यी केशरबहादुर आले जसले पलायन होइन, पहिचान रोजे
अधिकांश पूर्वबेलायती सैनिक नेपालमा भविष्य नदेखेर बेलायत पलायन हुने क्रम बढ्दो छ। तर, बाँके, कोहलपुरका केशरबहादुर आले सफल शिक्षाकर्मीको बेग्लै पहिचान बनाई स्वदेशमै रमाइरहेका छन्। आलेको व्यवस्थापकीय नेतृत्वमा सञ्चालित कोहलपुरको गोरखा युनाइटेड पब्लिक स्कुल प्रालि पश्चिम नेपालकै उत्कृष्ट विद्यालय बनेको छ।
३३ जना सेवानिवृत्त बेलायती सैनिक र उनीहरूका परिवारका सदस्य गरी ४५ जनाको टिम बनाएर आलेले २०५७ सालमा खोलेको यस स्कुलले यो वर्ष रजत जयन्ती मनाउँदै छ। स्थापनाकालमा कक्षा ५ सम्म मात्र पढाइने स्कुलमा हाल कृषिमा स्नातक तहसम्मको पढाइ हुन्छ। २५ वर्षमा विद्यार्थी संख्या पनि १६५ जनाबाट एक हजार ७०० पुगेको छ। १३५ जना त शिक्षक-कर्मचारी नै छन्।
२०६० सालदेखि एसएलसी/एसईईमा निरन्तर उत्कृष्ट नतिजा ल्याएको गोरखा स्कुलले जिल्ला शिक्षा कार्यालय मात्र होइन, शिक्षा मन्त्रालयबाट समेत पटक पटक उत्कृष्ट संस्थागत विद्यालयको राष्ट्रिय सम्मानबाट पुरस्कृत हुँदै ‘क’ श्रेणीको विद्यालयको मान्यता पाइसकेको छ।
गोरखा स्कुलको मुख्य भवन कोहलपुर-२ आनन्दनगरमा दुई बिघा १० कट्ठा क्षेत्रफलमा फैलिएको छ। कृषिमा स्नातक तहको पठनपाठन सञ्चालनका लागि बैजनाथ-४ मा ६ बिघा जग्गा खरिद गरी भवन निर्माण पनि गरिएको छ।
दक्ष शिक्षक, चुस्त व्यवस्थापन, सुविधासम्पन्न कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय, खेल मैदान, छात्रावास, बगैँचालगायत भौतिक संरचनाका कारण गोरखा स्कुलले अलग पहिचान बनाएको छ। छात्रावासमा बसेर १०० विद्यार्थीले अध्ययन गर्दै आएका छन्।

बाँके कोहलपुरको गोरखा युनाइटेड पब्लिक स्कुलका विद्यार्थी
आलेले शिक्षाको वास्तविक महत्त्व बुझेको त्यतिबेला हो, जतिबेला उनी कलम नभई बन्दुकसँग खेलिरहेका थिए। सेनामा पनि शिक्षित बेलायतीले राम्रो काम, दाम, पद र सम्मान पाएको देखेपछि उनमा जीवनमा विद्या नै सबैभन्दा ठूलो धन भएको आभास भयो। देशमै गुणस्तरीय शिक्षा दिन सके नेपालीले अन्तर्राष्ट्रिय तहमै प्रतिस्पर्धा गरेर राम्रो अवसर पाउन सक्छन् भन्ने सोच उनमा पलायो। १९ वर्षको सेवापछि देश फर्कनुअघि नै उनले आफ्नै गाउँघरमा विद्यालय सञ्चालन गर्ने योजना बनाए।
तर, उनलाई विद्यालय सफल बनाउने योजनामा सैन्य जीवनकै सुदृढ रणनीतिक योजनाले काम दियो। “ब्रिटिस लाहुरेको अनुभवका कारण हाम्रो टिमले योजना, तयारी र कार्यान्वयनमा विशेष ध्यान दियो। विज्ञहरूको सल्लाह र सुझाव लियौँ। यो सफलता त्यसैको परिणाम हो,” विद्यालयका संस्थापक निर्देशक आले भन्छन्।
गोरखा स्कुलबाट हालसम्म एसईईमा एक हजार ८४३, प्लस टुमा एक हजार ६८४ गरी तीन हजार ५११ जना विद्यार्थी ‘पास आउट’ भइसकेका छन्। स्वदेश र विदेशमा विभिन्न भूमिका र जिम्मेवारी सम्हाल्दै आएका पूर्वविद्यार्थीले बिदामा घर फर्कंदा विद्यालयमै आएर गर्ने सम्मान नै आफ्नो मुख्य सम्पत्ति भएको आले बताउँछन्। भन्छन्, “पढ्नका लागि राम्रो अवसर र वातावरण मिलाइदिने हो भने हाम्रै गाउँबस्तीका विद्यार्थी भाइबहिनीहरूले राम्रो गर्न सक्दा रहेछन्। अबको हाम्रो जोड भनेको आर्थिक अभावलगायत विभिन्न कारण पढ्न नसक्ने विद्यार्थीलाई यहीँ पढ्ने अवसर र वातावरण मिलाइदिने हो।”
गोरखा स्कुलमा सरकारद्वारा निर्धारित पाठ्यक्रमका अतिरिक्त विज्ञहरूको सुझावका आधारमा तयार पारिएको अतिरिक्त पाठ्यक्रम पनि समावेश गरिएको छ। काठमाडौँ विश्वविद्यालयका ढुण्डिराज गिरीसँगको सहकार्यमा तयार पारिएको एक्टिभिटी बेस लर्निङ (एबीएल) र प्राक्टिकल बेस लर्निङ (पीबीएल) कार्यक्रम पनि समावेश छ।
स्कुलले हरेक शुक्रबार प्रिप्राइमेरीदेखि कक्षा १० सम्म ‘ब्यागलेस कार्यक्रम’ सञ्चालन गर्दै आएको छ। शुक्रबार विषयगत शिक्षकहरूले एबीएल र पीबीएल विधिमा विद्यार्थीहरूलाई विभिन्न क्रियाकलाप गराउँछन्। विद्यालयले दुई वर्षदेखि सबै कक्षाकोठामा स्मार्ट बोर्डको माध्यमबाट इन्टरनेटमा आधारित पठनपाठन पनि सुरु गरेको छ। विद्यार्थीलाई डिजिटल प्रविधिमै पढाइ-लेखाइ गराउने लक्ष्यका साथ व्यवस्थापनले आवश्यक तयारी सुरु गरिसकेको छ।
“पैसाले राम्रो भवन त बन्छ, तर संस्कार बनाउन धेरै गाह्रो हुन्छ। हाम्रो स्कुलले शिक्षालाई अनुशासन, श्रम, जिम्मेवारी, सहकार्य र नैतिकतासँग जोडेको छ। ‘बुक फ्री फ्राइडे’, परियोजना कार्य, फिल्ड भिजिट, जीवनोपयोगी सीप, सिर्जनात्मक अभ्यास र सामूहिक सिकाइले विद्यार्थीलाई कक्षाकोठाबाहिरको समाजबारे पनि अपडेट गराउँदै आएको छ,” आले भन्छन्।

गोरखा स्कुलका संस्थापक केशरबहादुर आले सम्मान ग्रहण गर्दै
गोरखा स्कुलले शिक्षक र विद्यालयबीच भावनात्मक सम्बन्ध कायम गरेको छ। संस्थागत विद्यालयमा शिक्षक, कर्मचारीको श्रम शोषण हुन्छ भन्ने चर्चालाई चिर्दै यस स्कुलले शिक्षक र कर्मचारीको मूल्यांकन, तालिम, ग्रेड वृद्धि, पदोन्नति र सामाजिक सुरक्षालाई सुनिश्चित गरेको छ। “कोरोनाको समयमा सरकारले ६ महिनासम्म शुल्क लिन नपाउने भन्यो। शुल्क नै नलिने भएपछि हामीले शिक्षक-कर्मचारीलाई तलब नै दिन नसक्ने अवस्था आयो,” आले भन्छन्, “हामीले कोरोनाकालमा पनि बैंकबाट ऋण लिएर तलब दियौँ। शिक्षक र कर्मचारी हाम्रा ‘ब्याकबोन’ हुन् भनेर हामीले बुझेका छौँ।”
त्यही भएरै हुनुपर्छ, गोरखा स्कुलले शिक्षक टिकाइराख्ने समस्या खासै भोग्नुपरेको छैन। गोरखा स्कुलकी प्राचार्य साधना थापा र शैक्षिक सल्लाहकार राजेन्द्र गुरुङ स्थापनाकाल अर्थात् २५ वर्षदेखि यहीँ कार्यरत छन्। प्लस टुतर्फका उपप्राचार्य बद्रीप्रसाद शर्मा पनि २० वर्षदेखि गोरखा स्कुलमै छन्। १५ वर्षभन्दा लामो समयदेखि कार्यरत शिक्षक-कर्मचारी मात्रै ४८ जना छन्।
गोरखा स्कुलले संस्थागत विद्यालयतर्फबाट जिल्लास्तरीय रनिङ सिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्नेदेखि रक्तदान, वातावरण संरक्षण, विपद्मा परेकाहरूका लागि सहयोग, अनाथालय तथा वृद्धाश्रम सहयोगजस्ता रचनात्मक कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको छ। पूर्वविद्यार्थीलाई संगठित गरी कार्यक्रम सञ्चालन गर्न स्कुलले वार्षिक १० लाख रुपैयाँ बजेट र फोकल पर्सन नै तोकेर सहजीकरण गर्दै आएको छ। २०७२ सालमा स्थापित पूर्वविद्यार्थी समाजमा तीन हजार ३०० सदस्य विद्यार्थी आबद्ध छन्।
आले गोरखा स्कुलले कक्षाकोठालाई विद्यालय परिसरभित्र मात्र सीमित नगरेको बताउँछन्। “विद्यालय परिसरमा फलफूल, जडीबुटी र छहारी दिने बिरुवा रोपेर सुन्दरताले भर्यौँ। जीवजन्तु पालेर विद्यार्थीहरूलाई इकोफ्रेन्ड्ली बन्न प्रेरित गर्दै आएका छौँ। सबै कला र संस्कृतिको विविधता र एकतालाई सम्मान गर्न सिकाएका छौँ। विद्यार्थीको नेतृत्व विकास गर्दै नैतिकता, अनुशासन र सांस्कृतिक जवाफदेहीको पाठ सिकाएका छौँ,” उनी भन्छन्, “अहिले हाम्रा प्राय: सबै पूर्वविद्यार्थीहरू आत्मनिर्भर र असल नागरिक भएर नमुनायोग्य काम गरेर एकपछि अर्काे सफलता हासिल गरिरहेका छन्। पूर्वविद्यार्थीहरूले सफलताको श्रेय गोरखा स्कुल नै भएको बताउने गरेका छन्। यो नै हाम्रो सबैभन्दा ठूलो सन्तुष्टि र सम्पत्ति हो।”

बाँके कोहलपुरको गोरखा युनाइटेड पब्लिक स्कुलका विद्यार्थी
गोरखा स्कुलमा हालसम्म ५० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। लगानी गर्नेले नाफा खोज्नु स्वाभाविक नै हो। हरेक वर्ष विद्यालयमा केही न केही विकास निर्माणका कामहरू भई नै रहेकाले विद्यालयले हालसम्म मुनाफा बाँडेको छैन। “केही साथीहरू मुनाफा कहिलेदेखि आउँछ भनेर सोध्नुहुन्छ? हामीले विद्यालयको सेवा विस्तार गरिरहेका छौँ भनेर सम्झाउने गरेका छौँ,” आले भन्छन्।
भूतपूर्व गोर्खा सैनिककै नामबाट गोरखा स्कुल खोलिए पनि आले स्कुललाई आफ्नो व्यक्तिगत सोचको परिणाम मात्र ठान्दैनन्। उनी यसलाई समूह भावना, सामाजिक उत्तरदायित्वको अभ्यास मान्छन्। “यो त शिक्षाका माध्यमबाट आफ्नै गाउँघर र समाजको विकासमा केही योगदान गरौँ भन्ने सोचको परिणाम हो,” उनी भन्छन्।