काठमाडौँ। नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर ३ मा सुनिल शर्मालाई उम्मेदवार बनाएको छ। सभापति गगनकुमार थापा नेतृत्वको संसदीय बोर्डले शर्मालाई मोरङ-३ मा उम्मेदवार बनाएको हो।
शर्मा सोमबार नै मोरङ गइसकेका छन्। नेपाली कांग्रेसले शर्मालाई उक्त क्षेत्रमा एकल उम्मेदवार सिफारिस गरेको थियो।
वरिष्ठ नेता शेखर कोइरालानिकट शर्मा उक्त क्षेत्रबाट २०७९ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए। उनले ४८ हजार ६३१ मत ल्याएका थिए।
उनका प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका भानुभक्त ढकालले २५ हजार ८९५ मत ल्याएका थिए। तेस्रो म राप्रपाकी रेखा थापाले १० हजार ९८८ मत ल्याएकी थिइन्।
यसपालिको निर्वाचनमा शर्माका प्रतिस्पर्धी ढकालले निर्वाचन क्षेत्र बदलेका छन्। ढकालले तेह्रथुमबाट उम्मेदवारी दिएका छन्।
शर्मा उक्त क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता मानिन्छन्। समाजसेवाका कारण उनी उक्त क्षेत्रमा लोकप्रिय छन्। “एकल सिफारिस छ, एकल उम्मेदवार भएकाले म सोमबारदेखि नै मोरङ आएर चुनावी मैदानमा छु,” शर्माले भने।