काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा राकेश पाण्डेले शिष्टाचार भेट गरेका छन् ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीयसम्बन्ध, सहयोग तथा अन्य विविध आयामका विषयमा छलफल भएको जनाइएको छ । उपराष्ट्रपति यादवले नेपाल–भारतसम्बन्ध सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, प्राविधिक तथा जनस्तरमा सदियौँदेखि प्रगाढ रहिआएको उल्लेख गरे । उनले नेपाल–भारतसम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको बताउँदै नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको बताएको छ ।
साथै, भारत सरकारले ‘नेबरहुड फस्र्ट’ नीतिअन्तर्गत छिमेकीसँगको सम्बन्धलाई विशेष प्राथमिकता दिने नीति अवलम्बन गरेकोमा उनले खुसी व्यक्त गरे । उपराष्ट्रपति यादवले भारत नेपालको एक महत्वपूर्ण विकास साझेदारको रूपमा रहेको उल्लेख गर्दै आर्थिक तथा प्राविधिकसहित विभिन्न क्षेत्रमा भारतले पु¥याउँदै आएको उल्लेखनीय सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले निमित्त राजदूत पाण्डेमार्फत भारतका महामहिम उपराष्ट्रपति सिपी राधाकृष्णनको सुस्वास्थ्य तथा भारतीय जनताको प्रगति र समृद्धिको शुभकामना दिएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ ।
उक्त अवसरमा निमित्त राजदूत पाण्डेले नेपाललाई भारतले हरेक क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताए। उनले विशेषगरी खेलकूदअन्तर्गत क्रिकेटमा सहयोग गर्न भारत इच्छुक रहेको उल्लेख गर्दै नेपालका रेलवे क्षेत्रमा सक्दो सहयोग गर्न भारत तयार रहेको बताए ।