनको परम्परागत अभ्यास बदल्न जेन-जीले मानसिकता संरचना नास्ने अभियान चलाउन सक्छ। हरेक समुदायका प्रतिभा खोज्न जेन-जीले एप बनाउन सक्छ। शिक्षा मन्त्रालयले सामाजिक रूपान्तरणको कार्यअन्तर्गत यस काममा जेन-जीलाई प्रोत्साहित गर्नुपर्छ।
दलीयकरणको अन्त्य
राजनीतिक दलपिच्छे शिक्षक, विद्यार्थी, प्राध्यापक, कर्मचारी, डाक्टर, वकिल, इन्जिनियर बाँडिनु अहिलेको दुर्भाग्य हो। दलहरूले नोट र भोटबाट यस दुर्भाग्यको फाइदा लिएका छन्। शिक्षण संस्था दलहरूका लागि उर्वरस्थल बनेको छ। यो नियतिले सर्जक युवाको क्षमता पनि दलगत ‘ह्विप’ को बन्दी बनेका छन्।
यो विकृति अन्त्यका लागि जेन-जीको डिस्कर्ड प्लेटफर्ममा विधागत दलीय संवाद गर्न सकिन्छ। कृषिको विकासमा प्रजातान्त्रिक मोडल के हो? समाजवादउन्मुख मोडल के हो? वैज्ञानिक समाजवादी मोडल के हो? नेपालको कुन समुदाय, भूगोलमा कुन मोडल काम लाग्छ? शिक्षामा, स्वास्थ्यमा कुन पुस्ताको के-कस्तो योगदान हुन सक्छ? यति काम गर्नासाथ पुर्खाको शब्दमा ‘अमन्त्रमक्षरं नास्ति नास्ति, मूलमनौषधम्। अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः ॥’ (अर्थात्, मन्त्र शक्तिविनाको कुनै अक्षर हुँदैन, औषधीय गुणविनाको कुनै रूख हुँदैन, गुणविनाको कुनै व्यक्ति हुँदैन, तर यस्तो व्यक्ति दुर्लभ हुन्छ जो वस्तुमा भएको गुणलाई उपयोगमा ल्याउन सक्छ।) को अर्थ पनि बुझिन्छ।
राजनीति सिक्न मन लागे विद्यार्थी संसद् बनाए हुन्छ। शिक्षक तथा प्राध्यापक संसद् बनाए हुन्छ। विद्यार्थीको तल्लो सदन। शिक्षकको माथिल्लो सदन। प्राध्यापकको उपल्लो सदन। यस्ता संसद्मा देशका जात, जाति, भाषा, धर्म, भूगोल, आर्थिक असमानता आदि विषयमा संवाद गरे हुन्छ।
मानसिक अप्ठेरोको अन्त्य
जेन-जीको बल प्रविधिको पहुँच हो। पुस्ताको फेरबदलले दिने तागत हो। उमेरको तुजुक हो।
ध्वंस गर्न जान्ने तर निर्माण गर्न नजान्ने प्रवृत्ति दोहोर्याउने हो भने जेन-जी पनि पश्चगामी बाटोमै हुनेछ। भविष्यद्रष्टा पनि हामी नै हौँ, भविष्यस्रष्टा पनि हामी नै हौँ।
पहिलोले उनीहरूलाई जानकार बनायो। यान्त्रिक सञ्जालीकरणमा सघायो। पुर्खाको शब्दमा एकले होस्टे गर्दा स्वदेश तथा विदेशले एकैसाथ हैँसे गर्ने संस्कार बन्यो। दोस्रोले उनीहरूलाई जन्मँदै बहुपाते बनायो। पहिलेका पुस्ता उम्रिँदैमा तीनपाते मात्रै थिए। यसले पुस्तैनी फड्को पनि बढायो। तेस्रोले निडर बनायो। यही गुणले नै जेन-जीलाई मानसिक अस्वस्थतातिर पनि धकेल्यो। धरातलमा नटेकिएकाले, प्रविधिमा मात्र जीवन खोजेकाले। सबै कुरामा जानकार छु भन्ने संवेगी सोचले। मनोविज्ञानको शब्दमा मन परेका कुराले ल्याउने द्वन्द्व (अप्रोच–अप्रोच कन्फ्क्टि)। लत लागेकाले प्रविधि छाड्न नसक्ने, जन्मले पुस्तान्तर नछाडिने।
जेन-जीका लागि यी अप्ठेराबाट निस्कने निकास छ। त्यो हो, प्रविधिमा जे पढ्यौँ शास्त्रमा खोज्ने। पाठ्यपुस्तकमा खोज्ने। सन्दर्भ सामग्रीमा खोज्ने। रैथाने ज्ञान, सीपमा खोज्ने। लोककथामा खोज्ने, अन्तरपुस्ताका जीवन्त मूर्तिमा खोज्ने। यति गर्नासाथ सबै अनुसन्धाता बन्छौँ। हो/हैन भन्ने कित्ताकाटे बुद्धिले घोत्लिन सिक्छ।
टुंग्याउनी
समस्या नभए सोच बन्दैन। चुनौती स्विकार्ने मानसिकता पनि बन्दैन। समस्या भनेको शिक्षक तथा प्राध्यापकको तयारीमा हो। शैक्षिक गुणस्तरका लागि जिम्मेवार शिक्षकहरू हुन्, अभिभावक तथा विद्यार्थीको चाहना र आवश्यकता बुझ्ने शिक्षक नै हुन्। यति बुझाउन सके शिक्षक तथा प्राध्यापकले पठनपाठनमा सन्दर्भ जोड्न सक्छन्। यसरी भन्न नसक्नु नेतृत्वको समस्या हो।
समस्या शिक्षक, प्राध्यापक तथा प्रविधिको एकसाथ व्यवस्थापन गर्ने नसक्ने कलाको हो। प्रविधि, रैथाने विज्ञ, पुर्ख्यौली शास्त्र, पश्चिमी ज्ञान एकसाथ जोड्न नसक्ने क्षमताको हो। विद्यार्थी, अभिभावक, पाठ्यक्रम, पाठ्यपुस्तक तथा नीतिमा मात्र समस्या देख्ने रूढिगत अभ्यासको हो। मापदण्डमा आधारित यान्त्रिक पदोन्नतिको प्रबन्ध हो, रहर छउन्जेल स्थायी बन्न दरखास्त दिन पाउने नियमको हो, जसले न्यूनतम क्षमता राख्छ त्यो मात्रै शिक्षा क्षेत्रमा बस्छन् भन्ने सोचको हो।
जेन-जी विद्यार्थीले समस्याग्रस्त सोचविरुद्ध प्रहार गरे हामी अग्रगामी बन्छौँ। ध्वंस गर्न जान्ने तर निर्माण गर्न नजान्ने प्रवृत्ति दोहोर्याउने हो भने जेन-जी पनि पश्चगामी बाटोमै हुनेछ। भविष्यद्रष्टा पनि हामी नै हौँ, भविष्यस्रष्टा पनि हामी नै हौँ।