काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बंगलादेशले भारतमा आयोजना हुने टी-२० विश्वकपमा सहभागिता जनाउन अस्वीकार गरेमा त्यसको स्थानमा अर्को देशलाई प्रतियोगितामा समावेश गर्ने निर्णय गरेको छ।
बंगलादेश क्रिकेट टोलीले विश्वकप खेल्न भारत नजाने स्पष्ट धारणा सार्वजनिक गरेपछि बुधबार बसेको आईसीसीको बैठकमा यस विषयमा छलफल भएको थियो। सो बैठकमा निर्णयका लागि मतदानसमेत गरिएको थियो, जसमा बहुसंख्यक बोर्ड सदस्यहरूले बंगलादेशको स्थानमा वैकल्पिक टोलीलाई अवसर दिनुपर्ने मत व्यक्त गरेका थिए। सोही बहुमतका आधारमा आईसीसी उक्त निष्कर्षमा पुगेको हो।
आईसीसीले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)लाई आफ्नो अडान पुनःविचार गर्न थप एक दिनको समय उपलब्ध गराएको छ। तोकिएको समयभित्र बंगलादेशले भारतमा खेल्ने निर्णय नगरेमा आईसीसीले अर्को टोलीलाई विश्वकपमा सहभागी गराउने प्रक्रिया अघि बढाउने जनाएको छ।
क्रिकेटसम्बन्धी अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ईएसपीएन क्रिकइन्फोका अनुसार बंगलादेशको स्थानमा स्कटल्याण्डलाई अवसर प्रदान हुने सम्भावना देखिएको छ। स्कटल्याण्ड युरोपेली छनोट चरणमा नेदरल्याण्ड्स, इटाली र जर्सीभन्दा पछि परेपछि सन् २०२६ को टी-२० विश्वकपका लागि प्रत्यक्ष छनोट हुन असफल भएको थियो।