काठमाडौँ
००:००:००
७ माघ २०८२, बुधबार

७ माघ २०८२
अ+
अ-

काठमाडौँ। आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसार अभियानलाई व्यवस्थित बनाउँदै सुरक्षा व्यवस्था थप सुदृढ र भरपर्दो बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिइएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालका अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेको हो।

बैठकले निर्वाचन प्रचारप्रसारका क्रममा सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न सोको निगरानीलाई प्रभावकारी बनाउने र गैरकानुनी भएको पाइएमा कारबाही गर्ने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा निर्वाचन सुरक्षा योजना सम्बन्धमा चार वटै सुरक्षा निकायले गरेका तयारी सम्बन्धमा समीक्षा भएको थियो भने सुरक्षा अवस्था र चुनौतीबारे विश्लेषण गरिएको थियो।

गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सहभागी थिए।

निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट पारित भई एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ कार्यान्वयनमा रहेको छ।