काठमाडौँ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ। राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि हालसम्म दुई हजार ९२५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले जानकारी दिए। जसमध्ये महिला उम्मेदवार ११ प्रतिशत अर्थात् ३३६ र पुरुष ८८ प्रतिशत अर्थात् दुई हजार ५८९ रहेका छन्।
विवरणअनुसार देशका १६५ निर्वाचन क्षेत्रमध्ये रुपन्देहीको निर्वाचन क्षेत्र २ र ३ मा सबैभन्दा बढी ३५/३५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी सबैभन्दा कम मुस्ताङमा चारजनाले उम्मेदवारी दर्ता गराएका छन्। अपाङ्गता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्रका १३८ जनाको उम्मेदवारी परेको पनि आयोगको विवरणमा उल्लेख छ।
यो पनि…
अब निर्वाचन कार्यक्रमअनुसारका बाँकी काम क्रमशः हुनेछन्। निर्वाचन कार्यतालिकाअनुसार भोलि (बुधबार) बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ। ८ माघमा उजुरीमाथि जाँचबुझ गरी बेलुका ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
उम्मेदवारले नाम फिर्ता लिन चाहे ९ माघको बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ। सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने आयोगको तयारी छ।
यसपटकको निर्वाचनमा देशभर एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन्। मतदानका लागि देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन्।