काठमाडौं। लगभग एक वर्ष लामो चोटबाट फर्किएको एक महिनामै ग्याब्रिएल जिसस उत्कृष्ट फर्ममा देखिएका छन्।
च्याम्पियन्स लिगमा यस सिजनको मात्र तेस्रोपल्ट सुरुआत पाएका आर्सनलका फरवार्ड जिससले दुई गोल गर्दै इन्टर मिलानविरुद्ध ३–१ को जितमा मुख्य भूमिका खेले।
मंगलबार सान सिरोमा भएको खेलमा पहिलो हाफमै दुई गोल गरेका जिसस ‘प्लेयर अफ दी म्याच’ घोषित भए। गत जनवरी एसीएल चोटका कारण झण्डै ११ महिना मैदानबाहिर रहेका २८ वर्षीय ब्राजिलियन फरवार्डका लागि यो रात विशेष बन्यो।
‘यो सपनाको रात हो,’ जिससले भने,‘म सानो छँदा सिरी ए धेरै हेर्थें। यो स्टेडियममा खेल्न र यहाँ गोल गर्न पाउनु मेरा लागि आँसु आउने क्षण हो। चोटको ११ महिनामा मैले धेरै कुरा सिकें।’
डिसेम्बरमा फर्किएपछि अधिकांश समय वैकल्पिक खेलाडीका रूपमा खेलेका जिससलाई प्रशिक्षक मिकेल आर्टेटाले यस खेलमा भिक्टर ग्योकेरेसको सट्टा सुरुआती टोलीमा राखेका थिए। स्पोर्टिङ लिस्बनबाट ठूलो रकममा आएका ग्योकेरेस अझै पूर्ण रूपमा घुलमिल हुन संघर्षरत छन्।
खेलको १०औं मिनेटमै जुरिएन टिम्बरको शटमा खुट्टा बढाउँदै जिससले आर्सनललाई अग्रता दिलाए। आठ मिनेटपछि पेतार सुचिचले इन्टरका लागि बराबरी गोल फर्काए।
तर, ३१औं मिनेटमा बुकायो साकाको कर्नरमा लियान्ड्रो ट्रोसार्डको हेडरलाई हेड गर्दै जिससले पुनः आर्सनललाई अगाडि बढाए। यो उनको दुई वर्षपछि आएको च्याम्पियन्स लिग गोल हो। ७५औं मिनेटमा जिससको स्थानमा मैदान छिरेका ग्योकेरेसले ८४औं मिनेटमा गोल गर्दै आर्सनलको जित सुनिश्चित गरे।
‘हामीले ग्याबीलाई धेरै मिस गरेका थियौं,’ आर्टेटाले भने,‘उनको आत्मविश्वास बढ्नेछ, टिमको पनि। फरवार्ड लाइनमा फरक–फरक प्रोफाइल हुनु हाम्रो लागि फाइदा हो।’
यस जितसँगै आर्सनलले च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ। साथै, क्लब इतिहासमै पहिलो पटक लगातार सात युरोपियन खेल जित्ने कीर्तिमान बनाएको छ।
आर्सनलले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन। सन् २००६ मा फाइनल पुगे पनि बार्सिलोनासँग पराजित भएको थियो। घरेलु लिगमा पनि आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा छ, सात अंकको अग्रतासहित।
आइतबार उसले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ।